११ कार्तिक २०८१ आइतबार
image/svg+xml
राजनीति

मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८१ को मस्यौदा तयारः मन्त्री साह

.

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८१ को मस्यौदा तयार भइसकेको घोषणा गरेका छन्।

आइतबार सिंहदरबारमा आयोजित मन्त्रालयले सय दिनमा गरेको कामको समीक्षा कार्यक्रममा मन्त्री साहले बालबालिका सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न मस्यौदा तयार भइरहेको र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ संशोधन विधेयक मन्त्रीपरिषद्मा पेश गरिसकिएको जानकारी दिए।

साथै, उनले हिंसा पीडित महिलाहरूका लागि भक्तपुरको सूर्यविनायक नगरपालिकामा मंगला साहना दीर्घकालीन पुनःस्थापना गृह निर्माणको काम छिट्टै सुरु हुने बताउँदै करिब ३० करोड लागतमा निर्माण प्रक्रिया अघि बढ्ने जानकारी दिए।

मन्त्रालयका अनुसार महिला उत्थान परियोजना अन्तर्गत बन्ने यो गृहले लैगिक हिंसामा परेका पीडितलाई दीर्घकालीन आश्रय र सेवा प्रदान गर्नेछ।

मन्त्री साहले भने, "बालबालिका सम्बन्धी ऐन संशोधनको तयारी भइरहेको छ भने मानव बेचबिखनविरुद्धको नीति मस्यौदा समिति गठन गरेर तयार गरिएको छ। सूर्यविनायकमा बन्ने पुनःस्थापना गृहका लागि जग्गा विवाद समाधान भइसकेको छ, र करिब ३० करोड लागतमा पुनःस्थापना केन्द्र निर्माण हुनेछ।"

सडक बालबालिकाको व्यवस्थापनमा पनि सरकारले उल्लेख्य प्रगति गरेको उनले दाबी गरे।

प्रकाशित: ११ कार्तिक २०८१ १६:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App