२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

श्रुति परम्पराको अनुपम नमुना: पृथ्वीनारायण शाहको उपदेश

इतिहास

नेपालमा श्रुति परम्पराको आफ्नै पहिचान र महत्व रहेको छ। श्रुति परम्पराले प्रवाह गरेका सूचनाहरू इतिहासका त्यस्ता स्रोत हुन् जसको समुचित प्रयोगबाट कतिपय रहस्यको गाँठो फुकाउन सकिन्छ। यस्ता मौखिक स्रोतका सामग्रीहरूको चयन गर्दा सचेत हुन र सम्परीक्षण गर्न भने आवश्यक हुन्छ।

 यस्तै श्रुति परम्पराको एउटा अनुपम उदाहरण पृथ्वीनारायण शाहको उपदेश हो। गोरखा शाह वंशका सर्वाधिक महत्वाकांक्षी एवम् विजयी शासकको श्रेय पाएका तिनै राजाले आफू मृत्युशड्ढयामा भएका बखत आफ्ना भाइभारदारसमक्ष बोलेका कुरालाई र टिपोट गरेको दस्ताबेजलाई पृथ्वीनारायण शाहको उपदेश भन्ने गरिएको छ।

पृथ्वीनारायण शाहको उपदेश भनिने टिपोट १९९० सालको भूकम्पपश्चात् अभिमानसिंह बस्नेतको घरमा फेला पर्‍यो, जसलाई इतिहास शिरोमणि बाबुराम आचार्य र नेपाली इतिहासका अध्येता योगी नरहरिनाथले २०१० साल पुसमा प्रकाशित गरेका थिए। नेपालमा २००७ सालको परिवर्तनपश्चात् राजा नै शक्तिका स्रोत हुन पुगे। यसै पृष्ठभूमिमा २००९ साल पुस २७ गतेदेखि पृथ्वी जन्मजयन्ती आयोजना हुन लागेको तथ्य यहाँ स्मरणीय छ। हुन त यस बहुचर्चित उपदेश भनिएको लेखोटका केही प्रसङ्ग १९९२ सालमा सूर्यविक्रम ज्ञवालीद्वारा लिखित पृथ्वीनारायण शाह नामक कृतिमा चर्चा गरिएको छ।

बाबुराम आचार्यले उक्त दस्ताबेज १९९० सालमा फेला परे पनि नेपालबाट प्रकाशित हुन नसकेको विषयमा यो दिव्य उपदेश देखेर तात्कालिक व्यवस्थाको मुटु हल्लियो। ई.सं. १९५१ मा पारिवारिक शासन टुटेपछि प्रकाशन स्वतन्त्रताको अधिकार मिल्दा दिव्य उपदेशका लगभग पच्चीस हजारप्रति पुस्तिका नेपाल अधिराज्यभर फिँजिएका हुनाले आज जुनसुकै साक्षर व्यक्ति पनि पृथ्वीनारायण शाहको त्यो अमृतवाणी जान्दछ र उसले श्री ५ पृथ्वीनारायण शाहका उदार भावनालाई भुल्न नसक्ने भएको छ (बाबुराम आचार्य, श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, २०२४ पृष्ठ ५५७)। आचार्यको यो भनाइ अतिशयोक्तिपूर्ण छ।

न राणा शासकले उक्त दस्ताबेजप्रति कुनै पूर्वाग्रह राख्नुपर्ने विषयवस्तु थियो न त नेपाली जनताले त्यसलाई अमृतवाणी नै ठानेका थिए। यस भनाइ तत्कालीन शासकप्रति ठूलो भक्तिभाव प्रदर्शन गर्ने प्रयोजनले उल्लेख भएको थियो। नेपाली इतिहास लेखन विधाका भीष्मपितामह मानिएका आचार्यबाट भएका यी उद्गार इतिहास दर्शनको सिद्धान्तको मर्मविपरीत छ।

श्रुति परम्पराकै एक उल्लेख्य उदाहरण प्रस्तुत गर्न सक्षम राजा पृथ्वीनारायण शाहको भनाइका रूपमा टिपोट गरिएको उक्त सामग्रीलाई दिव्य उपदेश भन्ने नामकरण योगी नरहरिनाथले गरेका हुन्।

