१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

हिमालयन हाइड्रो एक्स्पो वैशाखको दोस्रो साता

चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आगामी वैशाख १२ देखि १४ गतेसम्म राजधानीको भृकृटीमण्डपमा हुने भएको छ। एउटै छानोमुनि जलविद्युत् परियोजना सम्बन्धित विविध जानकारी दिने उद्देश्यले हिमालयन हाइड्रो एक्स्पो गर्न लागिएको हो।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालीको संयुक्त आयोजनामा ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित चौथो संस्करणको एक्स्पो आयोजना गर्न लागिएको हो। 

इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरण गर्नका लागि एक्स्पो उचित गन्तव्य हुने बताए। ‘ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकोले यसलाई मूर्त रूप दिने गरी निजी क्षेत्रबाट एक्स्पो आयोजना गर्न लागिएको हो,’ अध्यक्ष कार्कीले भने, ‘नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो मुख्य गन्तव्य बन्ने आशा गरेका छौँ।’

उनले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतमा दीर्घकालीन रूपमा निर्यात गर्ने सम्झौता भैसकेको पनि यस्ता खालका एक्स्पोले लगानीको वातावरण तयार पार्न सहयोगी भूमिका निर्वाह गर्ने बताए।

‘सरकारले सन् २०३५ भित्र १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने उद्देश्यसहितको २८ हजार ५ सय मेगावाट उत्पादन गर्ने मार्गचित्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्माण गरिसकेको सन्दर्भमा यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ’ उनले भने, ‘आयोजकका अनुसार ऊर्जा उत्पादनको लक्ष्य कार्यान्वयनमा समेत महत्त्वपूर्ण योगदान दिने आशा गरेका छौँ।’

एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी सङ्कलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत् व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ।

चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरू एक्स्पोमा सहभागी हुनेछन्।

जलविद्युतका लगानीकर्ता, उत्पादक, इन्जिनियर लगायत यस क्षेत्रमा चासो राख्ने सबैका लागि जानकारीको केन्द्र बन्ने एक्स्पोमा ३ दिनको अवधिमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

 इप्पानका महासचिव बलराम खतिवडाले एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैङ्क तथा वित्तीय संस्था, सिमेन्ट, डण्डी लगायतका २०० भन्दा बढी स्टल रहने जानकारी दिए। ‘ती मध्ये झण्डै ५० प्रतिशत विदेशी स्टल हुने छन्। हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्ने गरी हाइड्रो पावर सम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरबाट आविष्कार गरेका वस्तु तथा सेवाको प्रतिस्पर्धा एक्स्पोको आकर्षण बन्नेछन्,’ उनले भने ‘एक्स्पोमा सहभागिताको लागि बुधबारदेखि नै स्टल बुकिङ खुला गरिएको जानकारी गराउँदछौ।’ इप्पानका उपाध्यक्ष आशिष गर्गले एक्स्पो लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना गरिने भएकाले पनि विशेष अर्थ राख्ने बताए। विगतमा एक्स्पो सन् २०१७, २०१८ र सन् २०२२ मा आयोजना गरिएको थियो।  अहिले नेपालको राष्ट्रिय ग्रिडमा २९ सय १ मेगावाट जडित विद्युत् जडित क्षमता पुगेको छ।

निजी क्षेत्रबाट मात्र सोलारसहित १७१ आयोजना सम्पन्न भई २२ सय १४ मेगावाट ऊर्जा उत्पादन भएको छ। अन्य विद्युत् प्राधिकरण मातहतका आयोजनाबाट उत्पादन हुँदै आइरहेको छ। ३३ सय ९७ मेगावाट बराबरका १३१ आयोजना निर्माणाधीन अवस्थामा छन् भने ३६ सय १५ मेगावाट बराबरका १३८ आयोजना विद्युत् खरिद सम्झौता –पीपीए० भएर वित्तीय व्यवस्थापनको चरणमा छन्। यसैगरी करिब १९ हजार ६२३ मेगावाट बराबरका २५८ आयोजना निजी क्षेत्रबाट अनुमतिपत्र लिएर निर्माणको विभिन्न चरणमा छन्।

एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय र कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कूटनीतिज्ञ नियोगहरू, मित्र राष्ट्रहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसाय कम्पनी, बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एकै थलोमा उपस्थिति गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरुकोबारे नीतिगत बहसका साथै नयाँ नयाँ प्रविधि र उपकरणहरूको प्रदर्शनी गर्ने कार्यक्रम छ।

प्रकाशित: २४ माघ २०८० १७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App