८ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

खोक्रो सोच

कथा

म, सविन र सम्झना बालसखा थियौँ। खाँदा, बस्दा, खेल्दा, पढ्दाका अति नै मिल्ने साथी। सम्झना र सविनको घर सँगै भएकाले यी दुईको खाने, बस्ने सधैँजसो सँगै हुन्थ्यो। एकअर्कामा गाह्रो–साह्रो पर्दा सहयोगी पनि थिए। यसरी नै तिनीहरू एकापसमा सुखदुःख साटासाट गर्दै एसएलसी पनि दिए, दुवै दोस्रो श्रेणीमा उत्तीर्ण भए। त्यससँगै कैयौँ रंगीन सपना मनभरि सजाउँदै आफ्नो प्यारो जन्मभूमि, साथीसंगिनी र परिवारलाई छाडेर उच्च शिक्षा अध्ययनका लागि आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरे– अपरिचित, अञ्जान सहरमा।  

आफ्नो अति नै मिल्ने बालसखीलाई छाडेको दुई वर्षको अन्तरपछि फेरि सम्झना र सविनको भेट भयो। यिनीहरूबीच प्रेमको टुसा पलाएको मात्र होइन, झांगिइसकेको थियो। अर्थात् यी एकअर्काविना बाँच्नै नसक्ने भएपछि धेरै वर्षको प्रेमलाई विवाहमा परिणत गरे। त्यो पनि परिवारकै सल्लाहमा।

दुवैको परिवार हाँसीखुसी नै थियो। यो सिलसिलामा जीवनको रथ अगाडि बढाउन आर्थिक अवस्था बाधक भयो। त्यसपछि सविन स्कुलमा पढाउन थाले। सम्झना भने पढ्दै घर÷परिवार सम्हाल्न लागिन्। जिन्दगीमा धेरै मोड आउँछन्। अनि ती मोडले आफूसँगै चुनौती पनि ल्याउँछन्। यसलाई सामना गर्न परिवारको मुख्य भूमिका रहन्छ।  

सविन र सम्झनाको जिन्दगीमा पनि धेरै मोड आए। तिनीहरूसँग सामना पनि गरे उनीहरूले। यसैबीच मायाको निसानीका रूपमा छोरी जन्मिइन्। दुवैजना खुसी नहुनुपर्ने कुनै कारण थिएन। तर, उनीहरूलाई थाह थिएन, यो खुसीसँगै दुःख पनि जन्मेको छ भनेर। बिचरी सम्झनाको कठिन र मायारूपी संसार क्षणभरमा तहसनहस हुने क्रममा छ भन्ने उनीहरूले पत्तै पाएनन्।

यसैबीचमा सम्झना गर्भवती भइन्। धेरै नै गाह्रो भएपछि परिवारले थापाथली अस्पताल लगे। त्यहाँ पुग्दा सम्झना बेहोस अवस्थामा मुढोझैँ लडिरहेकी थिइन्। नर्मल डेलिभरी सम्भव नभएपछि अपरेसन गर्नुप¥यो। दोस्रो सन्तानका रूपमा पुनः छोरी जन्मिइन्।

त्यो पल फरक भयो। अघिल्लो बेलाजस्तो खुसियाली देखिएन परिवारमा। न परिवारमा सम्झनाको स्वास्थ्यप्रति चिन्ता थियो, न त नाबालिकाप्रति नै। उनीहरू बेखुस हुनुको मुख्य कारण पुनः छोरीकै जन्म थियो। सम्झना अर्धचेत अवस्थामा बेडमा सुतिरहेकी थिइन्। तर, यी सबै दृश्य उनी महसुस गरिरहेकी थिइन्। उनी अचम्म त यसमा मानिरहेकी थिइन् कि हजारौँ विद्यार्थीलाई ज्ञानको ज्योति बाँड्ने शिक्षक श्रीमान् (सविन) नै अर्कोतर्फ मुन्टो बटारिरहेका थिए। सासू र ससुरा त बुहारीलाई ‘अलछिनी रैछ’ भन्दै नातिका लागि छोराको दोस्रो विवाह गर्ने योजना बुन्दै थिए, कानेखुसीमार्फत।

