८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

फेरिँदै सिर्सिया सुक्खा बन्दरगाह

वीरगन्ज, सिर्सियास्थित सुक्खा बन्दरगाह पछिल्लो समयमा संरचना र प्रक्रियाको हिसाबले परिमार्जित हुँदै गएको सरोकारवालाले बताएका छन्।

भारतीय रेल्वे सञ्जालमार्फत अन्तर्राष्ट्रिय समुद्री व्यापारमार्गमा जोडिएको देशको एकमात्र यो संरचना हो। यसलाई अहिले प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिले सञ्चालन गरिरेहको छ। कम्पनी र सुक्खा बन्दरगाहको स्वामित्व ग्रहण गरेको नेपाल सरकारी संस्था ‘इन्टरमोडेल यातायात विकास समिति’ले अहिले संरचना सुधारमा ध्यान दिएका छन्।

त्यस्तै यहाँस्थित भन्सार कार्यालयले पनि आयात–निर्यात सहज हुने गरी सहजीकरण बढाएको छ। पछिल्लो समयमा यहाँ आउने कार्गोको परिमाण बढ्दै गएको छ। तेस्रो मुलुकसँगको व्यापार पहिलेको तुलनामा फेरिएपछि त्यसैअनुरूप सुक्खा बन्दरगाहले पनि आफूलाई परिमार्जित गर्नुपरेको हो।

भारतीय बन्दरगाहसम्म तेस्रो मुलुकबाट आउने कन्टेनर त्यहाँबाट निश्चित समयसीमा तोकेर नेपाल आउने र यहाँबाट खाली कन्टेनर आयातकर्ताकै खर्चमा भारतीय बन्दरगाह पुर्‍याउनुपर्ने अवस्था हटेको छ। यस गर्दाले सेवा प्रदायक सिपिङ कम्पनी र तिनका साझेदार कम्पनीहरू अब सुक्खा बन्दरगाहमै उपस्थित छन्।

‘त्यस्ता सिपिङ कम्पनी र उनीहरूका साझेदार कम्पनीका लागि हामीले सुक्खा बन्दरगाह प्रांगणमा १२ वटा व्यवस्थित कोठाहरू हालसालै थपेका छौं, उनीहरूले यसै प्रांगणबाट सेवा उपलब्ध गराइरहेका छन्,’ कम्पनीका निर्देशक बी मोहनले भने, ‘इन्टरमोडेल यातायात विकास समितिले तोकेको सरकारी दररेट मै सेवा प्रदायकलाई प्रतिमहिना ६ सय ६५ रूपैयाँ प्रतिमिटरको हिसाबले हामीले ठाउँ उपलब्ध गराएका छौं।’ सुक्खा बन्दरगाहको मुख्य प्रशासनिक भवनसँगै बनाइएको शौचालय र क्यान्टिन (चमेनागृह) को सुविधासहित नयाँ संरचनाका लागि करिब ४४ लाख रूपैयाँ लागत परेको मोहनले बताए।

प्रिस्टिन भ्याली ड्राइपोर्ट कम्पनीका अप्रेसन प्रमुख अतुल शर्मा सुक्खा बन्दरगाहको भित्री यार्डमा शौचालयको सरसफाइ र संख्या बढाइएको बताउँछन्। स्वच्छ खानेपानीको लागि पाँच ठाउँमा व्यवस्थित संरचना थपिएको छ, दुर्घटना हुन नदिन लेनहरू व्यवस्थित गरिएको छ। र, मोटरसाइकलका लागि बेग्लै मार्ग छुट्ट्याइएको छ। त्यस्तै इन्टरमोडेल यातायात विकास समितिको कार्यालयले मुख्य प्रशासनिक भवनको माथि तल्ला थपेर संरचना बढाउन लागेको छ।

त्यहाँ सुविधासम्पन्न बैठक हल र भन्सार कार्यालयको लागि कोठा थप गर्न लागिएको समितिको सुक्खा बन्दगाहस्थित कार्यालयका प्रमुख तर्कराज जोशीले बताए। उनका अनुसार करिब अन्तिम चरणमा रहको निर्माणको काम २ महिनाभित्रै सकिने अनुमान गरिएको छ।

