२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्रगति नौ प्रतिशत

तीन खण्डबाट निर्माण थालेसँगै नागढुंगा–सिस्नेखोला सुरुङमार्गको कामले गति लिन थालेको छ। आयोजनाको सुरुङ गत पुस ८ गते खन्न थालिएको थियो। सुरुआती चरणमा स्थानीयको केही अवरोध आए पनि अहिले २४ घन्टा काम भइरहेको छ।  

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक नरेशमान शाक्यले अहिलेसम्म नौ प्रतिशत भौतिक प्रगति भएको बताए। ‘अहिले सुरुङमार्ग निर्माणले गति लिएको छ,’ उनले भने, ‘सुरुआती चरणमा स्थानीयले अवरोध गरे पनि अहिले तीव्र गतिमा काम भइरहेको छ।’  

शाक्यले सुरुङमार्ग अहिले तीन खण्डबाट खनिएको बताए। ‘अहिले दैनिक अधिकतम ६ मिटरसम्म सुरुङ खन्ने काम भइरहेको छ,’ उनले भने, ‘अहिले नरम चट्टान भएकाले सोचेजति गति लिन सकेको छैन। कडा खालको चट्टान भेटिएपछि सुरुङ खन्ने गति अझै बढ्नेछ।’ आयोजनाका अनुसार मुख्य सुरुङ ८.२/१५ मिटरकोे हुनेछ। यो सुरुङमार्ग एनएटिएम विधिबाट खन्न लागिएको हो।  

आयोजनाका निर्देशक शाक्यले धादिङ (पश्चिम)तर्फ १३९ मिटर सुरुङ खनिएको बताए। ‘काठमाडौंतर्फको इभाक्युएसनतर्फ ४९ मिटर सुरुङ खन्ने काम सकिएको छ,’ उनले भने, ‘तेस्रो खण्डतर्फ भने पाँच मिटर सुरुङ खनिएको छ।’ आयोजनाले अहिले दिन र रातको दुई सिफ्टमा काम भइरहेको जनायो। आयोजनाले अहिले विस्फोटक पदार्थ प्रयोग गरेर खनिरहेको छ। यो सुरुङमार्ग ड्रिल एन्ड ब्लास्ट प्रविधिमा खनिएको हो। यो सुरुङमार्ग मेलम्ची खानेपानी आयोजनाको जस्तै गरेर खनिनेछ। सुरुङमार्गको कुल लम्बाइ २.६८ किलोमिटर हुनेछ। साढे नौ र चार मिटरका दुईवटा सुरुङ निर्माण गर्ने आयोजनाको लक्ष्य छ। २.६८ किलोमिटर सुरुङ खन्न सुरु गरेको १६ महिनाभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य छ।

धादिङ र काठमाडौंतर्फ पाँच–पाँच सय मिटर सडक तथा दुई फ्लाइओभर र सुरुङमार्ग तथा मुआब्जासहित उक्त आयोजनामा करिब साढे २२ अर्ब रूपैयाँ खर्च लाग्नेछ। यो आयोजना निर्माण गर्ने ठेक्का जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले पाएको छ। आयोजनाले पहुँचमार्ग निर्माणको काम पनि भइरहेको जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा सुरुङमार्ग शिलान्यास गरेका थिए।  

यो आयोजना निर्माणमा जापानी सहयोग नियोग जाइकाले साढे १६ अर्ब ऋण र नेपाल सरकारको करिब ६ अर्ब गरी कुल साढे २२ अर्ब रूपैयाँ लाग्नेछ। आयोजनाका निर्देशक शाक्यले आयोजनाको मुख्य टनेल धादिङतर्फ र नेपाल आयल निगमको डिपोनजिकै फ्लाई ओभरको संरचना निर्माण सुरु गर्न लागिएको बताए। ‘अब फ्लाई ओभर तथा पहुँचमार्ग निर्माणले पनि छिट्टै गति लिनेछ,’ उनले भने। धादिङ र काठमाडौंतर्फ पाँच–पाँच सय मिटरको पहुँचमार्ग निर्माण गर्नुपर्ने हुन्छ।

प्रकाशित: २८ फाल्गुन २०७७ ०३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App