‘मैले मान्छे चिन्न सकिनँ, तिमीमाथि सौता भित्र्याउने तयारी भइरहेको छ। अब त्यो घरमा तिमीलाई पठाउने कुनै साइत निस्कँदैन,’ बाबुको कुरा सुनेपछि सम्झना त्यहीँ मुर्छा परिन्।

साथीले फोन गरेर सम्झना हस्पिटलमा छ भनेपछि म हतार–हतार त्यहाँ पुगेँ। जहाँ यी दृश्य आँखैअगाडि नाचिरहेका थिए, एक–एक गरेर। आफूसँग असाध्यै मिल्ने साथीको यो हबिगत पटक्कै रुचाएन नजरले। तर, मसँग यसलाई स्विकार्नुको विकल्प के नै थियो र ? नर्सलाई आमा र बच्चाको अवस्था सोधेँ। ‘दुवैको स्वास्थ्य राम्रो छ, अप्रेसन गरेकाले उहाँलाई केही दिन हस्पिटलमै राख्नुपर्छ,’ नर्सले भनिन्।  

म भने सम्झनाको अनुहार देखेपछि रुवाइ थाम्न सकिनँ। बच्चा जन्मेको दुई घन्टासम्म कसैले छोएकै थिएनन्। ऊ पनि सबैको व्यवहारले दिक्क भएर होला, बच्चीलाई दूध पनि नखुवाई अर्कोपट्टि मुन्टो फर्काएर रुँदै थिई। जसको आवाज मैले सहजै अनुमान गर्न सकेँ– घँुक्क, घुँक्क।

मैले थोरै साहस बटुलेर उनलाई सोधेँ, ‘किन सबैजना निराश देख्छु नि ? बच्चा र आमाको स्थिति त रामै्रै रहेछ। घर–परिवारतिर पनि सबैलाई ठीक छ नि ?’  

तब ऊ बोली रुन्चे स्वरमा, ‘मैले फेरि पनि छोरी पाएँ रे, छोरा पाउन सकिन रे।’ उसले आफूलाई सम्हाल्नै सकिन, भक्कानिन पो थाली।

मैले बच्चीलाई काखमा लिएर सुमसुम्याउँदै सान्त्वना दिन खोजेँ– हरेस नखाऊ, महान् र सक्षम नारी बनेर देखाऊ, तिम्रो र अरूको परिवारमा पनि बालिकाप्रति गरिने भेदभाव हटाउने अभियन्ता बनेर निस्क, ताकि सिंगै देशले गर्व गर्न सकोस्। तिम्रो परिवारका सदस्य पनि पश्चाताप गर्न बाध्य होऊन्

आफूले लगेको कपडा दिएँ, भेटी दिएँ चलनअनुसार। अनि थपेँ– चिन्ता नगर, तिमी भाग्यमानी छौ।

साँझपख सविनकी दिदी आइन्, ‘ल भाइ बधाइ छ, मेरो भदा हेरुँ, खै कति राम्रो छ ?’ तर सरोजको कुनै प्रतिक्रिया आएन। बरु सरोजकी आमा बोलिन्, त्यो पनि रुखो स्वरमा– बन्साको बुटो आएपछि यो जुनीमा भदा हेर्न पाउँदिनस्, अर्की पनि नखर्माउली जन्मेकी छे।  

आमाको मुखबाट झरेका शब्द नसकिँदै आफूले ल्याएको कपडा अस्पतालको बेडमै छाडेर हिँडिन् दिदी पनि। भदैको अनुहार समेत हेरिनन् उनले, न बुहारीलाई नै हेरिन्। उता सम्झना भने आफूमाथि राज गरिरहेको पीडा भन्दा पनि छोरीप्रतिको कुदृष्टि र व्यवहारले बढी सकस बेहोरिइरहेकी थिइन्।  

केहीबेरपछि सविनकी काकी आइन्। पूरै पार्टी ड्रेसमा सजिएकी थिइन्। दिदी (जेठानी) प्रति हेर्दै लेग्रो तान्दै भनिन्, ‘तपाईंको भाग्य पनि अपुतालीमै जाने भयो। मरेपछि पिण्ड दान गर्ने, वंश धान्ने एउटा नाति भएन। उस जन्मको भाग हो दिदी, के गर्नुहुन्छ अब ? मेरा त दुईवटा नाति छन्। छाड्दिनोस्, तपाईंलाई पनि पिण्ड दिन्छन् तिनैले।’

