६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

मुल भन्सार नाकाबाटै तस्करी

नेपाल र भारतको भन्सार जाँचपासपछि भारतीय एसएसबीले केराउ फेला परेको ट्रक। तस्बिरः रितेश/नागरिक

वीरगन्ज– सीमा सुरक्षामा खटेका दुई देशका सुरक्षाकर्मीलाई छलेर वा प्रभावमा पारेर हुने तस्करीको बिगबिगी त आफ्नो ठाउँमा छदैछ, मुल भन्सार नाकाबाट ट्रकमै तस्करी भइ मालसामान बाहिरिने घटना दोहोरिएको छ। व्यापारलाई सहजीकरण गर्ने भन्सारलगायत सरकारी निकायको एउटै साझा प्रांगण सीमावारी र पारी राखेर एकीकृत भन्सार चौकी (आइसिपी) राखिएको छ। यहीं आइसिपी भएर मटर चुनी (भुस)को नाममा जाँचपास भएका दुई ट्रकबाट मटर बरामद भएको छ। यसअघि साबिकको वीरगन्ज भन्सार भएर छाला भनेर निकासी गरिएको ट्रकमा मरिच फेला परेको थियो।

पछिल्लो घटनामा नेपाली आइसिपीबाट भन्सार जाँचपासपछि सोमबार साँझ निस्केको बिआर०६जी २८३८ र एमपी०९एचएफ ८९०९ नम्बरको ट्रकलाई भारत रक्सौल पन्टोकास्थित हवाई अड्डा पोस्टका भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी)को टोलीले राजमार्गबाट नियन्त्रणमा लिएको थियो । दुवै ट्रकबाट २२ टन केराउ (मटर) बरामद भयो। ट्रकभित्र केराउका बोरामाथि पछाडितिर खोलिने भागमा प्रज्ञापनमा उल्लेख भएअनुसार केराउको भुस राखिएको थियो। भित्र केराउका भर्ती बोरा फेला परेका थिए।

यसरी दुई देशको व्यापार नियमन प्रणालीलाई मात दिँदै मोटर निकासी अनवरत रुपमा भइरहेको एसएसबीलाई खबर थियो। सीमामा सुरक्षाकर्मीले दुःख दिए भन्ने आरोप खपेको एसएसबीले यताबाट निकासी भएका गाडीमा हात हालेको थिएन। यसपटक भने केराउ तस्कर गिरोहको आपसी द्वन्द्वका कारण उनीहरुबाटै सूचना तुहियो।

बाराको चैनपुरस्थित चचान समुहको औद्योगिक प्रागँणबाट केराउ बाकको गाडी निस्किन लागेको खबर ट्रक नम्बरसहित एसएसबीलाई पुग्यो। र, भुस भनेर केराउ बोकी बाहिरिएका ट्रक समातिए। भारतीय सुरक्षा बलका निरीक्षक अविनाश कुमारका अनुसार ट्रकबाट ५० किलो केराउ भरिएका बोरा बरामद भएको छ । ट्रक चालकबाट बरामद कागजातका अनुसार वीरगन्जको जय माँ बिन्धवासनी इम्पेक्सले सीमावर्ती रक्सौल आश्रम रोडको भरत ट्रेडिङलाई २५ हजार किलो मटर चुनी बेंचेको छ । वीरगन्ज उद्योग वाणिज्य संघले उत्पत्तिको प्रमाणपत्र जारी गरिदिएको देखिन्छ।

‘ग्रिन च्यानलमा पर्ने वस्तु नेपाली उत्पादनको उत्पत्तिको प्रमाणपत्र, इनभ्वाइस बिल र प्याकिङ लिस्टको आधारमा यताको हाम्रो भन्सारबाट कर्मचारीले जाँचपास गरेका छन्, नेपालबाट साढे ५ बजे गाडी निकासी भएको देखिन्छ,’ वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक श्यामप्रसाद भण्डारीले भने, ‘भारतीय भन्सार प्रक्रिया सकेर पारीको आइसिपीबाट साढे ६ बजे ति गाडी निस्किए, तीन किमि पर गम्हरिया कटेपछि एसएसबीले राति साढे १० बजे समातेको हो। तीन किमिको दूरी पार गर्न सो ट्रक तीन घण्टा कसरी लाग्यो भन्ने एउटा प्रश्न पनि छ। भारतीय भन्सार अधिकारीले भन्सारबाट निस्केको गाडी गम्हरिया नहरस्थित गोदाममा भुस उतारेर केराउ हालेको भन्ने सूचनामा अनुसन्धान गरिरहेका छन्।’

सीमामा चोरी निकासी गरेर नेपालबाट लगिएका केराउ त्यस्ता गोदाममा राखेर त्यहाँबाट प्रज्ञापनवाला गाडीमा अगाडि पठाउने गरेको सूचना फेला परेको उनले बताए। ‘मटरको चुनी’ भनेर घोषणा गरिएको ट्रकभित्र कुन वस्तु लोड गरिएको भनि जाँच भौतिक रुपमा गरिएको छैन।

मोतिहारीस्थित भारतीय भन्सारले केराउसहित गाडी अनुसन्धानका लागि झिकाएको छ। दुवै ट्रकका चालकसमेत नियन्त्रणमा लिइ अनुसन्धान थालिएको छ। नेपाली राजस्वको जोखिमभन्दा भारतका लागि यो बढी राजस्व चुहावटको विषय हो। आयात गर्ने देशका भन्सारका अधिकृत कर्मचारीको काममा भने अधिक रुपमा प्रश्न तेर्सिएको छ। संगठित तस्कर गिहरोहसँग भारतीय भन्सार अधिकारीले मिलोमतो गरेको आरोप यसअघि समेत लागेको थियो। जतिबेला वीरगन्ज भन्सारबाट छाला भनेर निकासी भएको ट्रकमा तेस्रो मुलुकको मरिच फेला परेको थियो।

भुस भनेर केराउ निकासी गरेको फर्म जय माँ बिन्धवासनी इम्पेक्स बाराको फेटा वडा नम्बर ३ ठेगाना उल्लेख भएको अनितादेवी कलवारको नाउमा दर्ता छ। उनी गरिब एकल महिला हुन्। चौकीलाल कलवारको छोरी रहेकी उनको नागरिकता प्रयोग गरेर गिरोहले तस्करी गर्ने उद्देश्यले नै उक्त फर्म दर्ता गराएको स्रोतको भनाइ छ। वीरगन्ज १६ इनर्वाको गिरोहले उक्त केराउ निकासी गर्न लागेको थियो। भारतमा मरिच र केराउको भाउ उच्च छ भने तेस्रो मुलुकमा कम छ। यि वस्तुको तेस्रो मुलुक र भारतबीच मूल्यान्तर भएका कारण नेपाल मगाएर भारततिर अवैध निकासी बढेको छ। भुस भनेर केराउ निकासी गराउने भन्सार एजेन्ट पशुपति सिंह हुन्।

प्रकाशित: २० जेष्ठ २०७६ ०५:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App