 पृथ्वीनारायण शाह स्वयम् शाह वंशीय राजाका पुर्खा भएका कारणले पनि शाहकालमा यो चर्चित हुन पुग्यो। यस उपदेशलाई राजा महेन्द्रले आफ्नो राष्ट्रवादी एजेन्डालाई अगाडि बढाउन उत्खनन् गरी पत्ता लगाएको दाबी महर्जनले गरेका छन् (कान्तिपुर, २५ पुस २०७०)। तर, यो तर्क पनि उचित छैन किनकि १९९२ सालमै त्यस टिपोटका विषयमा चर्चा भएको र २००९ सालमै प्रकाशित भएको तथ्य हामीले बिर्सन हुँदैन। (वास्तवमा हालै विकसित राजनीतिक सन्दर्भका आधारमा हिजोको मूल्याङ्कन हुनु इतिहासको मर्मप्रति प्रहार हो।)

सत्ता र शक्तिका पुजारीहरूले यस उपदेशलाई गायत्री मन्त्रकै रूपमा लिए। पृथ्वीनारायण शाहलाई देवत्वकरण गर्ने ठुलै जमात देखा पर्‍यो। यस पङ्क्तिमा सोनामधन्य इतिहासकारहरू पनि लामबद्ध भए। ऐतिहासिक दस्ताबेज भएको हुनाले यस उपदेशको महत्व त छँदै छ तर इतिहास दर्शनको स्थापित मान्यतालाई ओझेलमा पार्दै यस दस्ताबेजलाई आवश्यकताभन्दा धेरै बढी महत्व दिइयो। यसै पृष्ठभूमिमा उक्त दस्ताबेजका विषयमा बहस चलाउनु सान्दर्भिक देखिन्छ।

पृथ्वीनारायण शाहले आफ्नो अन्तिम समयमा भारदारसमक्ष भनेका वृत्तान्तका रूपमा आएको यो दस्ताबेज एकै पटक वा पटकपटक गरी भनेका हुन् भन्ने कुरा पनि खुल्न सकेको छैन। उनले भनेको र अरूले लेखेको हो वा उनी आफैले लेखाएका हुन् खुलेको छैन। अर्थात् कसले लिपिबद्ध गरेको हो भन्ने कुरा यकिनका साथ भन्न सकिने स्थिति छैन। र, जसले लिपिबद्ध गर्‍यो उसले आफ्नातर्फबाट केही थपथाप गरेको हुन सक्ने सम्भावना पनि उत्तिकै छ।

पृथ्वीनारायण शाहले बोलेका यी कुराहरू तुरुन्त लिपिबद्ध नभई सुनेका आधारमा धेरै पछाडि मात्र लिपिबद्ध गरिएको हुन पनि सक्छ। बालकृष्ण पोखरेल र नयराज पन्तको भनाइअनुसार यो लेखोट रणबहादुर शाहको राज्यकालमा तयार पारिएको हो (हिमालखबर, २७ पुस २०७८)।

अर्का विद्वान् महेशराज पन्तको विचारमा यो दस्ताबेज प्रतापसिंह शाह राजा भइसकेपछि मात्र लेखिएको थियो। यो टिपोट पुरातत्व विभागलाई २०२५ सालमा अभिमानसिंह बस्नेतका सन्तति बखतमानसिंह बस्नेतबाट प्राप्त भएको भनाइ बलरामदास डंगोलको रहेको छ (अभिलेख, वर्ष ३, अङ्क ३, २०४५)।

योगी नरहरिनाथले भने यो टिपोट १८८२ सालमा तयार भएको अनुमान गरेका छन्। यस दस्ताबेजमा प्रयोग भएको भाषाको सूक्ष्म अध्ययन गर्दा उक्त लेखोट तयार पारिएको समय निर्धारण गर्न अवश्यै सकिएला। प्रा. त्रिरत्न मानन्धरले त यो कुन समयमा लेखियो भन्ने निर्क्योल हुन नसकेको अभिमत व्यक्त गरेका छन्। जे होस्, उक्त दस्ताबेजको पाण्डुलिपि फेला पर्दा त्यसको कुनै नाम वा शीर्षक राखिएको थिएन।

पृथ्वीनारायण शाहको उपदेश भनिएको उक्त लेखोट ‘बूढा मरे भाषा सरे’ भन्ने उल्लेख भई सुरु भएको छ। यसले नेपालमा श्रुति परम्पराको मर्म र मान्यताको महत्व दर्साएको छ। यस उपदेशमा पृथ्वीनारायण शाहले घरपरिवार, मकवानपुरमा विवाह हुँदाको खटपट, उपत्यकाको अधिपति हुने सोच, विजय अभियान सञ्चालन गर्न मामाको सल्लाह, कालु पाण्डेलाई कजाइँ, लमजुङसँगको सन्धि, पाण्डे र बस्नेतको सहकार्य, विजय अभियान सञ्चालनजस्ता सन्दर्भ स्मरण गरेका छन्।

