कोपनहेगन - गैर आवासीय नेपाली संघ(एनआरएन) डेनमार्कले केन्द्रीय कार्यालय भवन रहेको बालुवाटारको जग्गा खरिद प्रकरणको संघभित्रै पनि छानबिन हुनुपर्ने माग गरेको छ। डेनमार्कमा बस्ने गैरआवासीय नेपालीहरुले संघका तत्कालिन पदाधिकारीहरु नै भूमाफियाको जञ्जालमा फसेको भन्दै जग्गा खरिद समितिका सदस्यहरुलाई पनि छानबिनको दायरामा ल्याउनु पर्ने माग गरेका हुन्।
राजधानी कोपनहेगनमा भएकाे गैर आवासीय नेपालीहरुको भेलाले यस्तो माग गरेको हो। साथै उनीहरुले एनआरएनमा शुद्धिकरणको समेत माग गरेका छन्। जग्गा खरिद प्रकरणमा गोलमाल भएको दाबी गर्दै एनआरएनको गत निर्वाचनमा अध्यक्षका प्रत्यासी समेत रहेका कुल आचार्यले त्यसको तुरन्त छानबिन गर्नुपर्ने माग गरे।
तत्कालिन खरिद समितिका पाँच जना सदस्यलाई अनुसन्धानको दायरामा ल्याउने हो भने सबै कुरा प्रष्ट हुने आचार्यले दाबी गरे। यसका लागि छिट्टै एउटा छानबिन समिति बनाएर अघि बढ्नुपर्ने उनले माग गरे।
बालुवाटारको जग्गा सरकारी भएको ठहर गर्दै अख्तियारले अएनआरएनलाई समेत प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ। त्यसो त एनआरएनले जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दामा कानूनी लडाइँ लड्ने निर्णय गरिसकेको छ।
प्रकाशित: २८ माघ २०७६ ०८:०८ मंगलबार