३ असार २०८१ सोमबार
image/svg+xml
समाज

हिउँमा भेंडीगोठ

पशुपालनमध्ये भेंडापालनलाई अप्ठेरो मानिन्छ। कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला जुम्ला,मुगु ,कालिकोट,डोल्पा र हुम्लालगायतका थुप्रै बासिन्दाका लागि भेंडापालन आर्थिक उपार्जनको भरपर्दो स्रोत हो।यो कठिन व्यवसायमा पनि थप कठिनाइ हिउँदमा थपिन्छ, जब गोठ क्षेत्रमा बाक्लो हिउँ पर्न थाल्छ।

खर्सुका बाक्ला जंगल छेउका पारिलो पाखामा भुइँतले गोठ बनाइएका हुन्छन्। पिउने पानीको नजिकै स्रोत छ कि छैन भन्ने पनि हेरिन्छ। कहीँकतै भने खर्सुको जंगलबीचमै रहेका ओडारलाई बारेर गोठ बनाइएको हुन्छ। यस्ता भेंडीगोठमा कुकुर मुख्य पहरेदार हुन्छन्। गोठ आसपास केही सुइँको पाउनै हुँदैन, शंकास्पद भए कुकुर भुक्नु अनि त्यसको चालमा गोठालाहरू सतर्क भएर कोकोहोलो कराउनुरचिच्याउनु सामान्य दिनचर्या हुन्छ। कुकुरबारे गोठालाहरूबीच एउटा भनाइ नै छ– कुकुरबिनाको भेंडीगोठ र गहना लुटिएकी नारी उस्तै–उस्तै हन्।

भेंडाहरू हिउँदका बेला अत्यन्त अल्छी र लाटो स्वभावका हुन्छन्। राम्रो स्याहार पुगेन भने भेंडा बेस्सरी दुब्लाउँछन्। स्थानीय समुदायमा सामुदायिक र निजी वन दर्ता गर्ने होड चल्यो, तब भेंडापालन झन्झन् घेराबन्दीमा पर्‍यो।अहिले पनि १ रुखको समुदायको तिथि अनुसार रुपैयाँ तिरेर खर्सु काट्ने गरिन्छ। भेडा पारिलो पाखाको घाँस कदापि रुचाउन्नन्। हिउँ पर्दा ठूलै सास्ती खेप्नुपर्छ। घुँडाघँडासम्म हिउँ पर्नु सामान्य हो। यस्तोमा जमिनमा घाँस हुँदैन। अनि खर्सुको डालाको विकल्पै छैन। रूख चढ्न नसक्ने गोठालोलाई गोठालो नै मानिँदैन र भेंडापालन पेसा उसका लागि सम्भव मानिँदैन। एउटा असली तथा योग्य गोठालो बन्न रूख चढ्न सक्ने मात्र होइन, भरपूर मात्रामा खर्सुको डाला काट्न सक्नुपर्छ। प्रायजसो गोठालाहरू हिउँद याममा कसले कति डाला काट्न सक्यो र भेंडालाई पेट अघाउँजी ख्वाएर पुष्ट बनायो भनेर दाँजिन्छन्। जुन भेडा बथान खर्सुको डालामा भरपूर आश्रित रह्यो त्यही बगालका भेंडा बढी पुष्टिला र चम्किला हुन्छन्।

हिउँ पर्दा छिप्पल रूख चढ्ने हिम्मत हराउँछ। जस्तोसुकै ‘मैं हुँ’ भन्ने गोठालाहरू पनि खर्सुका पोथ्रापोथ्री काट्नतर्फ लाग्छन्। खर्सु  लेकाली रूख हो। हिमाली उच्च भागमा खर्सु बाक्लो पाइन्छ। दक्षिणी मोहडा भएका पहाडहरूमा ३ हजारदेखि माथि तथा उत्तरी मोहडा भएका पहाडमा ३ हजारदेखि तल २ हजार मिटर माथिसम्म खर्सु विशेष फैलन्छ। हिउँद याममा खर्सुको रूख चढेर डाला काट्नुको दार्शनिक पक्ष अनौठो छ। खर्सुको रूखमा चढेर डाला काट्दा फुर्को अनिवार्य राख्ने चलन छ। यसको आफ्नै सांस्कृतिक तथा वैज्ञानिक महत्त्व छ। फुर्को राख्नाले आफ्नो चिनो दिगो रहन्छ भन्ने उनीहरूको विश्वास छ।

ज्येष्ठ गोठालाहरू जीवनको अति स्मरणीय क्षणको ठोस चिनारीको प्रतीकको रूपमा फुर्कोलाई मान्छन्। युवा जोसका बेला पालिएका फुर्काहरू जीवनको अन्तिम क्षणतिर देख्न पाउँदा उनीहरू आफूलाई औधि भाग्यमानी मात्र ठान्दैनन्, विगत सम्झेर आफ्नो जिन्दगी गुजार्नुको अर्थ कहलिन्छन्। र, उनीहरू बाँच्नका लागि सघर्षको रहस्य केलाउँछन्। फुर्को राख्नाले रूखको उचाइ अझै बढ्ने, मूल डाँठ अझ सशक्त बन्ने, रूख अझ स्वस्थ बन्न बल पुग्ने, रूखको स्वच्छतामा दिगोपन आउने तर्कहरू गोठालोहरू सुझाउँछन्।

 

प्रकाशित: १४ माघ २०७९ ०८:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App