एकोहोरो बोलिरहिन्– आज बहिनीको छोराको व्रतबन्ध थियो। कति धेरै पाहुना आएका। असाध्यै रमाइलो भो। त्यसरी कार्य गर्न त तपाईंको यो जुनीमा लेखेकै रहेनछ। अर्काको घर जाने छोरीको जातलाई हेरेर मन बुझाउनू। नत्र अझै पनि हाम्रो छोरो लायककै छ, अर्को बिहे गरिदिनुपर्छ। नातिविहीन भएर त के बस्नू ? यो संसारमा छोरा नै सबथोक हो क्यार। उनी छोराविहीन भएर बाँच्नुको सार नै नभएको वकालत गरिरहेकी थिइन्। अरू सुन्ने साक्षी बनिरहेका थिए।  

केही दिनपछि सम्झना डिस्चार्ज भइन्। उसलाई उचित खानपान, स्याहारसुसार केही भएन। माइतीबाट भेट्न आएका आमाबुबाको मन पनि खुसी हुने कुरै भएन। न्वारनअगाडि माइत लैजान मिलेन, घरमा राम्रो व्यवहार थिएन। त्यसैले बाबुआमा चिन्तित थिए।

समय बदलियो, वेशभूषा बदलियो, पुरानो ढुंगेयुग बदलियो। जिन्दगीका कैयौँ बाटा र मोड बदलिए। तर हाम्रो समाजमा सदियौँदेखि जरा गाडेर बसेको नारीप्रतिको हेराई, सोच कहिल्यै बदलिएन।  

१५ दिनपछि सम्झना दुई छोरी च्यापेर माइत गइन्। परिवारका कसैले पनि राम्रोसँग बिदाइ गरेनन्। माइतमा एक महिना बसेपछि घर जाने साइत हेर्न पण्डितकोमा पुगेका थिए, सम्झनाका बुबा। जब ज्वाइँलाई पनि त्यहीँ भेटे, सम्झनाका बुबा छक्क परे। त्यो छक्क धेरै समय कायम रहन भने सकेन। अर्थात् उनको दुःखमा परिणत भयो, जब ज्वाइँ पनि साइतै हेराउन आएका रहेछन्, मुखिया बाकी छोरीसित विवाह गर्न।

‘नमस्ते ज्वाइँ नारायण’ भन्दा पनि किन खासै रेस्पोन्स गरेनन् भन्ने उनले पछि पो बुझे। गह्रौँ मन लिएर सम्झनाका बाबु घर फर्के। यो खबर छोरीलाई कसरी सुनाउनू ? आँटै गर्न सकेनन्। रोइरहे निकैबेर। छोरीलाई अँगालोमा बेरेर भक्कानिएको स्वरमा भने– छोरी मलाई माफ गर, मैले खान्दानी र शिक्षित मानेर तिमीलाई कलिलै उमेरमा बिहेदान गरेँ तर आज विनाकसुर तिमीले जिन्दगीको खहरे बहार तर्नुपर्नेछ, मेरी प्यारी छोरी खुट्टा नकमाऊ, हिम्मत र धैर्य नगुमाऊ, हामी तिम्रो साथमा छौँ, अब त्यो घर तिम्रो भएन...।

‘मैले मान्छे चिन्न सकिनँ, तिमीमाथि सौता भिœयाउने तयारी भइरहेको छ। अब त्यो घरमा तिमीलाई पठाउने कुनै साइत निस्कँदैन,’ बाबुको कुरा सुनेपछि सम्झना त्यहीँ मुर्छा परिन्। सुत्केरी ज्यान, पूरै गलेको शरीर। त्यसमाथि दुई छोरीको जिम्मेवारीको बोझ अनि भविष्यको चिन्ताले उनलाई विक्षिप्त तुल्यायो, जुन स्वाभाविक थियो।

सम्झनाका छोरीहरू सहारा र खुसीलाई पढाइ–लेखाइ मात्र होइन, लालनपालनमा समेत मावलीले कुनै कसर बाँकी राखेनन्। विशेष गरी हजुरबुवाले कुनै किसिमको अभाव हुन दिएनन्। यही कारण उनका छोरीहरू डाक्टर र वकिल भए। सहारा र खुसी दुवै एकदमै मेहनती र प्रतिभावान थिए। खुसीको छात्रवृत्तिमा पढ्नका लागि अमेरिकामा नाम निस्क्यो। सहारा वकिल पेसामा जमिन्।  

