११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

उपन्यास क्वारेन्टाइन र दलित बहिष्करण

भाले नबासे पनि उज्यालो हुन्छ। तथापि भालेको सुरिलो डाकोले सुनौलो बिहानीको सङ्केत दिन्छ। ठीक समयमा कुखुराको भाले बासेर जगत जगाउने हुनाले कुखुरोलाई ‘ट्यामचरी’ पनि भन्ने गरिन्छ। त्यस्तै, ट्यामचरीको काम गरेको अनुभूत हुन्छ, अमेरिकाको कोलोराडोबासी पदम विश्वकर्माद्वारा लिखित उपन्यास ‘क्वारेन्टाइन’ पढेपछि। कोरोनाको महामारीले विश्व आकुल–व्याकुल बन्यो।

कोभिड– १९ नामक जीवाणु फैलिएर लाखौँ मान्छेको चोला समाप्त भयो र करोडौँका जीवन अस्तव्यस्त बन्यो। यही दर्द, पीडा, मर्म, वेदना र वियोगको वर्णन हो, उपन्यास–क्वारेन्टाइन। विदेशी भूमिमा रहेका प्रिय परिवारजनको मृत्युबाट आहत भएको आत्माले शीतल सहारा खोजिरहेका बखत आफैँलाई कोरोना लागेपछि क्वारेन्टाइनमा बसेर छटपटिँदा समेत कसैको आश्रय नपाउँदाको आर्तनाद हो उक्त पुस्तक।

नेपालको बारपाक केन्द्रबिन्दु पारेर आएको २०७२ को महाभूकम्पलगत्तै त्यसले पारेको क्षतविक्षतबाट मानिसमा भएको हताहतीको विवरण र विभिन्न कालखण्डमा चलेका महाभूकम्पको सिंगो इतिहास ‘महाभूकम्प २०७२’ लेखेर हरिहर पोख्रेलले प्रताडीत मानव चित्त शान्त गराउने काम गरे। त्यस्तै, कोरोनाले संसारमै सन्त्रास फैलाएको अवस्थामा कोभिड १९ र यस्तै महामारीले मानव सामजमा पारेको भयावह समेतको वर्णन समेटेर रचना गरिएको सिर्जना हो क्वारेन्टाइन उपन्यास।

जसमा अनेकथरी महामारी, महायुद्ध, महाभूकम्प, महाप्रलय आदिबाट समेत यो गोल भूगोलवासी मानव जातिमा भएका विघ्नविनाशका विभिन्न ऐतिहासिक कालखण्डलाई समेत समावेश गरिएको छ। त्यसैले यस कृति जोकोहीका निम्ति पठनयोग्य ठागेर यसका रहस्यबारे थोरै चर्चा गर्ने जमर्को गरिएको हो ।

पात्र प्रसंग

उपन्यासका मूलपात्र विनयका परिवार शिक्षित, सचेत र सक्षम भएर नै अमेरिकाको रमणीय सहर कोलोराडोमा पुगेर आनन्दित जीवन व्यतित गरिरहेका हुन्छन्। अमेरिका त्यस्तो देश हो, जहाँ सबैजसो संरचनामा टुइन (जुम्ल्याहा तथा जोडा) को विशेष महत्व छ।

टुइन टावर, टुइन बृज, टुइन रोड, टुइन महाद्वीप, टुइन महासागर प्रायः हरेक चिज टुइन। त्यस्तै विनय र जमुना दुईले पनि छोरा र छोरी दुई जन्माएका थिए। आमाबाबु दुईलाई साथै लगेर साहै आदर सद्भावका साथ राखेका थिए। सुखशान्ति, मायाममताले सबै आह्लादित थिए।

उता लसएन्जलसमा बस्ने दुईले विनयको बहिनी–ज्वाइँले माता पितालाई निम्तो गरेका हुन्छन्, नातिको जन्मदिनको उपलक्ष्यमा। निम्तो मानेर फर्केका बूढाबूढीलाई हवाई यात्रामा कोरोना भाइरस संक्रमणको शंका हुन्छ। क्वारेन्टिनमा बसेकी आमालाई ज्वरोले च्यापेपछि हस्पिटल लगिन्छ। कोरोना पुष्टि हुन्छ। साह्रै सकस भएपछि आइसियुमा राखिन्छ।

