२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

इलामको तेह्रकुने सिमसारमा पर्यटन महोत्सव

यही पुस ८ देखि ११ सम्म महोत्सव आयोजना गरिएको इलामको माई नगरपालिकास्थित तेह्रकुने सिमसार क्षेत्र। तस्बिर: नागरिक

माई नगरपालिका–१ र ९, बिहीबारेस्थित तेह्रकुने सिमसार क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिने भएको छ। पर्यटनको अर्गानिक गन्तव्य मानिने तेह्रकुने सिमसारमा यही पुस ८ देखि ११ सम्म महोत्सव आयोजना गर्न लागिएको हो।  

यो सिमसार क्षेत्र करिब ३५ रोपनीमा फैलिएको छ। झापाको बिर्तामोडबाट ३० किलोमिटर र इलाम बजारबाट करिब ३४ किलोमिटरमा रहेको यहाँ बर्सेनि पर्यटक घुम्न आउँछन्। तर, आकर्षक गन्तव्य भएर पनि प्रचारप्रसार अभावमा ओझेलिएको यो क्षेत्रमा पर्यटकको संख्या बढाउन महोत्सव आयोजना गरिएको स्थानीय आयोजकले जनाएका छन्।  

सिमसार व्यवस्थापन समिति सचिव गोविन्द सोताङले करिब २८ वर्षदेखि यो ठाउँको चर्चा हुने गरेपनि पर्यटकीय पूर्वाधार विकास हुन नसक्दा ओझेलमा परेको बताए। केही वर्षदेखि भने यसको संरक्षण र प्रचारमा सरोकारवालाले ध्यान दिएका छन्। तर, पर्याप्त हुन सकेको छैन। ‘सिमसार संरक्षणका लागि राष्ट्रपति चुरे संरक्षण समितिबाट २५ लाख, जलाधारबाट १० लाख र प्रदेश वन मन्त्रालयबाट पाँच लाख गरी ४० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो,’ उनले भने, ‘यो बजेटबाट सिमसार क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाइँदैछ।’ उनका अनुसार यही बजेटबाट सिमसार क्षेत्र वरिपरि एक हजार पाँच सय मिटर सडकको ट्र्याक खोलिएको छ। पोखरी निर्माण गरिँदैछ। पूर्वाधारका सामान्य काम भइरहेका छन्।  

यो सिमसारलाई सय रोपनीमा विस्तार गरी भ्यु टावर, आकाशे पुल, ज्येष्ठ नागरिक चौतारी, मनोरञ्जन पार्क, चिल्ड्रेन पार्कलगायत निर्माण गर्ने आयोजक समिति अध्यक्ष करसिंह राईले जानकारी दिए। उनका अनुसार पूर्वधार विकास गर्नसके यो स्थानमा पर्यटकको भिड लाग्नसक्ने सम्भावना छ। ‘झापा आउने धेरै मानिस नजिकै रहेको यो ठाउँमा घुम्न आउन सक्छन्,’ उनले भने, ‘तर, यहाँ निकै महत्वपूर्ण पर्यटकीयस्थल छ भन्ने धेरैलाई थाहा नभएकै कारण प्रचारका लागि महोत्सव आयोजना गर्न लागेका हौं।’ झापाको गर्मीबाट केहीबेर भएपनि छलिएर शीतल अनुभव गर्न यो क्षेत्र उपयुक्त गन्तव्य बन्ने सम्भावना देखिएको उनले जनाए।  

सिमसार व्यवस्थापन समितिको आयोजना र स्थानीय वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता समूहको सहआयोजनामा महोत्सव हुन लागेको हो। महोत्सवमा दिनहुँ ४ हजारभन्दा बढी पर्यटक आउने अपेक्षा गरिएको छ। स्थानीय विभिन्न जातिका सांस्कृतिक झाँकी, भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, डुंगा सयर उद्घाटन, ट्री हाउस चढ्नेलगायतका कार्यक्रम राखिएको आयोजकले जनाएको छ। यहाँ आयोजना गरिने सांस्कृतिक कार्यक्रममा राजेशपायल राई, विनोद खम्बू, पार्वती राई, खड्गबहादुर पुन, मनोज गोर्खालीलगायत कलाकार र जादुगर राजेन्द्र गिरीको प्रस्तुति रहनेछन्।  

यो ठाउँको आसपासमा सूर्याेदय–सूर्यास्त दृश्यावलोकनका लागि योग्य सिद्धिथुम्का, झापा आन्दोलनका सहिदहरूको सहादतप्राप्त स्थल (स्मारक) सुखानी, गुनमुनेलगायत पर्यटकीयस्थल छन्। अहिले यही ठाउँको नजिक केचना–कञ्चनजंघा पर्यटन ट्रेल र मदन भण्डारी राजमार्ग पनि निर्माणको चर्चामा छन्। ‘प्रचार नहुँदा यहाँको निकै आकर्षक पर्यटकीय क्षेत्र लुकेर बसेको छ,’ स्थानीय विमलकुमार दाहाल भन्छन्, ‘प्रचार गर्नसके यो सिमसारले बर्सेनि हजारौं नेपाली र भारत पश्चिमबंगालका पर्यटक लोभ्याउन सक्ने सम्भावना देखिन्छ।’

धार्मिक र ऐतिहासिकस्थल भएकाले यहाँ धेरैखाले पर्यटक आउनसक्ने उनले बताए। जैविक विविधता, प्राकृतिक सौन्दर्य, भौगोलिक सहजता र अन्य थुप्रै कारणले यो ठाउँ पर्यटनका लागि उपयुक्त हुने उनले जनाए। सिमसारभित्र नागबेलीजस्तो देखिने आकर्षक पोखरी छ। पोखरीको बीचमा टापु छ। पोखरीवरिपरि ७ कुना छन्। यताउताका डाँडाकाँडामा रहेको हरियाली वनजंगलले पनि सिमसारको सौन्दर्य थपेको छ। विशेषगरी राई समुदायको बसोबास रहेको यो ठाउँमा उनीहरूको सांस्कृतिक परम्परासमेत अवलोकन गर्न सकिन्छ।

प्रकाशित: २९ मंसिर २०७८ ११:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App