यसैगरी नियम, कानुन, न्याय व्यवस्था, हिन्दुस्तान र चीनसँगको सम्बन्ध, खानी र कृषिजस्ता संवेदनशील र गम्भीर विषयमा भविष्यमा ध्यान दिनुपर्ने कुरामा सजग गराई अर्तीउपदेश दिइएको देखिन्छ।

संक्षेपमा भन्नु पर्दा पृथ्वीनारायण शाहको जीवनका केही अंश, उनका विचार एवम् चाहनाजस्ता विषयमा महत्वपूर्ण सूचना भने उक्त उपदेशमा पाइन्छ।

ऐतिहासिक दृष्टिले यस दस्ताबेजको आफ्नै महत्व र उपादेयता हुँदाहुँदै पनि कतिपय कुरा तत्कालीन इतिहाससँग सामञ्जस्य हुन सकेको देखिँदैन। त्यसैले पृथ्वीनारायण शाहले बोलेकै कुरा हुबहु टिपोट हुन नसकेको तथ्य भने प्रस्ट हुन्छ। पृथ्वीनारायण शाहले आफ्नो अन्तिम समयमा व्यक्त गरेको भनिएको उक्त उपदेशमा उल्लेख भएका कतिपय कुराहरू ऐतिहासिक प्रसङ्गसँग मेल खाएका छैनन्। पृथ्वीनारायण शाहले विराज बखेतीलाई काजी बनाउन इच्छा गरेको तर गोर्खाली एवम् बाइसी–चौबीसी सबैतिरबाट कालु पाँडेलाई योग्य ठहर्‍याएको हुनाले कालु पाँडेलाई काजी नियुक्त गरेको भनी उल्लेख छ।

पृथ्वीनारायण शाहले मन पराएका भारदार विराज बखेतीको प्रसङ्ग तत्कालीन इतिहासमा कतै चर्चा पाइँदैन। केवल उनी पृथ्वीनारायण शाहको वाराणसी यात्रामा सँगै गएको मात्र प्रमाण भेटिन्छ। अर्कोतिर त्यो समयमा काजी नियुक्त गर्दा अन्य राजारजौटाको राय लिने परम्परा पनि थिएन।

पृथ्वीनारायण शाह युवराज छँदै भक्तपुर बसेका थिए र त्यहाँ बस्दा रणजित मल्लका छोरासित मित लगाएका थिए भन्ने उल्लेख पाइन्छ। जयप्रकाश मल्लसँग पनि उनले मितेरी साइनो जोडेका थिए। यसकारण मकवानपुरबाट फर्कने क्रममा चन्द्रागिरिबाट पहिलो पटक काठमाडौं उपत्यका देखेको कुरा उपदेशमा उल्लेख हुनु इतिहाससँग मेल खाँदैन। यसैगरी नरभूपाल शाहका चार रानी थिए तर उपदेशमा ‘हामी तीन षोपीका पाँच पांडवको अवतार भयाका थियुँ’ भन्ने उल्लेख छ।

उपदेशमा ब्राह्मण, खस, ठकुरी तथा मगरका फौज भएको उल्लेख छ। तर, तत्कालीन सेनामा ब्राह्मणहरू सामेल भएको कुनै प्रमाण उपलब्ध छैन। यसैगरी नेपाललाई चार वर्ण छत्तीस जातको साझा फूलबारी हो भनिए तापनि उनको राज्यकालमा सबै जात र वर्गप्रति समान व्यवहार भएको पनि देखिँदैन। त्यसबेला ६ घरथरले विशेष सुविधा पाएका थिए। त्यसैले होला डा. हर्क गुरुङले पृथ्वीनारायण शाहको उपदेशमा केही जातलाई मात्र फूल, धेरैलाई झारपात ठानिएको (राजेन्द्र महर्जन, कान्तिपुर, पुस २५, २०७०) टिप्पणी गरेका छन्।

कूपको पानी खानेको बुद्धि हुँदैन भन्ने प्रसङ्ग र दहचोकमा दरबार बनाउने उनको चाहना भएको उल्लेख छ। तर, पृथ्वीनारायण शाहले वसन्तपुर दरबारलाई नै स्तरोन्नति गरेका थिए भने नुवाकोटमा दरबार नै बनाएका थिए। उनले चाहेको भए दहचोकमा पनि दरबार बनाउन सक्थे तर किन त्यसो गरेनन् भन्ने उचित जवाफ पाइँदैन।

काठमाडौंबासीलाई बुद्धि नभएको टिप्पणी गरेको प्रसङ्ग पनि मनगणन्ते नै देखिन्छ किनकि मल्लकालीन दरबारलाई उनले कदर गरेका थिए। उनले विजित प्रदेशका योग्य व्यक्तिलाई पनि कदर नै गरेको दृष्टान्त पाइन्छ।

