२४ असार २०८१ सोमबार
image/svg+xml
कला

चलचित्र ‘रावायण’ विवादले अभिनेता केसी हिरासतमा

नेपाली चलचित्र अभिनेता अनमोल केसी पक्राउ परेका छन्। सुदर्शन थापा प्रोडक्सन कम्पनीको ब्यानरमा निर्माण हुने भनिएको ‘रावायण’ विवादका क्रममा केसी पक्राउ परेका हुन्।

‘आपराधिक विश्वासघात’सम्बन्धी कसुरमा किटानी जाहेरी परेपछि शुक्रबार नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले भक्तपुरको साँगाबाट उनलाई पक्राउ गरेको जनाएको छ।

‘आपराधिक विश्वासघातमा आज (शुक्रबार) फिल्म निर्माताको जाहेरी आएको थियो,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) रवीन्द्र रेग्मीले भने, ‘उजुरीकै आधारमा जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि आजै पक्राउ गरेका छौं।’

केसीविरुद्ध रावायणकी निर्माता सुप्रिया कटुवालले प्रहरीमा जाहेरी दिएकी हुन्। उनी सुदर्शन थापा प्रोडक्सन कम्पनीकी कार्यकारी निर्देशक पनि हुन्। अभिनेता केसीका कारण चलचित्र रावायण निर्माणअघि नै चौपट हुने र खर्च भएको एक करोड पाँच लाख लगानी डुब्ने स्थितिमा पुगेकाले कानुनी उपचार खोजेको निर्माता कटुवालले बताइन्।

‘हाम्रो प्रि–प्रोडक्सन खर्च एक करोड पाँच लाख भइसक्यो। ७० जना कलाकार, निर्माण स्टाफ अनुबन्धित भइसके आज (शुक्रबार)देखि फिल्म छायांकन गर्ने कार्यक्रम थियो,’ निर्माता कटुवालले भनिन्, ‘तर उहाँले सबै तयारी पूरा भइसकेपछि अन्तिम अवस्थामा धोका दिएर भाग्न खोज्नुभयो। उहाँका कारण यत्रो क्षति पुग्ने अवस्थामा हामीले जाहेरी दिएका हौं।’

कटुवालका अनुसार रावायणको कथा सुनिसकेपछि असार ३१ गते केसीले चलचित्रको मुख्य भूमिकामा अभिनय गर्न सहमति जनाएका थिए। जसको स्क्रिप्टमा केसीको दोहोरो भूमिका देखिने बताइएको थियो। सोही दिन आफूले केसीलाई १० लाख रूपैयाँ बयाना रकम (एडभान्स) पनि दिएको निर्माता कटुवाल बताउँछिन्।

उनले भनिन्, ‘उहाँ सहमत भएपछि सिद्धार्थ बैंकको चेकमा मेरो आफ्नै खाताबाट १० लाख भुक्तानी दिएकी थिएँ। जुन उहाँले दुई सातापछि साट्नु पनि भएको छ।’

अभिनेता केसी सहमत भएपछि उनकै घरपरिवारको सुझावका आधारमा अभिनेत्री नीति शाहलाई अनुबन्ध गरेकोदेखि लिएर स्क्रिप्टसम्म लेखिएको उनले बताइन्।

‘सब उहाँको र परिवारको सुझावका आधारमा काम भएको छ। अभिनेत्री पनि उहाँकै परिवारको सुझावका आधारमा उहाँकै पारिवारिक नाता पर्ने व्यक्ति लिएका हौं,’ कटुवालले भनिन्।

यसै क्रममा बाँकी कलाकार अनुबन्ध गर्नेदेखि लिएर स्क्रिप्ट लेख्ने, छायांकन गरिने ठाउँ तोक्नेसहित प्रि–प्रोडक्सनका काम हुँदासम्म सबै काम सहमतिमै भएको निर्माता कटुवालले दाबी गरिन्। यसपछि एकाएक असोज ५ गतेपछि अभिनेता केसीबाट गैरजिम्मेवार अभिव्यक्ति आउन थालेको कटुवालको भनाइ छ। उनले भनिन्, ‘एकाएक ५ गतेदेखि उहाँबाट अर्कै कुरा आउन थालेपछि हामी आश्चर्यचकित भयौं। तापनि आफूले जिम्मेवारी लिइसकेपछि काममा आउनुहोला भन्ने अपेक्षा थियो।’

पछिल्लो समय अभिनेता केसीले रावायणको स्क्रिप्ट आफूलाई चित्त नबुझेको बताउँदै स्क्रिप्ट राम्रो नबनाएसम्म काम नगर्ने बताउँदै आएका थिए। यसै क्रममा फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै उनले आफ्ना पछिल्ला फिल्मबाट सचेत भएको उल्लेख गर्दै ‘अब फिल्म गर्दा जबसम्म स्क्रिप्टमा मेरो पूर्ण चित्त बुझाइ हुँदैन तबसम्म फिल्म गर्न हतार गर्नेछैन’ भनी उल्लेख गरेका छन्। उनले अगाडि लेखेका छन्, ‘चाहे यसका लागि विलम्ब नै किन नहोस्, अबको मेरो एक मात्र ध्यान भनेको प्रोजेक्ट कसरी राम्रो हुन्छ भन्ने हो, यसका लागि अब ममाथि कुनै प्रकारको दबाब वा हतारको प्रभाव हुन्न र हुन दिनेछैन भन्नेमा म दृढ भएको छु।’

उता रावायण निर्माता कटुवालले भने अभिनेता केसीले ठगेर आफ्नो चलचित्रलाई चौपट पार्न खोजेको दाबी गरिन्। स्टार कलाकारको यस्तो प्रवृत्तिले फिल्म इन्डस्ट्रीलाई नै नोक्सानी पुर्‍याउने अवस्था देखिएपछि कानुनी उपचारमा जानु परेको उनले स्पष्ट पारिन्।

अभिनेता केसी यही अवधिमा थप दुईवटा चलचित्र ‘फर्की फर्की’ र ‘जेरी अन टप’मा पनि काम गर्ने बताइएको छ। दुईवटा फिल्मको चापका कारण उनले रावायणमा समय दिन नसक्दा बहानाबाजी गरेको स्रोतको दाबी छ। अभिनेता केसीमाथि लागेको आपराधिक विश्वासघातसम्बन्धी कसर मुलुक अपराध संहिता ऐन, २०७४ को परिच्छेद २१ अन्तर्गत दफा २५२ मा उल्लेख छ। यही दफाको उपदफा (२) (ख)मा अर्काको कुनै काम कारोबार गर्ने जिम्मा लिएको वा कानुनी कर्तव्य पालन गर्नुपर्ने जिम्मेवारी भएको व्यक्तिले आफ्नो कर्तव्यविपरीत कुनै काम गरी त्यस्तो व्यक्तिलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्‍याउनुलाई कसुर मानेको छ। 

प्रकाशित: १३ आश्विन २०८० ००:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App