यता भन्सारबाट जाम कम गर्न भन्सार कार्यालयले पनि मालबाहक गाडीको निकासी समय फराकिलो बनाएको छ। ‘पछिल्लो समयमा सुक्खा बन्दरगाहमा काम बढ्यो, सँगसँगै जाम पनि बढ्यो। यसको सामाधानका लागि हामीले गाडीको निकास समय सहज हुने गरी मिलाएका छौं,’ भन्सार अधिकृत बलराम भण्डारीले भने, ‘खासगरी बल्क कार्गोका गाडीहरू पहिले दिनभरी लोड हुने र साँझ ६ बजे एकसाथ छोड्ने गरिएको थियो। यसले गर्दा जाम बढ्न थालेको थियो। अब भने भन्सार प्रक्रिया भइसकेपछि तुरुन्तै गाडी निस्किन दिने व्यवस्था मिलाएका छौं।’ भन्सार कार्यालयको यस प्रयासले सहज भएको शर्माले बताए।

आर्थिक वर्ष २०६२/०६३ देखि सञ्चालनमा आएको सुक्खा बन्दरगाह भारतीय रेल्वेको भगिनी संस्था कन्टेनर कर्पोरेसन इन्डिया (कन्कोर) प्रमुख साझेदार रहेको हिमालयन टर्मिनल्सले सञ्चालन गर्दै आएको थियो।

२०७७ जेठदेखि निजी क्षेत्रको भारतीय कम्पनी प्रिस्टाइन लजिस्टिक मुख्य साझेदार रहेको प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिले सञ्चालन गरिरहेको छ। निजी कम्पनीले सञ्चालनको जिम्मा लिएपछि केही सुधार महसुस भएको उद्योग वाणिज्य महासंघको प्रदेश २ का अध्यक्ष गाणेशप्रसाद लाठले बताए। ‘केही सुधार त देखाउनैपर्ने उसको बाध्यता हो, यसलाई कायम राख्न सक्नुपर्छ,’ लाठले भने, ‘व्यापार सहजीकरण आफैंमा चुनौतीपूर्ण किन छ भने यसमा अवस्था अनुसार सुधारका काम गर्दै जानुपर्छ।’ उनका अनुसार धेरै तहमा सरोकारवाला हुने गरेकोले सबैको भूमिका हुन्छ।

रेल सेवा प्रतिस्पर्धासँगै समस्या

गत असार १५ मा नेपाल–भारत रेलसेवा सम्झौता संशोधनले कन्टेनर ढुवानीको लागि निजी कम्पनीको लागि बाटो खुलेको थियो। सम्झौता संशोधनपछि भारतकै निजी रेल ढुवानी सेवाप्रदायक कम्पनीहरू नयाँ प्रतिस्पर्धीको रूपमा आएका छन्।

कोन्करको एकाधिकार भंग भएको छ। प्रतिस्पर्धासँगै नयाँ स्वरूपको समस्या पनि देखापरेको छ। अहिले पनि मुख्य सेवा प्रदायक कोन्कोर नै हो। उसले नेपाली कार्गोका लागि आवश्यकता अनुसार मालबाहक रेल दिएको छैन।

गत भदौ ३० मा पहिलोपटक कोलकाताबाट र मंसिर १८ गते विशाखापट्नमबाट कन्कोरबाहेक निजी निजी कम्पनीको मालबाहक रेल वीरगन्ज सुक्खा बन्दरगाह भित्रिएका थिए। लगत्तै कोन्करले भाडा घटाएको सूचना निकाल्यो। कोन्करले प्रतिस्पर्धी कम्पनीलाई गलाउन भाडा उल्लेखनीय अनुपातमा रणनीतिक रूपमै घटाएको विश्लेषण गरिएको छ।

कोन्करबाट मालबाहक रेल चाहिएको संख्यामा उपलब्ध हुन नसकेर त्यसको मार व्यापारमा परेको आयातकर्ता बताउँछन्। आन्ध्र प्रदेशको विशाखापट्नम बन्दरगाहमा मात्र चार हजारभन्दा बढी नेपाली कन्टेनर थन्किन पुगेका छन्। 

प्रकाशित: १५ फाल्गुन २०७८ ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App