२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

तेस्रो हाइड्रो एक्स्पो चैत तेस्रो साता

तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ आगामी चैत तेस्रो साता काठमाडौंमा हुने भएको छ। स्वदेशमा बिजुली खपत बढाउने तथा छिमेकी मुलुकमा बिजुलीको बजार खोज्ने उद्देश्यले एक्स्पो गर्न लागिएको आयोजकको भनाइ छ।

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा आगामी चैत १८ देखि २० गतेसम्म एक्स्पो हुन लागेको हो। एक्स्पो काठमाडौंको भृकृटीमण्डपमा हुनेछ।

इप्पान उपाध्यक्ष आशिष गर्गले स्वदेशमा विद्युतीय उपकरणको खपत बढाउन र छिमेकी मुलुक भारत तथा बंगलादेशमा विद्युत्को बजार खोज्न एक्स्पोले भूमिका खेल्ने बताए। हाइड्रोसम्बन्धी पछिल्ला प्रविधिबारे जानकारी गराउने, हाइड्रोमा सरोकार राख्नेलाई एकै छानामुनि भेला गर्ने र विभिन्न मुलुकसँग हाइड्रो विकासका सम्बन्धमा छलफल गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको हो।

३ दिन चल्ने एक्स्पोमा सयभन्दा बढी स्टल रहनेछन्। जलविद्युत् प्रवद्र्धक, उत्पादक, इक्विपमेन्ट सप्लायर्स, टर्बाइन उत्पादक, लगानीकर्ता, बैंक, बिमा लगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहनेछन्। झन्डै ५० प्रतिशत विदेशी स्टल रहने बताइएको छ। 

नेपालमा ऊर्जा उत्पादनको वर्तमान अवस्थालाई थप तीव्रता दिने, सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यलाई मदत गर्ने लगायतका उद्देश्यसहित आयोजना हुने हिमालयन हाइड्रो एक्स्पो २०२२ ले ऊर्जा क्षेत्रमा एउटा फरक आयाम दिने आयोजकले दाबी गरेको छ।

यसपटकको एक्स्पोमा ऊर्जासँग सम्बन्धित नयाँ प्रविधिका साथै हाइड्रोेपावर रोबोथन (हाइड्रोकर्न २.०), ब्याटल रोबोट्स तथा हाइड्रोपावरको लाइभ डेमोन्स्ट्रेसन विशेष आकर्षण बन्नेछन्। विश्वकै हाइड्रोपावर रोबोटिक कम्पिटिसन हाइड्रोकन २.० मा हाइड्रोपावरमा काम लाग्ने रोबोटका साथै टनेल चेकिङ र इन्सपेक्सन जस्ता काममा समेत सघाउने रोबोटको प्रतिस्पर्धा समावेश गरिनेछ।

एक्स्पोमा विद्युतीय सवारी साधनको र्‍याली पनि हुनेछ। यसले विद्युतीय सवारी साधनको बजारीकरण र सोको माध्यमबाट जलविद्युत्को आन्तरिक बजार विस्तारमा भूमिका खेल्ने इप्पान उपाध्यक्ष गर्गले बताए। ‘विद्युतीय सवारीका साथै विद्युतीय चुलोको प्रयोगलाई विशेष जोड दिनुपर्ने बेला भइसकेको छ,’ उनले भने, ‘यसबाट जलविद्युत्को आन्तरिक बजार विस्तारमा योगदान पुग्ने देखिन्छ।’ एक्स्पो अवलोकनकर्तालाई हेलिकप्टरमार्फत हाइड्रोपावर आयोजनाको भ्रमण गराउने व्यवस्थाका साथै भर्चुअल रियालिटी टुरको व्यवस्था गरिएको एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए। उनले विद्युत्को सही व्यवस्थापन हुन नसकिरहेको सन्दर्भमा एक्स्पोले नयाँ प्रविधिका साथै सम्बद्ध पक्षको सहभागितामा नयाँ आयाम थप्न टेवा पुर्‍याउने विश्वास गरे।

नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइ–कमिसन कन्ट्री पार्टनर रहने गरी एक्स्पो हुन लागेको हो। एक्स्पोमा ड्रोन हाइड्रोपावर भिडियो मेकिङ कम्पिटिसन आकर्षणका रूपमा रहनेछ।

हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिनेछ। साथै हाइड्रोपावरमा आधुनिक प्रविधिको सम्भावित प्रयोगका सम्बन्धमा एक्स्पोमा जानकारी दिइनेछ। जलविद्युत् लगानीकर्ता, उत्पादक, इन्जिनियर लगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ। ५० हजारभन्दा बढीले एक्स्पो अवलोकन गर्ने अपेक्षा छ।

प्रकाशित: १९ फाल्गुन २०७८ ०३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App