पृथ्वीनारायण शाह अंग्रेज विरोधी थिए कि जस्तो भाव उक्त उपदेशमा झल्किएको देखिन्छ। किनलक अभियान, इसाई पादरीप्रतिको दृष्टिकोण हेर्दा उनी अंग्रेजसँग सजग भएका थिए तर दीनानाथ उपाध्यायलाई दूत बनाई अंग्रेजसँग सम्बन्ध सुधारको प्रयास पनि गरेका थिए (तीर्थप्रसाद मिश्र, दीनानाथ उपाध्याय: एक सफल कूटनीतिज्ञ, हिमालय टाइम्स, असार २८, २०७९)। पृथ्वीनारायण शाहले मामाप्रति उच्च सम्मान गरेको देखिन्छ तर कुन मामा हुन् भन्ने कुरा खुल्दैन। पाल्पाली राजा भए को हुन्? अथवा अरू नै कोही हुन् भन्ने कुरा पनि अज्ञात छ।

रामशाह, जयस्थिति मल्ल, महेन्द्र मल्लले जस्तै थिति बाँध्ने ‘इस्वरले दियो भन्या म पनि यस्ता बन्देजको बाह्र हजारेका थिति बाधी जाला भन्ने अभिलाषा थियो’ भन्ने उल्लेख छ। तर, त्यसबेला नेपालको जनसंख्या १२ हजार मात्र पनि थिएन। अतः उक्त संख्याले कुन कुराको संकेत गरेको हो, बुझ्न सकिँदैन।

परराष्ट्र नीतिबारेमा त्यस दस्ताबेजमा कतै चीन बादसाहसँग नजिक हुने र कतै भोटसँगको सम्बन्धमा पाँडेलाई अख्तियार दिने कुरा परेको छ। पृथ्वीनारायणको पालामा नेपालको चीनसँग कुनै सम्बन्ध थिएन। केवल तिब्बतसँग सम्पर्क थियो, त्यो पनि राष्ट्रिय स्वार्थका कारण मात्र। हिन्दुस्थानका व्यापारीलाई गढपर्सामाथि आउन नदिने अर्ती दिइएको छ तर स्वयम् पृथ्वीनारायण शाहले गोसाई व्यापारी कास्मिरी मुसलमानलाई प्रश्रय दिएका दृष्टान्त पनि पाइन्छ।

पृथ्वीनारायण शाहले सबै जातको फूलबारी भने तापनि कोही काखा कोही पाखा पारिएका थिए। कोही व्यक्तिका परिवारका विषयमा ‘ई मेरा नुन गुनका स्वोझा सेवक हुन्, उनीहरूले ज्यान जान्या विराम गर्यो भन्या पनि आफूले नमार्नु’ भन्ने कुरा पृथ्वीनारायण शाहले बोलेका नभई अमुक श्रुतिका लेखकले नै बीचमा घुसाएको प्रतीत हुन्छ। न्याय व्यवस्थामा मगरलाई ‘मगर जाची विचारी थाप्नु’ भनेको प्रसङ्ग पनि इतिहाससँग मेल खाँदैन किनकि उनको शासनकालमा मगरहरूले प्रोत्साहन पाएनन्।

जयन्त रानाको जिउँदै छाला काढेको घटनाबाट निसन्देह मगरहरू नाखुस थिए। यस्तै अन्य कयौं कुरा पनि ऐतिहासिक प्रसङ्गसँग मेल खाने छैनन्। यसैकारण पनि उक्त उपदेशमा उल्लेख भएकै आधारमा सम्परीक्षण नै नगरी ऐतिहासिक तथ्य भन्न सकिने स्थिति छैन।

अतः व्यक्तिको मूल्याङ्कन भनाइमा होइन गराइमा पनि हुनुपर्दछ भन्ने विश्वव्यापी सन्दर्भलाई बिर्सन हुँदैन।

पृथ्वीनारायण शाहको जीवनमा घटेका महत्वपूर्ण घटनाहरू यस उपदेशमा उल्लेख भएका छैनन्। नुवाकोट, कीर्तिपुर, काठमाडौं तथा ललितपुर विजय अभियानको कुनै चर्चा छैन। भोटमा सिक्का पठाउने उनको प्रयासको प्रसङ्ग आएको छैन। त्रिविक्रम सेनसँग सम्बन्ध र उनको वाराणसी यात्राको उल्लेख छैन। उनको दोस्रो विवाहका विषयमा चर्चा नै छैन। यस्ता महत्वपूर्ण घटनाको चर्चा नहुनु खड्केको तथ्य हो। पृथ्वीनारायण शाहले यी घटना बिर्सन सक्ने कुरा नै थिएन। भन्ने, सुन्ने अनि सुनेको कुरा पछि सम्झिएर लेख्ने कुरामा छुट भएको अनुमान सहजै गर्न सकिन्छ।

