२३ असार २०८१ आइतबार
image/svg+xml
कला

मिथकको युगीन अभिव्यञ्जनाः एक्लो महारथी

पुस्तक

एक्लो महारथी जीवनका विविध आयामलाई सुन्दर र कलात्मक रूपान्तरणद्वारा संयोजित गरिएको कवितासङ्ग्रह हो। जीवनका वर्तमान क्षणहरूको बिम्ब, मिथक,ऐतिहासिक सन्दर्भ, कल्पना तथा अभिव्यङ्ग्यका माध्यमबाट अनुकूलित संश्लेषण गर्न सफल काव्य हो।

समीक्षा समालोचनामा कलम चलाउने महेश कार्की क्षितिजको लेखनको अर्को पाटो कविता विधा पनि हो। नेपाली साहित्य बजारमा दिनानुदिन नयाँ कृतिहरू आइरहेका हुन्छन्। कतिपय कृतिहरूले पाठकको मनमा डेरा जमाउन सफल हुन्छन् भने कतिपय कृतिहरूले पाठकको दिमागमा बस्ने स्थान नभेट्न पनि सक्छन्। लेखकले साहित्यमा लेखेको विषयले पाठकको ध्यान तान्न सक्यो कि सकेन? पाठकले आपूmलाई पाउन सक्यो कि सकेन ? यो कुरा महत्वपूर्ण हुन्छ। 

५२ वटा कविताहरू समावेश भएको एक्लो महारथी महेश कार्की क्षितिजको पहिलो कवितासङ्ग्रह हो। यस सङ्ग्रहभित्र आयामका हिसाबले आधा जति लामा कविताहरू रहेका छन् भने आधा जति छोटा कविताहरू रहेका छन्। यी कविताभित्र कतै ग्रामीण समाजको चित्र, कतै सहरी समाजको आकृति, कतै मानवीय संवेदनाको विश्वदृष्टि त कतै विकृतिभित्रको हाम्रो जीवनलाई देख्न सकिन्छ। कवि क्षितिज आफ्ना कवितामा ऐतिहासिक र मिथकीय बिम्बबाट जीवनको विवशतालाई प्रस्तुत गर्न चाहन्छन्। मिथकीय सन्दर्भप्रति प्रश्न उठाउँदै ती प्रश्नहरूलाई वर्तमान युगीन सन्दर्भसँग जोड्न चाहन्छन्। उनी लेख्छन्ः

हजुरले पूजा गर्दै अचाएको पानीले

जोगाउँछ हो

सतित्व डगाउने विष्णुहरूको छलछाम?

कि हुन्छ फिर्ता  

बृन्दाहरूको लुटिएको सतित्व?  

(आफ्नै कथाको प्रतिध्वनि)  

प्रकृति र मान्छेका बिचको द्वन्द्व तथा निरन्तर सङ्घर्षशील मानव जीवनको चित्रण गर्दै जीवनप्रतिको सम्मान र आशावादी दृष्टिकोण ‘खुसीको क्षेत्रफल र आशाको क्षेत्रफल’ शीर्षकका दुई कवितामा कविले प्रस्तुत गरेका छन्। ‘फरक कथा र वृद्घाश्रमको यात्रा’ शीर्षकका दुई कवितामा कविताका माध्यमबाट कविले परिवर्तित युग सन्दर्भमा सन्ताले वृद्घ आमाबाबुलाई गर्ने व्यवहार र आमाबाबुले सन्तानप्रति गरेको प्रेमलाई मार्मिक तरिकाले प्रस्तुत गरेका छन्।

समाजमा भएका गतिविधिलाई कविताको विषय बनाउनु र ती विषयभित्र समसामयिक राजनीतिको विकृत पटाक्षेप गर्दै सुधारको अपेक्षा गर्नु कविको अर्को विशेषता रहेको देखिन्छ। जीवनका वैपरीत्य सम्बन्धलाई कलात्मक तरिकाले कवितामा अटाउन सक्ने चेत यी कविसँग रहेको छ। यस्ता कविताहरू क्रमशः आतङ्ककारी मृत्युवरण, अन्तर्कथा, युद्घ, प्रकृति र मान्छे वस्ता कवितामा भेट्न सकिन्छ। सहरका मान्छेहरू शीर्षकको कवितामा नागर सभ्यतामा खस्कँदै गएको मानवीय मूल्य र संवेदनहीनताको चित्र उतारेको देखिन्छ भने काठमाडौँ शीर्षकको कवितामा काठमाडौँलाई यशोदाको भ्रमसँग दाँज्ने प्रयास गरिएको छ, कवि लेख्छन्ः

खन्याएर मातृत्व कृष्णलाई  

एकनंशा नचिनेकी  

यशोदाको भ्रम

कहिलेसम्म पाल्छ यो काठमाडौँले? (काठमाडौँ)  

