८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

सान्जेनको ६५ प्रतिशत काम सकियो

सान्जेन जलविद्युत् आयोजना निर्माणस्थल। तस्बिर : हिमनाथ/नागरिक

रसुवा - रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको सान्जेन जलविद्युत् आयोजनाको ६५ प्रतिशत काम पूरा भएको छ। 

आयोजनामा सुरुङ, पावरहाउस र हेडवक्र्स निर्माण कार्य भइरहेको छ। आयोजनाको पाँच हजार तीन सय मिटर भूमिगत सुरुङमध्ये चार हजार दुई सय मिटर सुरुङ खनिएको छ । तीन हजार ६ सय ४० मिटर मुख्य सुरुङ रहेकामा दुई हजार चार सय ५२ मिटर सुरुङ निर्माण भएको आयोजनाका भूगर्वविद् नवीन वस्तीले बताए। 

सुरुङ निर्माणको काम ६७ प्रतिशत पूरा भएको उनको भनाइ छ । ‘बाँध निर्माण कार्य ७५ प्रतिशत सकिएको छ,’ उनले भने, ‘यही गतिमा काम हुने हो भने तोकिएको समयमा विद्युत् उत्पादन हुन्छ।’

४२.५ मेगावाट क्षमताको आयोजनाको निर्माण कार्य २०६९ देखि सुरु भएको थियो । एसइडब्लू टुन्डी जेभीले निर्माण गरिरहेको आयोजनाले २०७६ फागुनभित्र विद्युत् उत्पादन सुरु गर्नेछ। 

आयोजनाको चार चरणमा काम भइरहेको प्रशासकीय अधिकृत सुनिलप्रसाद रेग्मीले बताए । चारवटा ठेकेदारले निर्माण कार्य गरिरहेका छन्। चारवटै ठेकेदारले डिजाइन, आयात, जडान, परीक्षण र कमिसनिङको काम गर्ने प्रशासकीय अधिकृत रेग्मीले बताए।

सिभिलमा एसइडब्लू टुन्डी जेभी, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेसनल कर्पोरेसन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेड र प्रसारण लाइन निर्माणमा मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालिले काम गरिरहेको आयोजनाले जनाएको छ।

उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको चिलिमे हवमा गएर जोडिने छ। आयोजनाहरूबाट विद्युत् उत्पादन गर्ने समय नजिकिँदै गएका कारण प्रसारण लाइन निर्माणमा प्राधिकरणले तीव्रता दिएको छ। 

भूकम्प, नाकाबन्दी, पहिरो र ठेकेदारको लापरबाहीका कारण निर्माणमा ढिलाइ भएको आयोजनाले जनाएको छ । यो आयोजना निर्माणका लागि पाँच अर्ब दुई करोड ४२ लाख रुपैयाँ खर्च हुने बताइएको छ। 

जिल्लामा जिल्लामा अहिले १३ वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । पाँच वर्षभित्र यी आयोजनाबाट ६ सय ९८ मेगावाट विद्युत् उत्पादन हुन्छ । दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली एक, एक सय २० मेगावाटको भोटेकोशी, एक सय ११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सान्जेन खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए छन्।

त्यसैगरी ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन, १४.७ मेगावाटको फलाखुखोला, १४.३ माथिल्लो मैलुङ खोला, १० मेगावाटको लाङटाङ खोला, ६.४२ मेगावाटको माथिल्लो मैलुङ ए, ६ मेगावाटको न्यामन्याम र पाँच मेगावाटको फलाखुखोला जलविद्युत् आयोजना निर्माण भइरहेका छन्। 

प्रकाशित: १४ आश्विन २०७५ ०६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App