४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चितवनका बर्डफ्लूको आशंका

रत्ननगरको लामिछाने पोल्ट्री फार्ममा मरेका कुखुरा खाल्डोमा पुरिँदै। तस्बिर : सविता/नागरिक

चितवन –  रत्ननगर नगरपालिका–१५ माधवपुरस्थित लामिछाने कुखुरा फार्ममा एक सातामा तीन हजार सात सयभन्दा बढी कुखुरा मरेका छन्। त्यहाँ पालिएका पाँच हजार एक सय लोमेन जातको लेयर्स कुखुरामध्ये बिहीबार साँझसम्म चारवटा खोरका तीन हजार सात सय मरेका हुन्।

आठ महिना भएका कुखुराले तीन महिनाअघिदेखि अण्डा दिन थालेको फार्मका सञ्चालक अमृत लामिछाने बताउँछन्। अण्डा उत्पादनको दर ९९ प्रतिशत थियो। चैत १५ गते बेलुका हावाहुरी आएपछि कुखुरा मर्न थालेको लामिछानेले बताए। ‘त्यस दिन तीनवटा मरेका थिए,’ उनले भने, ‘भोलिपल्ट पनि कुखुरा झोक्राउने र मर्ने क्रम रोकिएन।’ १६ गते बिहान खोरमा जाँदा १४ वटा मरेको देखेपछि कुखुरा परीक्षण गराउन नमूना लिएर केन्द्रीय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुर गएको लामिछानेले बताए।

प्रयोगशालाले दिएको रिपोर्टमा ‘एआइभी पोजेटिभ’ देखिएको उल्लेख छ। कुन रोग लागेको भन्ने यकिन गर्न थप परीक्षणका लागि काठमाडौं पठाइदिने भनेपछि अमृत घर फर्किए। रिपोर्टबारे प्रयोगशालामा सम्पर्क गरे पनि कुनै सुनुवाइ नभएको उनी बताउँछन्। कुखुरा मर्ने दर बढ्दै गएपछि चैत २० मा फेरि कुखुराको नमूना लिएर उनी प्रयोगशाला गए। त्यस दिनको जाँच रिपोर्टमा पनि एआइभी पोजेटिभ पाइयो।

पोल्ट्री फार्ममा पालिएका पाँच हजार एक सय लोमेन जातको लेयर्स कुखुरामध्ये बिहीबार साँझसम्म चारवटा खोरमा रहेका तीन हजार सात सय मरेका हुन्।

‘त्यतिखेर करिब एक हजार पाँच सय कुखुरा मरिसकेका थिए,’ उनले भने, ‘त्यसपछि मात्र थप जाँचका लागि नमूना काठमाडौं पठाइयो, अहिलेसम्म रिपोर्ट आएको छैन।’ फार्मका कुखुरा धमाधम मर्न थालेपछि कुखुरा गाड्ने ठाउँको समेत अभाव भएको छ। ‘तीन दिनदेखि मेरो काम नै कुखुरा गाड्ने भएको छ,’ उनी भन्छन्, ‘मान्छे नै खटाएर खाल्डो बनाउनुपरेको छ।’

पाँच सय कुखुरा अट्ने दुईवटा खोरका सबै कुखुरा मरेर खाली भएको छ। दुई हजार अट्ने अर्को ठूलो खोरमा तीन सयभन्दा कम कुखुरा बाँकी छन्। दुई हजार एक सय कुखुरा हालेको खोरमा पनि आधाजसो मरेको छ। कुखुरा मर्ने क्रम यस्तै रहे दुई दिन नपुग्दै खोर खाली हुने लामिछाने बताउँछन्।

आठ वर्षदेखि कुखुरा पाल्दै आएका लामिछानेको फार्ममा छोटो समयमा खोर नै रित्तिने गरी यसअघि कुखुरा मरेका थिएनन्। कुखुरामा लागेको रोगको जानकारी लिएर खोरको निरीक्षण गरिदिन जिल्ला पशु सेवा कार्यालयलाई पटक–पटक अनुरोध गरेको उनले बताए। कार्यालयबाट बिहीबार मात्र निरीक्षण गरिएको बताउँदै उनले भने, ‘सबै कुखुरा मरेर सकिने अवस्था भएपछि मात्र आउनुभयो।’

अचानक धेरै कुखुरा मर्नुले फार्मका कुखुरामा बर्डफ्लूको संक्रमण भएको आशंका लामिछानेको छ। भारतमा पनि अहिले कुखुरामा बर्डफ्लू संक्रमण फैलिएको छ । जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख चेतनारायण खरेल छोटो समयमा धेरै संख्यामा कुखुरा मर्नुलाई बर्डफ्लू नै भन्न नसकिने बताउँछन्। बर्डफ्लूको आशंका भएपनि ल्याब परीक्षणको रिपोर्ट आएपछि मात्र रोगबारे थप भन्न सकिने उनको भनाइ छ।

एउटा कुखुरा हुर्काउन अहिलेसम्म करिब आठ सय रुपैयाँ खर्च भएको भएको उनले बताए। कृषि विकास बैंक भरतपुरबाट ४७ लाख रुपैयाँ ऋण लिएर कुखुरापालन गरेका थिए। ‘केही गरौं भनेर ऋण लिएर काम थालेको थियौं,’ उनी भन्छन्, ‘आम्दानी हुने बेलामा सबै सखाप भयो।’

प्रकाशित: २५ चैत्र २०७४ ०५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App