काठमाडौं- बिमा समितिले मुलुकमा सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बिमा कम्पनीलाई दुर्गम तथा पिछडिएका क्षेत्रमा गई घरदैलो बिमा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।
बिमा ऐन २०४९ को दफा ८ को उपदफा घ को २ अनुसार सर्वसाधारणको घरदैलोमा गई सेवा दिन ‘घुम्ती बिमा सेवासम्बन्धी मार्गदर्शन, २०७६ जारी गरी सबै बिमा कम्पनीलाई सोही बमोजिम काम गर्न निर्देशन दिएको बिमा समितिले जनाएको छ ।
घुम्ती बिमा सेवाको मार्गदर्शनमा जीवन तथा निर्जीवन बिमा कम्पनीले सावधिक जीवन बिमा, म्यादी जीवन बिमा, कृषि बिमा, लघुबिमा, दुर्घटना बिमालगायत सेवा विमितको घरदैलौमा गई प्रदान गर्नुपर्ने नयाँ व्यवस्था लागू गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
समितिका अनुसार घुम्ती बिमा सेवासम्बन्धी मार्गदर्शन, २०७६ जारी भएपछि सर्वसाधारणले ५० लाख रुपैयाँसम्म घरको बिमा गर्न पाउँने भएका छन् । तर, बिमांक (प्रिमियम) रकम पाँच लाख रुपैयाँभन्दा बढी कायम गर्न नपाउने समितिले जनाएको छ ।
‘घुम्ती बिमा सेवासम्बन्धी मार्गदर्शन, २०७६’ले जीवन तथा निर्जीवन बिमा कम्पनीलाई घुम्ती सेवामा सहभागी हुनुपर्ने बाध्यकारी नियम लागू भए पनि जीवन बिमा कम्पनीको हकमा एकल बिमा शुल्क, वैदेशिक रोजगारी म्यादी जीवन बिमा यो सेवाभित्र नपर्ने जनाइएको छ । त्यसैगरी, निर्जीवन बिमा कम्पनीको हकमा हवाई, सामुद्रिक, इन्जिनियरिङ र मोटर बिमा गर्न नपाउने व्यवस्था गरिएको छ ।
जीवन तथा निर्जीवन बिमा कम्पनीले महानगरपालिका र उपमहानरपालिका क्षेत्रमा यो कार्यक्रम सञ्चालन गर्न पाउने छैनन् । तर, निर्जीवन बिमा कम्पनीको हकमा तोकिएका जिल्लामा कृषि तथा पशुपक्षी बिमा सेवा अनिवार्य सञ्चालन गर्नुपर्ने जनाइएको छ ।
हाल मुलुकभरी २० वटा जीवन तथा १९ वटा निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् । जसमध्ये जीवन बिमा कम्पनीका एक हजार ६ सय ६० र निर्जीवन बिमा कम्पनीका आठ सय ५२ वटा शाखा कार्यालय पुगेका छन् । यी बिमा कम्पनीमा नौ हजार तीन सय ७० जनाले रोजगारी पाएका छन् । जसमध्ये जीवन बिमा कम्पनीमा चार हजार सात सय ५८ र निर्जीवन बिमा कम्पनीमा चार हजार ६ सय १२ ले रोजगारी पाएको समितिले जनाएको छ ।
प्रकाशित: ६ पुस २०७६ ०६:५९ आइतबार