हस्पिटलमा लगेदेखि मुखै देख्न नपाइएकी आमाले आखिर सबैलाई छाडेर बिदा हुन्छिन्। तब सुरु हुन्छ, अफगानिस्तानी आतंककारीले टुइन टावर ध्वस्त पारेर जोडा एक्ल्याएजस्तै कोरोना आतंककारीले युगल जोडी ध्वस्त पार्ने काम। केही समयभित्रै विनयको पितामा पनि माताकै जस्तो लक्षण देखापरेर उही किसिमले धर्तीबाट बिदा हुन्छन्। त्यो परिवार टुहुरो हुन्छ।

कोलोराडो सहरकै बीचमा बस्ने विनयका अत्यन्त प्रिय साथी राजीव थियो। उनीहरू सुख दुःखका सहृदयी मित्र थिए। राजीव सम्भ्रान्त परिवारमा जन्मेहुर्केको व्यक्ति भए पनि विदेशको सपनाले तानेर उसले संसारको सबैभन्दा प्यारी प्रेमिका पार्वती उर्फ पारुलाई टपक्क टिपेर, सम्पूर्ण ऐश्वर्य त्यागेर अमेरिका भासिएको थियो। राजीव र पार्वतीका जोडीले पनि रहरलाग्दा एक जोडी छोराछोरी उपहार पाएका थिए र आफ्नै मेहनत र पौरखले मनमोहक जीवन बिताइरहेका थिए।

नेपालमा भएका मातापिता र सासुससुरालाई समेत डाकेर सँगसँगै सुख र समृृद्धिमा रमाउँला भन्ने धोको हुँदाे हो उनीहरूको। तर कोरोनाले तीनका भावी सुन्दर सपना पनि चकनाचुर पारिदियो। क्वारेन्टाइनमा बसेको राजीवले कोरोनालाई जित्न सकेन। आँखाका नानी ती दुई बालक श्रीमती पारुको अभिभारा लगाएर संसारबाट बिदा हुन बाध्य भयो ऊ। श्रीमान्को मृत्युपछि शोकविह्वल श्रीमती पारु दुई बच्चा काखी च्यापेर विक्षिप्त अवस्थामा बसेकी थिइन्।

ती दुवै बच्चालाई समेत एकेक गरेर काखबाट छिन्यो कोरोनाले। त्यसपछि उनको संसार शून्य भयो। माइतीको रजगज, घरको चञ्चलाश्री सारा त्यागेर विदेश आए पनि उनीहरूको बन्दोबस्त राम्रो हुनाले मगनमस्तकै दिनचर्या बिताइरहेका थिए उनीहरूले। जिन्दगी त यस्तो सुखमय भए पो! भनेर अरूले उदाहरण दिन्थे। तर ती वैभव सम्पूर्णमा महिना दिन बित्दानबित्दै डढेलो लाग्यो। पारुका लागि धर्ती आकाश सबै रित्तिए सरी भयो।

यता नाता आफन्त र मित्रजनलाई आइसियुमा रेखदेख गर्दागर्दै विनयकी श्रीमती जमुनालाई आफैँ आइसियुमा बस्नुपर्ने भयो। कोरोना संक्रमित अन्य बिमारीजस्तै हस्पिटलभित्र पसेकी जाज्वल्यमान जमुनाले पविारको मुख देख्न र उनका हातको एक घुट्को पानी निल्न नपाएरै छटपटिएर प्राण त्यागिन्। यसरी विनयको परिवारमा बाआमा र श्रीमती समेत तीनै जनालाई कोरोनाले लग्यो। उता विनयका अनन्य मित्र राजीवका पनि दुई छोराछोरी र ऊ आफू समेत तीनै जनालाई उही निठुरी कोरोनाले लग्यो।