समय यसरी नै बितिरहेको थियो। सम्झनाका पुराना घाउमा सहारा र खुसीको प्रगतिले मलमको काम गरिरहेका थिए। यही क्रममा उनी पनि एउटा एनजिओमा काम गर्न थालिन्। बिस्तारै खुसी पनि डाक्टरको पढाइ सकेर आफ्नै जन्मभूमिमा बिरामीको सेवा गर्ने अठोट लिएर फर्किन्। र, एउटा सरकारी अस्पतालमा नियुक्त भएर सेवा गर्न थालिन्।

भनिन्छ, समय र परिस्थिति सधैँ एकैनासको हुँदैन। सविनको दोस्री श्रीमतीबाट सन्तान नभएपछि उनीहरूबीच पनि मेल भएनछ। त्यसपछि उनले सम्पत्ति दाबी गर्दै सविनविरुद्ध मुद्दा दर्ता गरिछिन्। बहसको समय आयो, संयोगले महिलाको तर्फबाट त्यो मुद्दाको वकालत सहाराले गर्दै थिइन्। उनलाई के थाहा ? सानैमा बाबुको माया र अनुहार नदेखेकी एक आपसमा चिनजानै थिएन।  

जब अदालतले महिलाको पक्षमा फैसला ग¥यो, तब सहारा निकै खुसी भइन्, किनकि उनले अन्यायमा परेकी एउटी महिलालाई न्याय दिलाउन सकेकी थिइन्।

जब आफ्नो सबै सम्पत्ति दिनुपर्ने भयो, सविन फैसला स्थलमै ढले। हतारहतार उनलाई सबै मिलेर अस्पताल लगियो। जब उनी सामान्य अवस्थामा फर्किए, उनले आफ्नो उपचारमा तल्लिन डाक्टर महिलालाई देखे। जसले उनलाई सामान्य अवस्थामा ल्याउन अथक मेहनत गरेकी थिइन्।

सविन आराम गर्दै थिए बेडमै। डाक्टर र उनीबीच कुरा भयो, घर–परिवार आदिबारे। सविनले सुस्केरा हाल्दै भने– छोरा नै चाहिने हठले मेरो जिन्दगी उराठ भयो। म परिवारविहीन छु।

डा. खुसीले सविनलाई पानी पियाउन गिलास मुखमै पु¥याएकी थिइन्, बिरामीको कुरा सुनेपछि गिलास फर्काएर भुइँमा राखिन्, अनि भनिन्– माफ गर्नुहोला, म त छोरी मान्छे, तपाईं मैले पियाएको पानी पिउनुहुन्न होला, त्यसो भए।’

यतिबेलासम्म आफूले मुख समेत हेर्न नमानेकी छोरी अहिले आफूलाई हेरचाह गर्ने डाक्टर भएको सविनले थाह पाइसकेका थिए। उनैले आज आफ्नो ज्यान बचाएको थाहा पाएपछि उनले पश्चाताप गर्दै माफी मागे। उनले पटक–पटक भनिरहे, ‘म संसारकै सबैभन्दा भाग्यमानी बाबु हुँ, जो तिमी जस्तो असल डाक्टरले गर्दा आज पुनर्जन्म पाउन सफल भएँ। आफ्नो गल्तीको प्रायश्चित गर्नै मौका पाएँ। पढेलेखेको शिक्षक भएर पनि छोरा र छोरीमा विभेद गरी तिमीहरूको चित्त दुखाएँ। छोरी भएकै कारण तिम्रो अनुहारसमेत हेरिनँ, आज तिमीले नै मलाई बचायौँ। मलाई माफ गर खुसी। म पापीलाई, पक्षपातीलाई...।’

जतिबेला सविन खुसीसँग माफीको याचना गरिरहेको थियो, ढोकैमा बसेर हर्षको आँसु झारिरहने तिनै महिला थिइन्, जसले विनासित्तिको सजाय पाउँदा पनि हिम्मत हारिनन् र यही दिनको प्रतीक्षा गरिरहिन्। उनी अर्थात् सम्झना।

प्रकाशित: २० मंसिर २०७७ ०५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App