२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

टिपर नियन्त्रणमा लिन ९ सेल अश्रुग्याँस प्रहार, ३ प्रहरी घाइते

मकवानपुर– मोटरसाइकललाई ठक्कर दिएर १ जनाको मृत्यु भएपछि टिपर नियन्त्रणमा लिने क्रममा हेटौंडा उपमहानगरपालिका १७ गैरीगाउँमा प्रहरीले ९ सेल अश्रुग्याँस प्रहार गरेको छ। प्रहरीमाथि आक्रमण गरेको भन्दै प्रहरीले तरुण दल हेटौंडा नगर अध्यक्ष सुनिल गिरीसहित ३ जनालाई पक्राउ समेत गरेको छ।

कान्तिलोकपथ अवरुद्ध गरि स्थानीयबासीले आइतबार दिउँसो १२ बजेदेखि टिपर नियन्त्रणमा लिएका थिए। बल प्रयोग गरेर प्रहरीले सोमबार टिपर लैजान खोजेपछि स्थानीबासीसँग झडप भएको छ। स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले ९ सेल अश्रुग्याँस प्रयोग गरेर टिपरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापाले बताए।

झडपमा ३ जना प्रहरी समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले बताए। उनका अनुसार घाइते प्रहरीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। यता, क्षतिपूर्ती र कारबाहीको माग गर्दै मृतकका आफन्तहरुले शव बुझ्न मानेका छैनन्।

प्रहरी निरीक्षक थापाकै कमाण्डमा खटिएका ५० जना बढी प्रहरीले ठक्कर दिने टिपर जिल्ला प्रहरी कार्यालयमा पु¥याएको छ। प्रहरीले बल प्रयोग गरेर सोमबार अपरान्ह ४ बजे स्थानीय सडकमा यातायात सुचारु समेत गराएको छ। 

पीडित परिवारलाई उचित राहत, टिपर चालकलाई कारबाही, घाइतेको उपचार लगायतका माग गर्दै स्थानीयबासीले सडक समेत अवरुद्ध गरेका थिए। सोमबार दिनभर जिल्ला प्रहरी कार्यालयमा प्रहरी र स्थानीयबीच वार्ता भएपनि सहमति नजुटेपछि स्थानीयबासी आन्दोलित भएका थिए।

आइतबार हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको थियो भने एक जना गम्भीर घाइते भएका छन्। खाली टिपरले ठक्कर दिँदा हेटौंडा १७ का मोटरसाइकल चालक २६ वर्षका टंक न्यौपानेको मृत्यु भएको थियो भने मोटरसाइकलमै सवार टंककी बहिनी २१ वर्षिया गीता न्यौपाने गम्भीर घाइते भएकी थिईन्। उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

टिपरका चालक मनहरी गाउँपालिका १ का ३३ बर्षिय एकराज घलानलाई आइतबारै नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हेटौंडाबाट गैरीगाउँस्थित शिवम् सिमेन्ट फ्याक्ट्रीतर्फ जाँदै गरेको बा ४२ प ७०७० नम्बरको मोटरसाइकललाई सोही दिशा दिशातर्फ गइरहेको ना ७ ख ७३२३ नम्बरको खाली टिपरले ठक्कर दिँदा दुर्घटना भएको थियाे।

प्रकाशित: २१ श्रावण २०७५ १३:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App