१२ असार २०८१ बुधबार
image/svg+xml
कला

रोजाइमा ढाका पोसाक

चिप्लेढुंगा – पाल्पाली ढाकाको महत्व बढ्दै गएको छ। विसं. २०१५ सालदेखि प्रचलनमा आएको पाल्पाली ढाकाबाट तयार हुने पोसाकहरू अहिले राष्ट्रिय पहिचान बनाएको छ। नेपाली डिजाइनरहरूको प्राथमिकतामा ढाका पर्ने गरेका छन्। शिरदेखि पाउसम्ममा विभिन्न पोसाकहरु अहिले ढाकाबाट बन्न थालेका छन्। विभिन्न डिजाइनमा समेत उपलब्ध हुन थालेपछि महिलाको विशेष रोजाइमा समेत ढाकाको पोसाक पर्न थालेको छ।

पोखरामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा पाल्पाली ढाकाका विभिन्न पोसाकहरु राखिएको छन्। मोनिका ह्यान्डीक्राप्टको कक्षमा महिलाले विशेष रुचिसाथ पाल्पाली ढाकाका पोसाक किन्ने गरेको व्यवसायी मणिराज भट्टराईले बताए। ‘पाल्पाली ढाकाको टोपी र चोलोले राष्ट्रि रुपमा चर्चा पाउँदै आएकामा पछिल्लो समय भने ढाकाको साडी र स्टकोटको बिक्री हुन थालेको छ,’ उनले भने। उनले लेखनाथ र पोखरामा राखिएको प्रदर्शनी कक्षमा महिलाले ढाका पोसाक बढी मन पराएको बताए।

अर्का व्यवसायी लक्ष्मी भट्टराईले महिलाले साडी, सल, चोलोको कपडा र झोलाहरु मन पराएको बताइन्। ‘जाडोमा न्यानो हुने र राष्ट्रिय पहिचान बोकेको पोसाक भएकाले पनि महिलाको रोजाइमा पर्दै गएको छ,’ उनले भनिन्, ‘पहिलोपल्ट मेलाबाट यस व्यापार गरेकी हुँ। अब पोखरामा यसको बिक्री कक्ष राखेर बिस्तार गर्ने सोच राखेकी छु।’

पोखरा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास उपसमिति संयोजक मुना बास्तोलाले स्वदेशी उत्पादनलाई टेवा पुग्ने र व्यक्तित्वमा समेत ढाका पोसाक राम्रो मानिएकाले आफूले पनि ढाका साडी लिएको बताइन्।

प्रकाशित: २९ पुस २०७६ ०४:२५ मंगलबार

ढाका पाल्पाली_ढाका