२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेशको बजेट ३३ अर्ब ४२ करोड ७२ लाख, चालु बजेट भन्दा साढे अर्ब कम

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करीब साढे ३३ अर्बको बजेट घोषणा गरेको छ।

गण्डकी प्रदेश सरकारका तर्फबाट अर्थमन्त्री जितप्रकाश आलेले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट घोषणा गरेका हुन्।

यो चालु वर्षको भन्दा २ अर्ब ४८ करोड १८ लाखले कमी हो। गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो।

गण्डकी प्रदेश सरकारले चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार रुपैयाँ विनियोजन गरेको छ । जुन कुल विनियोजन बजेटको ३८.१ प्रतिशत हो। त्यस्तै, पुँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार रुपैयाँ विनियोजन गरेको छ। जुन कुल बजेटको ६०.४ प्रतिशत हो।

यसैगरी वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ विनियोजन गरेको छ। जुन कुल बजेटको १.५ प्रतिशत हो। गण्डकी प्रदेश सरकारले १.५ प्रतिशत सञ्चिती कोषमाथि व्ययभार हुनेगरी बजेट ल्याएको छ।

बजेटमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान ७ अर्ब ६२ करोड २५ लाख र सशर्त अनुदान ४ अर्ब ९४ करोड १५ लाख हुने उल्लेख छ।  

यसैगरी राजस्व बाँडफाँटबाट प्राप्त हुने ९ अर्ब ५ करोड ३२ लाख, समपूरक अनुदान ८४ करोड, विशेष अनुदान ७० करोड, रोयल्टी बापत प्राप्‍त हुने ४० करोड ८ लाख १६ हजार, आन्तरिक राजस्वबाट ५ अर्ब १६ करोड ९० लाख ८४ हजार प्राप्त हुने अनुमान गरिएको बजेटमा उल्लेख छ।

प्रकाशित: १ असार २०८० १२:०० शुक्रबार

गण्डकी प्रदेश