२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

चाँगुनारायणका युवालाई निर्व्याजी तीन लाख दिन सुरु

चाँगुनारायण नगरपालिकाले युवालाई निर्व्याजी तीन लाख रुपैयाँ दिन सुरु गरेको छ।

चालू आर्थिक वर्षमा नगरमा उद्यमशीलता विकास गर्नका लागि नीति, कार्यक्रम तथा बजेट विनियोजन गरेको नगरपालिकाले मंगलबार सो कार्यक्रमको सुरुवात गरेको हो। नगरपालिकाले नेपाल बैंक लिमिटेड कमलविनायक शाखासँगको समन्वयमा ह्वाइट हाउस खाजाघरका सञ्चालक राधाकृष्ण घिमिरेलाई नगद तीन लाख रुपैयाँ दिँदै सो कार्यक्रममो सुरुवात गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए।

‘उद्यमी बन्न चाहने नगरबासीलाई बढीमा ३ लाख रुपैंया विना धितो निर्व्याजी ऋण उपलब्ध गराउने कार्यक्रम बनाएको बताउँदै नगरप्रमुख मिश्रले पहिलो लाभग्राहीको रुपमा सो खाजाघरका सञ्चालक घिमिरेसँग सम्झौता गरेको बताए।  

सम्झौता अनुसार लाभग्राहीले पाँच वर्षमा उक्त रकम चुक्ता गर्नुपर्ने प्रावधान नगरपालिकाले बनाएको कार्यविधिमा उल्लेख गरिएको छ। समयावधिभित्र ऋण चुक्ता नगर्ने वा ऋणको दुरुपयोग गरेको खण्डमा नगरपालिकाले कालो सुचीमा समावेश गरी नगरका अन्य सेवा सुविधामा रोक लगाईने र बैंकले पनि प्रचलित ऐन नियमानुसार कारवाही गर्ने प्रावधान कार्यविधिमा राखिएकोले सो ऋणको सदुपयोग हुने र नगरमा उद्यमशीलताको विकास हुने उनको भनाइ छ।

नगरपालिकाले महिला उद्यम, दलित र पिछिडिएका वर्ग, वैदेशिक रोजगार, युवा स्वरोजगार र कृषि गरी पाँच वटा क्षेत्रमा उद्यमी बन्न चाहनेहरुलाई छनोट गरी, उद्यमी बन्ने तालिम निःशुल्क प्रदान गर्ने र तालिममा सहभागीहरुले प्रस्ताव गरेको उद्यमशिलताको कार्यक्रमका आधारमा छनोट गरी विना धितो निर्व्याजी ऋण दिनका लागि कार्यविधि बनाइएको छ।

नगरपालिकाका अनुसार यो कार्यक्रमको लागि २ सय ६२ जन  छनोट भएका छन्। कार्यक्रममा सहभागी हुन १ हजार १२१ जनाले निवेदन दिएका थिए। तीमध्ये मनोविज्ञको टोलीले विभिन्न ३६ वटा प्रश्नको सहायताले ३९० जनालाई उद्यमशिलता तालिमका लागि छनोट गरिएको नगरप्रमुख मिश्रले बताए। तालिममा सहभागीमध्ये २९२ जनालाई छनोट गरी नगरपालिकाले नामावली नेपाल बैंकमा पठाएको र उनीहरुले प्रस्तुत गर्ने परियोजना प्रस्तावका आधारमा ऋण अनुदान दिने व्यवस्था गरिएको छ।

त्यसका लागि नगरपालिकाले ३ करोड रुपैयाँ बैंकमा जम्मा गरिएको उनले बताए। 

प्रकाशित: २९ असार २०७८ ०७:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App