४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

‘चलचित्रको माध्यमबाट समाज रूपान्तरणमा योगदान’

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाज रूपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय योगदान रहेको बताएका छन्। संविधान दिवसको सन्दर्भमा चलचित्र विकास बोर्डद्धारा आयोजित “सांस्कृतिक रूपान्तरण पुरस्कार-२०८१” कार्यक्रममा बोल्दै मन्त्री गुरुङले चलचित्रको उत्थान गर्न मन्त्रालयले भरपूर सहकार्य गर्ने प्रतिबद्धता जनाए।

“अप्रत्यक्ष रूपमा समाज रूपान्तरणका लागि अहं भूमिका खेल्ने प्रभावकारी माध्यम चलचित्र हो। मन्त्रालय यस क्षेत्रको उन्नतिमा सकारात्मक छ”, उनले भने। उनले यो वर्ष चलचित्र विकास बार्डेको नीति परिमार्जन गर्ने बताउँदै आवश्यक सुझावको अपेक्षा गरे।

कार्यक्रममा चलचित्र विकास बोर्डले नेपाली चलचित्र “बलिदान” लाई यो वर्षको सांस्कृतिक रूपान्तरण पुरस्कार- २०८१ ले सम्मान गरेको छ। नेपाली चलचित्र इतिहासको एक उत्कृष्ट एवं कालजयी चलचित्रमार्फत राष्ट्रियता, सामाजिक न्याय, अभिव्यक्ति स्वतन्त्रता, मानवीय गरिमा र मूल्यको प्रवर्द्धन तथा समाजमा वैचारिक एवं भावनात्मक जागरण अभिवृद्धि गरी सांस्कृतिक रूपान्तरणमा योगदान गर्ने चलचित्रलाई बर्सेनि सम्मान गरिने बोर्डले निर्णय गरेको हो।

यसै चलचित्रमार्फत सांस्कृतिक रूपान्तरणमा योगदान पुर्‍याएका पाँच जना कलाकारलाई पुरस्कार प्रदान गरिएको छ। बलिदानका निर्देशक तुलसी घिमिरे, अभिनेता नीर शाह, सङ्गीतकार श्याम तमोट र गायिका लोचन भट्टराई पुरस्कृत भएका हुन्।

कार्यक्रममा अन्य चलचित्रमार्फत समाज रूपान्तरणका लागि योगदान पुर्‍याएका कलाकार रमेशरञ्जन झा, कविता आले, देशभक्त खनाल, ऋद्धिचरण श्रेष्ठ, माओत्से गुरुङ, विकास चौधरी, प्रेमा अधिकारी गैरेलाई पुरस्कृत गरिएको छ।

कलाकार हरिवंश आचार्यले चलचित्र फेरिएजस्तै सरकारको सत्ता फेरबदल नगरेर विकास निर्माणमा केन्द्रित भइदिन आग्रह गरे। कार्यक्रममा सञ्चारमन्त्री गुरुङ र सचिव अर्यालले पुरस्कृत सम्पूर्णलाई जनही २५ हजार रूपैयाँ नगद र ताम्रपत्रसहित सम्मान गरेका थिए।  

प्रकाशित: ४ आश्विन २०८१ १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App