२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

ललितपुरमा श्रमाधान रोजगार मेला सुरु

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’ आज देखि बाग्मती प्रदेशको ललितपुर स्थित पाटन बहुमुखी क्याम्पसमा सुरु भएको छ ।

मेलाको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेला सुरुवात मात्रै भएको बताईन् । मेलाले रोजगारीको अवसर मात्रै हैन करिअर काउन्सिलको काम पनि गर्ने बताइन् । मेलाले उद्यमी बन्न चाहनेको लागि सहज प्रक्रियाको जानकारी पनि दिनेछ ।

 ‘यस्तो खालको मेला अति नै आवश्यक छ । हाम्रो मन्त्रालयले पनि यो वर्ष देखि करिअर काउन्सिलबाट सुरु गर्दैछौ,’ उनले भनिन् । कुनै रोजगारीको लागि कस्तो खालको शिक्षा तथा सीपको आवश्यकता पर्दछ भन्ने विषयमा पनि छलफल गरिने उनले बताईन् ।

त्यस्तै, शिक्षा मन्त्री श्रेष्ठले उद्योग, शिक्षा र श्रम मन्त्रालयको सहकार्यमा भोकेशनल तालिमहरू सञ्चालन गर्न सकिने बताईन् । ‘अन्तर मन्त्रालयको समन्वयमा हामी मुलुक भित्रै रोजगारी सृजना तथा स्वरोजगार बन्न युवाहरूलाई प्रेरित गर्ने सक्छौ । सहकार्य लागि पनि हामीले छलफल चलाई रहेका छौ ।

बाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले रोजगार मेलाले सीप र कामको महत्व पनि बुझाउने बताए । मेलाको उपलब्धि आजको भोलि नै नदेखिन सक्छ । तर यसले दिर्घकालीन रुपमा सकरात्मक परिणाम देखाउने उनले बताए । त्यसैले आगामी दिनमा यो मेलालाई अभियानको रुपमा नै लैजानुपर्ने उनले बताए । त्यस्तै, मेलाले मुलुक भित्र केही हुन सक्दैन भनेर बिदेसिनेको मनोविज्ञानलाई परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । साथै मेलाले रोजगारदाताले श्रमिक पाएनौ भन्ने र श्रमिकले रोजगारी पाएनौ भन्ने गुनासोलाई सम्बोधन गर्नेछौ ।

त्यस्तै, मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले मन्त्रालयले मेला आयोजनाका लागि ललितपुर नै छनौट गरेकोमा खुसी व्यक्त गरे । दैनिक १५०० को हाराहारीमा वैदेशिक रोजगारीमा गै रहेको अवस्थामा यस्तो खालको मेलाले थोरै भए पनि नेपाली युवालाई नेपाल भित्रै रोकी राख्न सक्यो भने त्यसलाई ठूलो उपलब्धी रुपमा लिन सकिने बताए ।

जेठ १७ गते देखि कोसी प्रदेशको विराटनगरबाट सुरु भएको रोजगार मेला बाग्मती प्रदेशको ललितपुरमा आज देखि सुरु भएको हो । मेला भोलिसम्म सञ्चालन हुनेछ । मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एसोसिएसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघ गर्नेछन् । मेला बुधबारसम्म सञ्चालन हुनेछ । मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका स्टल रहेका छन् ।

प्रकाशित: २९ जेष्ठ २०८१ १४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App