बाँकी परिवारजनका र त्यस्ता त्यस्तै दुःखीमनका आलापविलाप एवं विभीषिकाको वर्णन पढ्दा मुटु नभक्कानिने र आँसु नखसाल्ने पाठक सायदै होलान। शोक र सुर्ताले विनय बेसुरजस्तो हुन्छ। पारु पीरैपीरले पागलजस्ती हुन्छे र पटकपटक पासो लाएर प्राणत्याग गर्ने प्रयास गर्छे।

एक दिन त सिलिङ फ्यानमा आफ्नै सलको पासो बेरेर झुन्डिन कुर्सीमाथि उक्लिएर घाँटीमा सुर्कने कस्न लागेकै बेला विनय पुग्छ र झस्कँदै भन्छ– ‘पार्वती! के गरेको यस्तो?’ विक्षिप्त पारु अर्धचेतमै घुद्रुक्क भुइँमा लड्छे। ऊ आफैँ शोक र सन्तापले जीर्ण विनय मुटुमा बलियो गाँठो पारेर पारुलाई सान्त्वना दिँदै सम्झाउन थाल्छ। हेर पारु, तिमी हामीले मात्र यस्तो वियोगको वेदना व्यहोरेर बेहाल बन्नुपरेको होइन, यही महामारीका कारण दैनिक हजारौँ मानिस मरिरहेका छन्, लाखौँले जीवन गुमाइसकेका छन्, करोडौँको संख्यामा संक्रमित भइरहेका छन् र कति मानिस कोरोनाकै कारण अस्तव्यस्त भएका छन्। कोरोनाको मुखबाट उम्केको धैर्य गर्नुको विकल्प के छ र हाम्रो अगाडि?

हामीले टिभीमा देखे सुनेकै हौँ! कोरोना भाइरस पत्ता लगाउने चीनका डा. ली वेनलियाङ लगायत हजारौँ डाक्टर नर्सले उपचारकै क्रममा स्वयं संक्रमित भएर ज्यान गुमाए। गर्भका कैयौँ भ्रूण भूमि नमन गर्नसम्म पाएनन्। यावत कुरा सम्झेर उनीहरू सम्हालिन बाध्य हुन्छन्।

आइसोलेसन र जातीय विभेद

संसारका सारा मानिसलाई क्वारेन्टाइन एवं आइसोलेसन (अलग र बहिष्कृत) भएर बस्नुपर्दाको पीडा र सास्तीपूर्ण परिवेश ज्ञात भयो। युगौँदेखि जातीय भेदभावका कारण बहिष्करणमा पारिएका दलित समुदायले व्यहोर्नुपरेको छुवाछूत र जात प्रथाको पीडा कस्तो हुने रहेछ देख्यौ भनेर औँला ठड्याउनु र यसैमा मान्छेको ध्यानाकर्षंण गराउनु यो उपन्यासको एउटा खरो पक्ष हो।

पात्र विनयमार्फत लेखकले आफ्ना बाल्यकालमा घटेका विविध छुवाछूतजन्य घटना पस्कन्छन्। त्यो विभेद र अपमान भोगेका दिन सम्झँदा अहिले पनि उनको मुटु भतभती पोल्छ, छाती चर्चरी चिरिन्छ। यही कोरोनाको कहर काटेर बस्दै गर्दा अतीतमा आफूले व्यहोरेका अस्पृश्यताका घटना अगाडि आएर नाच्छन्। त्यसबाट खाटा परेको कलेजाको घाउ चिथोरिए जस्तो हुन्छ।

मूलतः जातीय मुक्तिकै कारण दलित समुदायले ७५ वर्ष पूर्वदेखि गरेका संगठित जातीय संघर्ष, वर्ग संघर्षसँग जोडिएर गरेका जनसंघर्ष, जनआन्दोलन र जनयुद्धसम्म होमिएर वीरगाथा प्रदर्शन गरेका दलित योद्धाका कुराको झल्को पनि उक्त उपन्यासमा यथेष्ट दिइएको छ। सामाजिक अपमानकै कारण स्वाभिमानको खोजीमा दलितहरू देशविदेश भौँतारिनुपरेका अभिप्राय पनि पोखिएका छन् पुस्तकमा ।

