१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

पाँच वर्षका लागि तीन अर्ब ३३ करोड

सुक्खा बन्दरगाह सञ्चालनको ठेक्का

वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाह । तस्बिर : रितेश/नागरिक

वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाह सञ्चालनका लागि गत मंसिरको अन्तिम साता आह्वान भएको टेन्डरको आर्थिक प्रस्ताव आइतबार खुलेको छ । सुक्खा बन्दरगाहको स्वामित्व ग्रहण गरेको नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहतको नेपाल इन्टरमोडेल यातायात विकास समितिका अधिकारीका अनुसार भारतीय कम्पनी प्रिस्टाइन लजिस्टिकले सबैभन्दा बढी तीन अर्ब ३३ करोड रुपैयाँ कबोल गरेको छ ।  

समितिले पाँच वर्षका लागि सुक्खा बन्दरगाह सञ्चालन गर्न न्यूनतम दुई अर्ब ४० लाख रुपैयाँ ठेक्का रकम तोकेको थियो । टेन्डर प्रक्रियामा प्रतिस्पर्धा गरेका पाँचवटा कम्पनी रहेकामा ती सबै यसअघि प्राविधिक प्रस्तावमा छनोट भइसकेका थिए । प्राविधिक प्रस्तावमा छनोट भएका कम्पनीको आर्थिक प्रस्ताव आइतबार खोलिँदा प्रिस्टाइन लजेस्टिक सबैभन्दा अगाडि देखिएको हो । भारत नयाँदिल्लीको प्रिस्टाइन लजेस्टिक्स भारतमा आधा दर्जनभन्दा बढी ठाउँमा सुक्खा बन्दरगाह तथा ‘आइसिडी’ (इनल्यान्ड कन्टेनर डिपो) सञ्चालन गर्दै आएको कम्पनी हो ।  

दोस्रो प्रतिस्पर्धी देखिएको ‘कन्कोर’ले दुई अर्ब ८१ करोड ९० लाख रुपैयाँको आर्थिक प्रस्ताव हालेकाले ५१ करोड १० लाख रुपैयाँको भारी अन्तरले पछाडि छ । यसअघि कन्कोर प्रमुख साझेदार रहेको कम्पनी हिमालयन टर्मिनल्समार्फत वीरगन्जको सुक्खा बन्दरगाह सञ्चालनमा थियो । कन्कोर भारतीय रेल्वेको भगिनी संस्था हो । समितिका कार्यकारी अधिकृत नवराज ढकालले मूल्यांकन प्रक्रिया केही बाँकी रहेको बताए ।  

सुक्खा बन्दरगाह सञ्चालनअन्तर्गत ‘आइसिडी’ (इनल्यान्ड कन्टेनर डिपो) र मालबाहक रेल आवागमन व्यवस्पाथन तथा सञ्चालन गर्नुपर्ने हुन्छ । सुक्खा बन्दरगाहमा रहेको भन्सारले आयात निर्यात हुने मालसामानको राजस्व संकलन र वैधानिक तथा औपचारिक प्रक्रिया गर्ने गरेको छ भने मालसामान बोकेका रेलको आगमन, त्यसबाट मालसामान अनलोडिङ–लोडिङ, भण्डारणसँगै आयातकर्ता हस्तान्तरण गरिदिने र निकासी हुने मालसिामान निर्यातकर्ताबाट कागजातको आधारमा लिएर गन्तब्यतर्फ पठाउने काम कम्पनीले गर्छ ।  

प्रिस्टाइन लजिस्टिकले सञ्चालन जिम्मा लिएको करिब पहिलो वर्ष ३३ करोड ३३ लाख, दोस्रो वर्ष ४० करोड ८३ लाख, तेस्रो वर्ष ५३ करोड ३३ लाख, चौथो वर्ष साढे ६७ करोड र पाँचौं वर्ष साढे ८२ करोड रुपैयाँ दिने प्रस्ताव हालेको हो । यसरी सो कम्पनीले तीन सय ३३ करोड रुपैयाँ सकार गरेको हो ।  

अघिल्लोपटक सन् २०१५ को जनवरी ७ देखि पाँच वर्षका लागि सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा पाएको हिमालयन टर्मिनल्सको सम्झौताको समय ६ जनवरी २०२० (गत पुस २०) मा सकिएको थियो । त्यसपछि थप म्याद पाएर सोही कम्पनीले अहिले सुक्खा बन्दरगाह सञ्चालन गरिरहेको थियो । विगत पाँच वर्षका लागि ७९ करोड ९५ लाख रुपैयाँमा दिइएकामा यसपटक सोभन्दा ४.१६ गुणा अर्थात चार सय प्रतिशतभन्दा बढीमा दिइएको हो ।  

पहिलो पटक सन् २००४ देखि १० वर्षका लागि ५३ करोडमा सुक्खा बन्दरगाह सञ्चालन सम्झौता भएको थियो । अहिलेको कबोल रकम पहिलेको तुलनामा साढे १२ गुणा बढी हो ।

प्रकाशित: १ असार २०७७ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App