२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ सकियो

काठमाडौं - १६ दिने ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ नामक ‘भर्चुअल नाटक महोत्सव’ समापन भएको छ। कर्णालीको नाटक ‘गर्भछिटा’ र गुरुकुलको नाटक ‘ताराबजी लैलै’ देखाएर शनिबार महोत्सवको समापन गरिएको हो।

किर्तिपुरस्थित थिएटर मल रंगमंच र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) को आयोजनामा चैत १४ गतेबाट सुरु महोत्सवमा हरेक दिन नाटकको भिडिओ स्ट्रिमिङ गरिएको थियो। नाट्य महोत्सवमा २० वटा नाटक देखाइएको महोत्सव निर्देशक केदार श्रेष्ठले बताए। नाट्य महोत्सवलाई हामीले यही समापन गरेका छौं,’ श्रेष्ठले भने, ‘नाटक देखाउने काम सकिए पनि आगामी दिनमा कला सिर्जनाकानयाँ नयाँ काम चाँहि जारिरहनेछ।’

‘नाट्य महोत्सवमा करिव ३ लाख भन्दा बढी दर्शकले हेरेर राम्रो प्रतिकृया दिनुभएको छ’, उनले थपे, ‘लकडाउनमा जनतालाई मनोरञ्जन दिने हाम्रो उद्धेश्य सफल भएको छ।’

१३ औं दिनसम्म हरेक दिन ५ बजे एक/एक वटा नाटकको भिडिओ स्ट्रिमिङ गरिएको थियो भने १४ औं दिन २ वटा र १५ औं दिन ३ वटा र १६ औं अर्थात् अन्तिम दिन २ वटा नाटक देखाइएको थियो।

विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीका कारण चैत ११ गतेदेखि देशमा भएको ‘लकडाउन’ यथावत् नै छ। सोही समयमा घरमा बसिरहेका जनतालाई मनोरञ्जन प्रदान गर्ने उद्धेश्यसहित महोत्सवको आयोजना गरिएको थियो। 

क्वारेन्टाइन अभियानलाई जोड दिँदै विश्व रङ्गमञ्च दिवसको सन्दर्भमा उत्सव सुरु भएको हो। पाकिस्तानी नाटककार शाहिद नदीमले लेखेको रङ्गमञ्च बर्ष सन्देशको सारांश अनुवाद वाचनबाट सुरु गरिएको उत्सवको पहिलो दिन केदार श्रेष्ठ लिखित तथा निर्देशित नाटक ‘मान भर्सेस मती’ को भिडिओ स्ट्रिमिङ भएको थियो।

दोस्रो दिनएस्थेटिक डान्स स्टुडियोको प्रस्तुतिमा नम्रता केसीको परिकल्पना र निर्देशनमा तयार नाटक ‘राजेन्द्रलक्ष्मी’ र तेस्रो दिन आइतबार ध्रुवसत्य परियारको कथासंग्रह ‘कैरन’ मा संग्रहित कथामा आधारित रहेको नाटक ‘जालिनी’ को भिडिओ स्ट्रिमिङ गरिएको थियो।
चौथो दिन सुदाम सीके निर्देशित नाटक ‘पाँच’, पाँचौ दिन ङ समूहको प्रस्तुति, लोककथामा आधारित, सिजन दाहाल लिखित, गोविन्द पराजुली निर्मित, प्रवीण खतिवडा निर्देशित नाटक ‘एक बोली एक दाम’ र छैटौं दिन सुभोजित बन्द्योपाध्याय निर्देशित नाटक ‘नथिङ टु से’ देखाइएको थियो।

साताैं दिन भारतीय नाटककार सुरेन्द्र वर्माद्धारा लिखित, अनुप बरालको पर्यवेक्षणमा सुरज मल्ल निर्देशित नाटक ‘शकुन्तलाको औंठी’ र आठौं दिन केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशन रहेको नाटक ‘उपियाँको निबन्ध’ को भिडियो प्रस्तुत गरिएको थियो।

त्यस्तैगरी नवौं दिन सिल्भरस्टेशनको कथा ‘गिमिङ ट्री’ मा आधारित आकांक्षा कार्कीको परिकल्पना तथा निर्देशित नाटक ‘दयालु रुख’ र दशौं दिन सम्पदा मल्लको कथामा अशेष मल्लले नाट्यलेखन र निर्देशन गरेको नाटक ‘अर्को कुरूक्षेत्र’ देखाएको थियो।

एघारौँ दिन गुरूकुलको प्रस्तुति रहेको नाटक ‘एल्ममु निको तिर्खा’ को भिडियो लाइभ स्ट्रिमिङ भएको थियो। युजिन ओनिलको लेखन रहेको यस नाटक डेबोरा मेरोलाले निर्देशन गरेकी हुन्।

बाह्रौं दिन श्याम साहको कथामा आधारित सुलक्षण भारतीद्धारा निर्देशित नाटक ‘लाटीको छोरो’ र तेह्रौं दिन प्रतिक्षा कट्टेलद्धारा लिखित विजया कार्कीले निर्देशन गरेको नाटक ‘क्लेशा’ देखाइएको थियो।

चौधौं दिन आशिष घिमिरे र संगीता सापकोटाद्धारा अनुवादित तथा निर्देशित हास्यव्यंग विधाको नाटक‘अंधेरी नगरी चौपट राजा’ र एजिल बियनद्धारा निर्देशित ‘द फ्ल्याइट’ गरी दुई नाटक देखाइएको थियो। 

महोत्सवको प्रन्धौं दिन डेनमार्कको नाटक ‘टु बी’, चिनियाँ साहित्यकारको कथामा आधारित नाटक ‘म्याड म्यान्स डायरी’ र केदार श्रेष्ठद्धारा निर्देशित नाटक ‘भोको घर’ गरी तीन वटा नाटक प्रस्तुत गरिएको थियो। 
सोह्रौं अर्थात् अन्तिम दिन पनि दुई वटा नाटकको भिडिओ स्ट्रिमिङ गरिएको थियो।

कर्णालीको नाटक ‘गर्भछिटा’ र गुरुकुलको नाटक ‘ताराबजी लैलै’ देखाएर उत्सवको समापन गरिएको निर्देशक श्रेष्ठको भनाई छ। सामाजिक र जातीय विभेदलाई देखाउन प्रयासरत ‘गर्भछिटा’ नाटकलाई हिरा बिजुली नेपालीले लेखन तथा निर्देशन गरेका थिए। त्यस्तै मोर्टन क्रोगद्धारा निर्देशित नाटक ‘ताराबजी लैलै’ मा परिवर्तित मानिसको भोगाइ र सिकाइलाई समेटिएको थियो। उत्सवमा थिएटर मलको फेसबुक पेजमार्फत नाटक प्रसारण गरिएको थियो।

प्रकाशित: २९ चैत्र २०७६ १२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App