अवतरण

कोरोनाकै कारण सिर्जित रोग, शोक र भोकसँगको लडाइँले एकातिर मान्छेलाई अस्तव्यस्त त्रस्त पारेको छ भने अर्कोतिर सास बचाउने आशले स्वास्थ्यकर्मीहरू अहोरात्र खट्दाखट्दै संक्रमित भएर आफैँ भुक्लुभुक्लु मरेका छन्।

हस्पिटलमा कोरोनाको सिकार बनेका लासको खलियो लागेको छ। उता शव गृहमा पनि लासको उरुङ परेको छ, जलाउने पालो नपुगेर। न्युयोर्कजस्ता संसारकै ठूला सहरमा पानी सुकेको पोखरीका माछा छटपटाएर मरे जसरी छटपटिएर मान्छेले प्राण त्यागेको देख्ने र मृत्यु भयावहको वर्णन सुन्ने मानिसले मानिसकै जुनीलाई धिक्कारेका छन्।

यस उपन्यासले सुरुमा मानव जोडाजोडीको संगम र रमाइलो यात्रा गराएको छ। विशेषतः विछोडको वियोगान्त पीडा र दर्दले दुनियाँलाई धरधरी रुवाएको छ र अन्तमा बचेकाको मिलनको पाइला टेकाएर अन्त्य गरिएको छ। एकातिर विनय र जमुनाका युगल जोडीमध्ये जमुनालाई कोरोनाले लगेपछि विनय एक्लो हुन्छ, अर्कातिर राजीव र पार्वतीका जोडी पनि कोरोनाले छिनेपछि पार्वती एक्ली हुन्छिन्।

विदेशको ठाउँमा विलापैविलापका बीच पूर्वघनिष्ठ परिवार विनय र पार्वती छोराछोरीकै आग्रहमा अनुबन्धित हुँदै छातीमा मुड्कीले हानेर वैवाहिक सम्बन्धमा गाँसिन्छन्। नयाँ प्रयास सुरु गर्ने हेतुले दारुण बनेर अन्तमा उनीहरू एक अर्काको अँगालोमा बाँधिन्छन् र इति हुन्छ उपन्यास।

अझै उचाइ पक्रन

लाग्छ समृद्धिको सीमा हुँदैन। साहित्यिक समृद्धिका लागि आख्यान र काव्यमा खेलिरहेका पदम विश्वकर्माको यो कृति, उपन्यास विधाको पहिलो हो। कुनै खेलाडीले अघिल्लो आफ्नै रेकर्ड तोडेर कीर्ति कायम गरेजस्तै पदमजीको अघिल्लो पुस्तक ‘तमसुक कथा सङ्ग्रह’भन्दा निकै परी पुर्‍याएर पस्केको प्रतीत हुन्छ यो उपन्यास।

यसले बोकेको लक्ष्य, उद्देश्य र विषयवस्तु प्रस्तुतिका हिसाबले हेर्दा कुनै दिग्गज साहित्यकारले विहङ्गम दृष्टि लगाएमा उनीहरूको नजर यसमा अवश्य आकर्षित हुनेछ र यस उपन्यासले कुनै न कुनै स्थान ग्रहण गर्नेछ भन्ने अनुभूत हुन्छ। तथापि फूलबारीमा फूल जति फक्रे पनि एकादुई कोपिला अझै थपिए हुन्थ्यो भन्ने मालीको चाहना रहेजस्तै उपन्यास उम्दा भए पनि अझै ओजिलो बनोस् भन्ने इरादाले मलाई यसको मलमलाउँदो मुन्टामा एकाध छिटा पानी छर्कन पाए अझै मौलाउन मद्दत पुग्थ्यो कि भन्ने लागेर केही कुरा कोटट्ट्याउने प्रयास गरेको छु।