नेपाली समाजमा बढ्दै गएको नारी शोषण र बलात्कारजन्य घटनाहरूको यथार्थलाई घर फर्केकी नातिनी, फिराद पत्र जस्ता कवितामा प्रस्टसँग देख्न सकिन्छ। पुरुष प्रधान समाजले नारीको शरीरमाथि कसरी राजनीति गर्छ भन्ने सन्दर्भलाई स्वतन्त्रता शीर्षकको कवितामा कवि यसरी बोल्छन्ः

जसरी हेर्नुहुथ्यो सुरेखालाई  

तिनै आँखा फर्काउनुस् मतिर

जसरी जहाँजहाँ छुनुहुन्थ्यो सुरेखालाई

डाम्नुस् मेरा अङ्ग अङ्ग पनि

सुरेखाको शरीर मेरो चाहिँ होइन र ? (स्वतन्त्रता)

विसङ्गत जीवनभित्रै आजको मान्छेले गरिरहेको निरन्तर अस्तित्व रक्षा कस्तो हुन्छ भन्ने सन्दर्भलाई ‘परिचयको प्रारम्भ’ शीर्षकको कवितामा देख्न सकिन्छ भने मातृत्व विहीन सन्तानका लागि पुरुषले गरेको सङ्घर्ष र मान्छेका कमजोरीप्रति व्यङ्ग्य, लोभ, मोह, लालच, एषणा तथा जीवनका कुरूप र विकृत पक्षलाई देखाउनका लागि कविले क्रमशः ढुङ्गा, विधुर पुरुषको कथा, प्रसव कथा जस्ता कविताहरू प्रस्तुत गरेका छन्।

‘कङ्कालहरूको सन्नाटा, नियति, खुलामञ्च, युद्घविराम’ जस्ता कवितामा आजका मान्छेमा देखिएको युद्घको उन्माद तथा मातृत्वको प्रश्न गर्ने सन्दर्भमा कविले प्रयोग गरेको शैली नयाँ खालको देखिन्छ। सङ्ग्रहमा रहेका सबै कविताहरू फरक स्वादका रहेका छन्। समाजशास्त्र, सांस्कृतिकअध्ययन साथै जुनसुकै कोणबाट अध्ययन गर्न सकिने यो सङ्ग्रहभित्र कतै सीमान्तकृत मान्छेको पीडा बोलेको देखिन्छ। कतै भाडाका किरियापुत्रीको प्रसङ्गले सुख भन्ने कुरा कहाँ छ त? भन्ने ठूलो प्रश्न गर्छ। कतै एक्ला, टुहुरा एवम् सहारा नपाएका मान्छेहरूको पीडाको प्रतिबिम्ब पनि देख्न सकिन्छ। यस कृतिमा प्रयोग भएका ग्रामीण बिम्बहरूको प्रयोगले कवितालाई जीवन्त बनाएका छन्। गाउँमा छन् गीतहरू शीर्षकको कवितामा कवि लेख्छन्ः

नानीहरू  

गाउँदै छन् तोतेबोलीमा शिशुगीत

‘ऐया बाबा घैया पाक्यो चिउरी कुटाइदेऊ न

नेपालबाट बेउलो आयो बेउली लुकाइदेऊ न।’  

(गाउँमा छन् गीतहरू)

समग्रमा एक्लो महारथी जीवनका विविध आयामलाई सुन्दर र कलात्मक रूपान्तरणद्वारा संयोजित गरिएको कवितासङ्ग्रह हो। जीवनका वर्तमान क्षणहरूको बिम्ब, मिथक, ऐतिहासिक सन्दर्भ, कल्पना तथा अभिव्यङ्ग्यका माध्यमबाट अनुकूलित संश्लेषण गर्न सफल काव्य हो। कवितामा पनि आख्यान र आख्यानमा पनि कवित्वको अनुकूलन गर्न सक्ने प्रतिभाशाली सामथ्र्यले युगीन सञ्चेतनाको मूर्तीकरण भएको छ। यो नै कविको महत्वपूर्ण उपलब्धी हो। कवित्व, कल्पना, अलङ्करण प्रविधि तथा कथनपद्घतिगत शैलीको काव्यिक रूपान्तरणका दृष्टिले कविताभ्यास उच्चतातिर भएको आभास पाइन्छ।

कवित्व, विषय र त्यसको प्रस्तुतिगत प्रबन्धका एकाधिक पक्षहरूमा कविले अझै ध्यान दिन सके र आयामका हिसाबले लामा कवितालाई अझै निचोर्न सकेमा पछिल्ला कृतिहरू अझै सफल हुने सम्भावना देखिन्छ। समग्रमा एक्लो महारथी कवितासङ्ग्रह पठनीय रहेको छ।

प्रकाशित: २१ जेष्ठ २०७९ ०३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App