१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

बौरिँदै उत्तरको मुख्य तातोपानी नाका

नेपाल प्रवेश गर्न लामवद्ध चिनियाँ पर्यटक। किनमेलको लागि तिब्बत छिर्न मितेरी पुलमा तैनाथ नेपाली। तिब्बती क्षेत्र खासा र रमितेबाट नेपालतिर झर्दै गरेका सामाग्रीले भरिएका कन्टेनर। व्यस्त छ, अध्यागमन कार्यालय। सुख्खा बन्दरगाह भन्सारमा उस्तै चहलपहल।

सामाग्रीले भरिएको भन्सार यार्ड। सामाग्री लोड/अनलोड गर्न खटिइरहेका मजदुर। जाँचपास लगायत प्रशासनिक काममा मस्त कर्मचारी। सामाग्री छुटाउन पुगेका व्यापारी र उनीहरुका प्रतिनिधिले खचाखच छ भन्सार परिसर पनि।

चीनसँग व्यापारिक कारोवार हुने उत्तरको मुख्य तातोपानी नाकामा भदौयता दैनिक देखिन थालेको दृश्य हो यो। २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प र लगत्तै अर्को वर्ष निम्तिएको भोटेकोसी बाढीले खण्डहर बनाउँदा लामो समय मसानघाट जस्तै सुनसान, चकमन्न बनेको यो नाका बैरिन थालेको छ। व्यापारदेखि मानवीय आवागमनसम्मै सबै गतिविधि ठप्प हुँदा गुमनाम बन्न पुगेको नाका क्रमशः गुल्जार बन्दै गएको छ।

नेपालको भगिरथ प्रयत्नपछि चीनले नाका सञ्चालनलाई खुकुलो पार्दै आयात÷निर्यात व्यापारसँगै मानवीय आवागमनसमेत खुलाएपछि कलाकार अरनिको र राजकुमारी भृकुटी पैदलै चीन प्रवेश गरेको ऐतिहासिक परम्परागत यो नाका पुरानै लयमा फर्कँन थालेको हो।

‘नाकाले भूकम्प अघिकै लय पक्रन खोजिरहेको छ,’ तातोपानी सुख्खा बन्दरगाह भन्सारका प्रमुख अधिकृत दयानन्द केसीले उत्साह भर्दै भने। विगतमा नाकामा हुने अधिकांश व्यापारिक गतिविधि सुरु भएको उनले बताए।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि साढे चार वर्ष यो नाका पूर्ण बन्द भयो। लामो कूटनीतिक प्रयासपछि २०७६ जेठ १५ आयात व्यापारको लागि नाका एकतर्फी सञ्चालनमा ल्याइयो। यसअघि सीमावर्ती लिपिङ बजार मानवविहिनप्राय बन्यो। त्यसको चार वर्षपछि गत वैशाख १८ गते निर्यात व्यापारसहित नाका दोहोरो सञ्चालनमा ल्याइए पनि मानवीय आवामन खुलाइएको थिएन। दुवै व्यापार मानवीय आवागमन नहुने शर्तमा सञ्चालनमा ल्याइएको थियो।

चीनले नाका सञ्चालनमा खुकुलो नीति लिँदै गत भदौ १५ गतेदेखि मानवीय आवागमन खुलाएपछि तातोपानीमा पुरानै व्यापारिक गतिविधि देखिन थालेको हो। ‘नाका पुरानै लयमा फर्कँन धेरै काम हुन बाँकी छ। तर त्यसको सकारात्मक संकेत भने देखा परिसकेको छ,’ प्रमुख भन्सार अधिकृत केसीले नागरिक न्युजसँग भने।

आयात ह्वात्तै बढ्यो, निर्यात ठप्प

चार वर्षअघि नै आयात व्यापार खुलाइए पनि त्यो नाम मात्रको थियो। झण्डै एक वर्ष लामो कोरोना कहर, दुवै मुलुकका सीमावर्ती क्षेत्रका जीर्ण सडक र कमजोर भौतिक पूर्वाधारका कारण आयात व्यापार ठप्प जस्तै थियो। मुस्किलले दैनिक चार–पाँच कन्टेनर सामाग्री मात्र चीनबाट नाका आइपुग्थ्यो।

भदौ सुरुदेखि व्यापारिक कारोवार ह्वात्तै बढेको सुख्खा बन्दरगाह भन्सारले जनाएको छ। भन्सार तथ्यांक अनुसार आयात व्यापार तीन गुणा बढेको छ। प्रमुख अधिकृत केसी भदौयता निरन्तर दैनिक औसतमा १५ कन्टेनर सामाग्री आयात भइरहेका बताउँछन्। उनका अनुसार यो भनेको ३० नेपाली कन्टेर सामाग्री बराबर हो। साउनयता राजस्व मात्रै १ अर्ब ३८ करोड रुपैयाँ संकलन भइसकेको उनले जानकारी दिए।

‘यो भनेको गत आर्थिक वर्षको ६ महिनामा संकलन भएको भन्दाबढी राजस्व हो,’ केसीले भने। नाकाबाट आयात बढ्न थालेपछि सरकारले तातोपानी भन्सारलाई चालु वर्षमा ५ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ।

आयातित सामाग्रीमा ७०–८० प्रतिशत कृषिजन्य सामाग्री रहने गरेको भन्सार तथ्यांक छ। स्याउ, लसुन, अंगुर, आँप, सिमी लगायत कृषिजन्य सामाग्रीको आयात धेरै छ। पछिल्लो समय जुत्ता, चप्पल, गार्मेन्टका सामाग्री, तयारी पोशाक लगायत सामान आयात हुन थालेपछि भन्सारले यसलाई राजस्व संकलनमा सकारात्मक संकेत मानेको छ। भूकम्पअघि नाकाबाट दैनिक ६० कन्टेनर सामाग्री आयात हुन्थ्यो। २०७१ मा भन्सारले वार्षिक व्यापारिक कारोवार २२ अर्ब पुर्‍याएर ५ अर्ब रुपैयाँ राजस्व असुली गरेको थियो।

