२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

अर्थतन्त्रका बाह्य सूचकमा सुधार

आयातमा संकुचन र रेमिट्यान्सको उच्च वृद्धिले नेपालको बाह्य अर्थतन्त्रका सूचकहरू क्रमशः सुधारोन्मुख देखिएका छन्। चालु आर्थिक वर्षको सुरुका दुई महिना साउन र भदौमा घाटामा रहेको शोधनान्तर स्थितिमा अहिले क्रमशः सुधारका संकेत देखा परेको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार मुलुकको शोधनान्तर स्थिति एक खर्ब ३३ अर्बले बचत देखाएको छ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४७ अर्ब ३ करोड घाटामा रहेको थियो। अमेरिकी डलरमा भने गत वर्षको सोही अवधिमा भने दुई अर्ब ७ करोड घाटामा रहेको थियो। चालु आवको सात महिनाको अवधिमा भने अमेरिकी डलरमा एक अर्ब १ करोड बचतमा रहेको छ। चालु आवको सात महिनाको अवधिमा चालु खाता २९ अर्ब ६४ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४ सय ११ अर्ब ३४ करोडले घाटामा रहेको थियो।

विदेशी सञ्चिति पनि बढ्यो

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा विदेशी सञ्चिति १३.८ प्रतिशतले बढेर १३ खर्ब ८३ अर्ब रूपैयाँ पुगेको छ। २०७९ को असार मसान्तसम्मको अवधिमा भने विदेशी सञ्चिति १२ खर्ब १५ अर्ब रूपैयाँ मात्रै थियो। नेपाली रूपैयाँ मात्रै नभएर अमेरिकी डलरमा पनि विदेशी सञ्चितिमा उल्लेख वृद्धि भएको छ नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ माघ मसान्तमा १०.२ प्रतिशतले वृद्धि भई १० अर्ब ५० करोड कायम भएको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ माघ मसान्तमा १६.२ प्रतिशतले वृद्धि भई १२२८ अर्ब ५ करोड पुगेको छ।

सात महिनामा ७ खर्ब रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको सातमहिनासम्मको अवधिमा ६ खर्ब ८९ अर्ब ८८ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार सो अवधिमा वैदेशिक रोजगारीबाट सो रकम भित्रिएको छ। राष्ट्र बैंकका अनुसार माघ महिनामा मात्रै एक खर्ब ४ अर्ब रूपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो। गत आर्थिक वर्षको सात महिनाको अवधिमा भने रेमिट्यान्स ४.४ प्रतिशतले घटेको थियो।

चालु आवको ७ महिनाको अवधिमा भने २७.१ प्रतिशतले रेमिट्यान्स वृद्धि भएको हो। नेपाली रूपैयाँ मात्रै होइन, अमेरिकी डलरमा पनि रेमिट्यान्स वृद्धि भएको छ। अमेरिकी डलरमा १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड डलर पुगेको छ। चालु आवको सात महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई ३ लाख १४हजार ७ सय ६७ पुगेको छ। त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई एक लाख ६७ हजार ७ सय ८ पुगेको छ।

निर्यात र आयात दुवै घट्यो

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा कुल वस्तु निर्यात २९ प्रतिशतले कमी आई ९३ अर्ब ४३ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८.३ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३७.७ प्रतिशत र १३.४ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ८.० प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलैंचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ।

आर्थिक वर्ष २०७९/८० को सात महिनामा कुल वस्तु आयात १९.९ प्रतिशतले कमी आई ९१९ अर्ब १७ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२.८ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १८.० प्रतिशत, २४.३ प्रतिशत र २२.० प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, चाँदी लगायतका वस्तुको आयात घटेको छ।

मूल्यवृद्धि ७ प्रतिशत

चालु आवको सात महिनाको अवधिमा ७.८८ प्रतिशतले मूल्यवृद्धि भएको छ। गत वर्षको सोही अवधिमा ६.२४ प्रतिशतले मात्रै बढेको थियो। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको छ। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.३९ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशत र मरमसलाको ८.०४ प्रतिशतले बढेको छ।  

प्रकाशित: २९ फाल्गुन २०७९ ०२:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App