२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

बोलेरो दुर्घटनामा १ को मृत्यु, १२ घाइते

बुधबार उदयपुरमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको उदयपुरगढी गाउँपालिकाबाट गाईघाटतर्फ आउँदै गरेको स १ च ९३९ नं. को बोलेरो जीप मदन भण्डारी लोकमार्गको नेपालटार नजिकै चियाबारीमा दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको हो।

मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका १ ध्वाँसेका ३५ वर्षीय शिव खत्री रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाईते भएका खत्रीलाई गाईघाटस्थित जिल्ला अस्पताल ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन्। उनीहरुको विवरण खुलिसकेको छैन। घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको र थप उपचारका लागि विराटनगर रिफर गरिएको छ।

क्षमताभन्दा बढी यात्रु बोक्नुका साथै घुम्तीमा तिब्र गतिले हाँकेका कारण बोलेरो आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। स्थानीयका अनुसार कटुवाल क्षेत्री समुदायको सदरमुकाम गाईघाटमा हुन लागेको देवाली (कुल पुजा) मा सहभागी हुन बोलेरो रिजर्भ गरेर आउँदै गरेका स्थानीयहरु २५ जनाको हाराहारीमा सवार थिए।

क्षमताभन्दा बढी यात्रु चढाउनुका साथै देवालीमा बली चढाउन आधादर्जन बढी बोका र अन्य सामग्रीले दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । चालक उदयपुरगढी १ का भीमबहादुर तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ वैशाख २०७८ ०९:४४ बुधबार

उदयपुर प्रहरी बोलेरो दुर्घटना