चार महिनाअघि निर्यात खुलाइए पनि यसको कारोवार भने सुरु हुन सकेको छैन। पहिलो दिन जेठ १५ गते सात कन्टेनर नेपाली सामाग्री चीन पैठारी भएयता थप सामान गएको छैन। ‘चीनमा माग नै नभएपछि निर्यात हुन नसकेको हो,’ व्यापारीको भनाइ उद्धृत गर्दै प्रमुख भन्सार अधिकृत केसीले भने। विगतमा नेपालबाट चीनमा चाउचाउ, लसुन, प्याज, सागपात, चामल लगायत कृषिजन्य सामाग्री निर्यात हुने गरेको जनाउँदै उनले अहिले त्यस्ता सामाग्री नेपालमा आयात हुन थालेकाले माग नभएको औँल्याए।

तिब्बतको खासा बजारमा भूकम्पपछि मान्छे बस्न दिइएको छैन। त्यसैले त्यहाँ गोदामको अभाव छ। चिनियाँ ट्रान्सपोर्टेसन कम्पनीले चीनका विभिन्न सहरबाट कन्टेनरमा सीमा क्षेत्र ल्याइ पु¥याउने सामान डब्बा मात्र नेपाली भन्सार पठाउने प्रक्रियाद्वारा हाल आयात भइरहेको छ। चीनले खासामा पुनः बजार बसाउने तयारी गरेकाले गोदामको व्यवस्था हुँदा आयात व्यापार निकट भविष्यमै अझै बढ्ने देखिएको भन्सार अधिकारी बताउँछन्।

मानवीय आवागमनले बढ्दो चहलपहल

चीनले मानवीय आगमन खुलाएपछि नाकामा दैनिक चहलपहल बढ्दो छ। चिनियाँ नागरिक नाका हुँदै नेपाल प्रवेश गर्ने र नेपाली किनमेलका लागि तिब्बत प्रवेश गर्ने क्रम बाक्लिएको अध्यागमन कार्यालयको भनाइ छ। अध्यागमनका अनुसार दैनिक ५० जति चिनियाँ नेपाल प्रवेश गरिरहेका छन्। झण्डै ३ सय स्थानीय र जिल्लावासी किनमेलका लागि सीमावर्ती तिब्बती बजार पुग्न थालेका छन्।

अध्यागमन कार्यालय कोदारीले जारी गर्ने पासका आधारमा स्थानीय र सीमावर्ती ३० किलोमिटर क्षेत्रका जिल्लावासी तिब्बत प्रवेश गर्ने कार्यवाहक प्रमुख दिनेश वरै बताउँछन्।

‘मानवीय आवागमले अध्यागमनको व्यस्तता पनि बढेको छ,’ उनी भन्छन्। चिनियाँ, स्थानीय, जिल्लावासी, मजदुरसमेत गरी दैनिक हजारजति जघमट नाकामा हुन थालिसकेको छ। अन्य जिल्लावासी र चीनवाहेकका नागरिकबाहेक विदेशी पर्यटकलाई भने अझै नाकाबाट चीन प्रवेशमा रोक लगाइएको छ।

चिनियाँ लिपिङ र रमिते बजारमा नेपालीलाई लक्षित गरेर १४ वटा पसल सञ्चालनमा ल्याइएको छ। लत्ताकपडा, ब्ल्यांकेट लगायत घरायसी र दैनिक उपभोग्य सामाग्री किन्न स्थानीय र जिल्लावासी त्यहाँ पुग्ने गरेको तातोपानीका वडाध्वक्ष कुमार श्रेष्ठले बताए।

‘नाका पुरानै लयमा फकिँन थालेको अनुभव गरिरहेका छौँ,’ खुशी हुँदै उनले भने, ‘खुशी र सम्भावना फकिँन थालेका छन्। तातोपानी गुल्जार हुने बाटोमा छ।’

वडाध्यक्ष श्रेष्ठका अनुसार चिनियाँ पसलमा ६ नेपाली युवायुवतीले रोजगारी पाइसकेका छन्। भूकम्पअघि चिनियाँ पसलमा दर्जनौँ नेपालीले रोजगारी पाएका छन्। पारि (तिब्बती बजार) बाट चिनियाँ सामाग्री ल्याएर लिपिङ, कोदारी, तातोपानी लगायत स्थानमा स्थानीयले व्यापार थालेका छन्। आवामनसँगै व्यापारिक कारोबार बढ्न थालेपछि कामको अवसरको खोजीमा नाकाबाट विस्थापित भएका व्यापारी, मजदुर थातथलो फर्कँन थालेको श्रेष्ठ सुनाउँछन्।

नाकामा बदलिन थालेको पछिल्ला दृश्यबाट स्थानीयसँगै निजी क्षेत्रमा पनि खुशी छाएको छ। ‘नाकाको अहिलेको अवस्थाले निजी क्षेत्रमा उत्साह थपेको छ,’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) भने। नाका पूर्ण सञ्चालनमा सरकारले अझै कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिँदै निजी क्षेत्र व्यापारको लागि थप आकर्षित हुने र नाका पुरानै लयमा फर्कँने विश्वास व्यक्त गरे।

प्रकाशित: ७ आश्विन २०८० १३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App