२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

बडीबिल्डर चौधरीलाई सम्मानको ओईरो

बडीबिल्डर चौधरी (बायाँ) लाई सम्मान गर्दै मेयर बस्नेत र हाकिम सिग्देल । तस्विरः महेश्वर

शारीरिक सुसंगठन (बडीबिल्डिङ) मा एकपछि अर्को सफलता पाउँदै आएका गाईघाटका दिलिप चौधरीलाई पछिल्लो पटक छिमेकी राष्ट्र भारतको चर्चित अवार्ड ‘नरेश सूर्य क्लासिक’ विजेताको उपाधि हात परेको छ। यो सफलतासँगै उनलाई सम्मानको ओईरो लाग्न थालेको छ।  

भारतमा चर्चित मानिएको अन्तरास्ट्रियस्तरको नरेश सूर्य क्लासिक बडीबिल्डिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण पदक जितेपछि उनलाई सम्मान थामि नसक्नु भईरहेको हो। त्रियुगा नगरपालिका १२ सुम्निमा चोकका स्थायी बासिन्दा चौधरीले गत शनिबार काडमाडौँमा सम्पन्न भारत र नेपालका १ सय ६० बढी सहभागी प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेका थिए। उनले १ सय ७० सेन्टिमिटरमुनिका खेलाडीमध्ये ‘क्लासिक फिजिक’ श्रेणीमा स्वर्ण पदक जित्न सफलल भए भने ६५ केजी तौल समूह अन्तर्गत बडी बिल्डिङ स्पर्धामा पनि दोस्रो स्थान ल्याए।  

यसअघि झापामा भएको प्रदेशस्तरीय प्रतियोगिता जितेको खुसी मनाईनसक्दै अर्को सफलता पाएका चौधरीलाई गृह जिल्लामा स्थानीय सरकारदेखि खेलकुद क्षेत्रसँग सम्बन्धित हुँदै खेलप्रेमीहरुबाट भव्य स्वागत र बधाई सम्मान हुने क्रम चलिरहेको छ। प्रतियोगिता जितेर आउने बित्तिकै उदयपुर शारीरिक सुसंगठन समितिबाट सम्मान र बधाई पाएका चौधरीलाई बुधवार त्रियुगा नगरपालिकाले भव्य स्वागत र बधाई दिदै नगदसहित पुरस्कृत गरेको छ।  

नगरप्रमुख बसन्तकुमार बस्नेतले आफ्नै कार्यकक्षामा कार्यक्रम आयोजना गरी चौधरीलाई नगद पुरस्कार र सम्मानसहित बधाई दिए। त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको कार्यक्रममा मेयर बस्नेत र प्रमुख प्रशासकीय अधिकृत विष्णुभक्त सिग्देलले चौधरीलाई नगद २१ हजार र सम्मानपत्र प्रदान गर्दै बधाई दिए। सो अवसरमा बोल्दै मेयर बस्नेतले ‘नरेश सूर्य क्लासिक’जस्तो पुरस्कार प्राप्त गरेर सिंगा देशको इज्जत राखेको भन्दै यस्ता व्यक्ति त्रियुगा नगरपालिकाको लागि गौरव भएको  प्रशंसा गरे।  

बडी बिल्डिङको क्षेत्रमा त्रियुगा नगरपालिकाको तर्फबाट राष्ट्रकै इज्जत र शान कायम गरेको भन्दै बस्नेतले चौधरीजस्ता खेलाडीको सुरक्षा र विकास गर्नु कर्तव्य र दायित्व भएको बताए । चौधरीको बाँकी खेलजीवनलाई अझ सशक्त र सफल बनाईराख्न त्रियुगा नगरपालिका सँधै तयार रहेको भन्दै मेयर बस्नेतले खेल जीवनलाई निरन्तरता दिदै अघि बढिरहन सुझाए।

कार्यक्रममा नगर खेलकुद विकास समितिका सचिव किरण कार्कीले नगरभित्रका खेलाडीहरुलाई प्रोत्साहन गर्न चालु वर्षदेखि ‘नगर वर्ष खेलाडी’ घोषणा गरेर पुरस्कृत गर्दै लाने योजना सुनाए। उनका अनुसार वर्षभरीमा त्रियुगा नगरपालिकाका खेलाडीहरुको बिबरण र प्रगति संकलन गरी उत्कृष्ट पुरुष १ र उत्कृष्ट महिला १ जना खेलाडीलाई नगर वर्ष खेलाडी छनौट गरी नगदसहित सम्मान गर्दै लाने योजना समितिले बनाएको छ।  

प्रकाशित: ७ भाद्र २०८० ०९:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App