२४ असार २०८१ सोमबार
image/svg+xml
कला

किम्फ: महिला फिल्ममेकरको उत्सव

अमेरिकी राजदूतावासको सहप्रस्तुतिमा रहेको सो किम्फः महिला फिल्ममेकरको उत्सव सत्रको सुरुवातमा नेपालका लागि अमेरिकी राजदूतावासकी प्रवक्ता जेहरा नक्भीले आफ्नो धारणा राखेकी थिइन्।

उनले भनिन्, ‘क्यामेरामा महिलाहरूको सहभागिता र अनुभवका कुराहरूलाई हामी सेलिब्रेट गरिरहेका छौं। अहिलेका यिनै महिला फिल्ममेकरहरू भविष्यका महिला फिल्ममेकरका लागि प्रोत्साहनका स्रोत हुन्।’

उनले कथावाचनले मानिसको मनस्थिति र आवेगलाई प्रस्तुत गर्ने भएकाले कथा सशक्त माध्यम रहेको समेत बताइन्।

पूजा पन्तले सहजीकरण गरेको अन्तक्रियामा निर्देशक तथा अभिनेत्री सरिता साहले भनिन्, ‘म जे महसुस गर्छु, जे अनुभूत गर्छु। त्यो भोगाइ र अनुभूति कोही अरूले भन्दा धेरै कुरा छुट्न सक्छ। त्यही कुरा मैले बढी प्रष्टसँग भनेर न्याय गर्न सक्छु जस्तो लाग्छ। मैले थप्ने भनेको त्यही छुटेका कुराहरू हुन्। मैले मेरो फिल्ममा स्वाभाविक रूपमा विकास हुने मित्रताको कथा देखाएको छु। फिल्ममा दलित र गैरदलित किशोरीको कथा छ। जातीय विभेदबारे बनेको फिल्मकै छायांकनमा दलित समुदायका कलाकारहरूलाई अभिनय गराएको भनेर हामीलाई विभेद गर्ने काम समुदायबाट भएको थियो।’

फिल्मकर्मी आकांक्षा कार्कीले भनिन्, ‘महिलाले बढी संवेदनशील र समभावका साथ कथाहरू भन्छन् भन्ने लाग्छ। प्रोसेसमा उनीहरू बढी इमान्दार भए भने ससाना कुराहरूलाई प्राथमिकता दिने उनीहरूको नजरीयाले फिल्मलाई फरक बनाउन सक्छ।’

दुई दशकदेखि फिल्म बनाइरहेकी डिना मुफ्तीले फिल्म क्षेत्रमा अनस्क्रिन महिला प्रतिनिधित्व बढिरहे पनि पर्दापछाडि अझै धेरै महिला फिल्ममेकरहरूको खाँचो रहेकोमा जोड दिइन्।

उनले भनिन्, ‘प्राविधिक रूपमा दक्ष महिलाहरूको उपस्थिति बढाउन अझै बढी काम गर्नुपर्छ। महिला नेतृत्व पनि उत्तिकै शक्तिशाली हुन्छ भन्ने कुरा स्वीकार्न जरुरी छ। महिलाहरूको नजरबाट हेर्दा फिल्म क्षेत्रमा उनीहरूको भविष्य सकारात्मक छ।’

सो अन्तक्र्रिया अघि विदुषी गिरीको ‘चिसो घर’, सरिता साहको ‘थ्रेसहोल्ड’ र आंकाक्षा कार्कीको ‘सनई’ प्रदर्शन भएको थियो।

महोत्सवमा ‘कट कथा’ले स्टोरी पिचिङ गरिरहेको छ भने स्टोरी टेलर्सको सहकार्यमा निर्देशक मीन भाम, शिलशिला आचार्य र दावा याङ्जुङ शेर्पाले आआफ्नो कथा सुनाउँदै छन्। महोत्सवमा युवालाई लक्षित गरेर ब्रिटिस काउन्सिलको सहकार्यमा ‘च्याम्पिनिङ योङ फिल्म मेकर्स’ गर्दै छ। यसमा उनीहरूले फिल्म बनाउने आधारभूत शैली सिक्नेछन्।

किम्फले यसअघि गरिरहेको फोटो प्रदर्शनीले यसपटक समेत निरन्तरता पाएको छ। महोत्सवमा २२ देशका ६० भन्दा बढी फिल्म प्रदर्शन हुनेछन्। किम्फको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत डकुमेन्ट्री, कथानक, सर्ट तथा प्रयोगात्मक फिल्म समावेश छन्। त्यस्तै नेपाल पानोरामा शीर्षकअन्तर्गत विगतमा जस्तै स्वदेशी प्रतिभाका रोमाञ्जक फिल्महरू प्रस्तुत भइरहेका छन्।  

प्रकाशित: १८ जेष्ठ २०८१ ०७:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App