कथामा होस् वा उपन्यासमा पात्रहरूका परिधान, आकार, प्रकार, बोली, व्यवहार, अंग, रूप, रंग, चिह्न आदिले विशेष पहिचान देओस्, जसबाट त्यो पात्रको पाश्र्वचित्र पाठकको पटलमा सट्ट टाँसियोस्। जुन कुरा उपन्यासमा सुहाउने मात्र होइन पाठकको मनमा कथावस्तुले त्यसैमा टेकेर सधैँका लागि बास बस्छ।

अर्को कुरा कुनै पनि प्रगतिशील लेखकले भौतिक विज्ञानलाई अत्मसात गर्नु लेखकीय धर्म हो। यस पुस्तकमा उल्लिखित भाग्य, विधाता, नियति, ईश्वर, भगवान् जस्ता शब्दमा आशक्त हुनु बूढाबूढीको उद्गार पोख्दासम्म त ठीकै होला, तर पढेलेखेका विद्वत् पात्रलाई कति सुहाउँछ विचार गर्नुपर्ने होला।

क्वारेन्टाइन उपन्यास मूलतः अमेरिकाकै पेरिफेरीमा लेखिएको कोरोनाको कथाव्यथा भएकाले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रमको मास्क प्रकरण, पहिला मास्क नलगाउने घमण्ड गर्नेले पछि रोग र लाज दुवैबाट जोगिन नाक छोपेर घमण्ड तोडिएको परिवेश राखिदिएको भए मजै हुन्थ्यो।

एउटा कुरा २०१९ डिसेम्बरमा चीनको वुहान राज्यबाट फैलिएको कोरोना भाइरस पत्ता लगाउने डा. ली वेनलियाङलाई ‘चिनियाँ सरकारले गलत हल्ला नफैलाउन धम्की दियो’ मात्र भनिएको छ। स्थानीय सरकारले उनलाई हिरासतमा राखेको सत्य हो। पछि केन्द्रीय सरकारले क्षमायाचना गर्दै उनको अनुसन्धानलाई सम्मान गर्‍यो र डा. लीलाई राष्ट्रको सहिद घोषणा गर्‍यो। यस उपन्यासमा डा. लीलाई अपमान गरेको कुरा खुल्यो। सम्मान गरेको कुरा खुलेन।

पृष्ठ २० मा सन् १९३९ देखि ६ वर्ष चलेको विश्वयुद्धलाई प्रथम भनेर गरिएको वर्णन अरू सबै ठीक छ तर त्यो दोस्रो हो। प्रथम विश्वयुद्ध त २८ जुलाई १९१४ देखि ११ नोभेम्बर १९१८ सम्म भएको थियो ।

कुनै सिर्जनाको विवेचना गर्दा सर्जकको बखान गरेर सराहना र गुणगानको रास मात्र थुपारिदियो भने लेखकप्रति अन्याय हुन्छ। त्यसै अर्थमा न्यायका लागि पुरानो रेतीले नयाँ खुर्पा अर्जापे जस्तै थोरै अर्जाप्ने काम गर्नु कर्तव्य सम्झेर मात्र यी हरप कोरिएका हुन्। मूलतः यो पुस्तक पठन र मननयोग्य मात्र होइन सङ्ग्रहणीय छ।

सम्बन्धित विषयमा शोध अनुसन्धान गर्नेका लागि समेत बलियो आधार बन्ने छ। लेखक विश्वकर्माले दुई कार्यकाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्ष भएर सँगालेको अनुभव र पछिल्लो चरणमा घनीभूत रूपले अध्ययन चिन्तन मनन गरेर लेखन कार्यमा लागेको हुनाले कलम माझ्न सफल भएकामा अत्यन्त हर्ष लागेको छ।

विषयवस्तुको गाम्भीर्यतालाई समेट्दै साहित्याकाशमा बाँकटे हान्ने दलित साहित्यकारको अग्रपंतिमा उभिएर यस्ता कृतिलाई जन्म दिएकामा गौरवान्वित हुँदै साहित्यकार पदम विश्वकर्मा अझै सशक्त वेग मार्दै अगाडि बढून् भन्ने शुभकामना व्यक्त गर्दछु।

प्रकाशित: १० पुस २०७८ ०६:०५ शनिबार

अक्षर