उक्त लेखोटमा पृथ्वीनारायण शाहको विचार र चाहनाका विषयमा प्रशस्त चर्चा छ। तथापि, सोही उपदेशकै आधारमा पृथ्वीनारायण शाहलाई देवत्वकरण गर्न किमार्थ सकिँदैन। तर, उक्त उपदेशको ऐतिहासिक महत्व नै नभएको भने होइन। नेपालको इतिहास लेखनका विविध पक्षको अध्ययन गर्न उक्त उपदेश ज्यादै सहयोगी भएको छ।

श्रुति परम्पराको अनुपम नमुना प्रस्तुत भएको उक्त लेखोट नेपाली भाषाको पहिलो निबन्ध रचना पनि ठानिएको छ। यस अर्थमा यसलाई नेपाली साहित्यको कोसेढुङ्गा नै मान्न सकिन्छ। यो दस्ताबेजलाई दिव्योपदेश वा उपदेश नाम जे दिए पनि यो पृथ्वीनारायण शाहको जीवनी र चाहना दुवैको सम्मिश्रण हो।

पृथ्वीनारायण शाहको वस्तुनिष्ठ मूल्याङ्कन हुन जरुरी छ। राजतन्त्रको समयमा विशेषगरी २००९ देखि २०४६ सालसम्म उनलाई देवत्वकरण नै गरियो। उनको उपदेशलाई गीताजस्तै जप र पाठ गर्ने विषय बनाइयो। प्रत्येक साल पुस २७ गतेका दिन एकता दिवस भव्य रूपले मनाउन सार्वजनिक बिदा दिने परम्परा चल्यो। तर, २०६२–६३ को आन्दोलन र राजतन्त्रको समाप्तिसँगै उक्त परम्पराले निरन्तरता पाएन। पुस २७ गतेको सार्वजनिक बिदा कटौती भयो। पृथ्वीनारायण शाहलाई समेत इतिहासको मर्मविपरीत सत्तोसराप गर्ने ठुलै जमात देखापर्‍यो। उनका सालिक भत्काइए।

२०७० सालमा नै राजेन्द्र महर्जनले सरकारले पुस २७ मा राष्ट्रिय बिदा दियो भने अनौठो हुनेछैन (कान्तिपुर, पुस २५, २०७०) भनी गरेको भविष्यवाणी २०७९ मा सत्य साबित भयो। हिजोको बिदा कटौती गर्ने र आजको बिदा दिने दुवै कार्यमा राजनीतिको प्रत्यक्ष प्रभाव परेको छ। पूर्वाग्रह, जातीयता र वर्तमानका सन्दर्भलाई मध्यनजर गरेर हेर्ने हो भने पृथ्वीनारायण शाहको समुचित मूल्याङ्कन हुँदैन। नव नेपाल निर्माण गर्ने क्रममा पृथ्वीनारायण शाहको योगदानको कदर गर्नैपर्ने हुन्छ।

उनले चलाएको विजय अभियानबाटै कालान्तरमा नेपाल एक सबल राष्ट्रका रूपमा देखापर्‍यो। निःसन्देह नव नेपाल निर्माण गर्न र देशलाई अंग्रेजको प्रभावबाट पृथक् राख्न उनले राष्ट्रिय एकीकरण अभियान थालनी गरेका थिएनन्। एउटा विशाल साम्राज्यको शासक हुने महत्वाकांक्षाबाट प्रेरित थियो उनको विजय अभियान। उनको महत्वाकांक्षालाई उनका उत्तराधिकारीहरूले निरन्तरता दिँदै जाँदा नव नेपालको निर्माण भयो।

यस अर्थमा पृथ्वीनारायण शाहलाई नव नेपालका निर्माता भन्न कन्जुस्याइँ गर्नुहुँदैन। यो चर्चित सम्झौटो पत्रलाई दिव्य उपदेश, उपदेश, अर्ती, भनाइ, राजाको इच्छा जे शीर्षक दिए पनि पृथ्वीनारायण शाहको इतिहासमा अध्ययन–अनुसन्धान गर्नेलाई असल खुराक भने उपलब्ध भएको छ।

प्रकाशित: २ वैशाख २०८० ००:१३ शनिबार

अक्षर