६ वैशाख २०८१ बिहीबार
राजनीति

ताप्लेजुङमा प्रतिनिधि र प्रदेशसभा दुबैको समानुपातिक मतमा एमाले पहिलो

ताप्लेजुङमा प्रतिनिधिसभा र प्रदेशसभाको दुबैको समानुपातिकतर्फ एमालेले बढी मत ल्याएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बिहान समानुपातिकतर्फको सबै मत परिणाम सार्वजनिक गरेको हो।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत शम्भुप्रसाद रेग्मीका अनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ ४८ हजार ६ सय ९२ मत खसेको थियो। त्यसमध्ये एमालेले १९ हजार ६ सय ४ मत पाएको छ। यस्तै काँग्रेसले १५ हजार ३ सय ७५, माओवादी केन्द्रले ५ हजार १ सय ६२,नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले १ हजार ५ सय ४५, गोलाकार भित्रको घण्टीले ९ सय ७८,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ९ सय ३२,जनता समाजवादी पार्टीले ७ सय २२,राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ सय ३७,राष्ट्रिय जनमुक्ति पार्टीले ३ सय ३० र मंगोल नेस्नल अर्गनाईजेसनले १ सय २५ मत पाएको छ।  

मत नै नपाउने दलको संख्या पनि छ भने १ मत पाउने दलको संख्या पनि रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यता दुईवटा प्रदेश निर्वाचन क्षेत्र रहेको यहाँ प्रदेशसभातर्फ दुबै निर्वाचन क्षेत्रको एकमुष्ट रुपमा नतिजा सार्वजनिक गरिएको छ।  

प्रदेशसभामा एमालेले १८ हजार ५ सय ६९ मत पाएको छ भने काँग्रेसले १३ हजार ७ सय ७४ मत पाएको छ। माओवादी केन्द्रले ५ हजार ९ सय ९८ मत पाउँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रतिनिधिसभा भन्दा झण्डै दुईगुणा बढी मत पाएको छ। उसले प्रदेशसभामा १ हजार ८ सय १४ मत पाएको छ। प्रदेशसभामा एकिकृत समाजवादीले लोकतान्त्रिक राष्ट्रिय मञ्चभन्दा पछिको मत पाएको छ। उसले १ हजार ५ सय ५६ मत पाएको छ। तर, यो प्रतिनिधिसभामा भन्दा ११ मत बढी हो। यस्तै राप्रपाले ९ सय २५ मत ल्याएको छ।  

प्रदेशसभामा घण्टी चिन्ह नभएकोले त्यसको फाइदा स्वरुप राप्रपाको प्राप्त मतले जनता समाजवादी पार्टीको प्राप्त मतलाई केहि तल पारेको छ। जसपाले प्रदेशसभामा ८ सय ६५ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस्तै राष्ट्रिय जनमुक्ति पार्टीले ४ सय ६९ मत,लौरो चुनाव चिन्हको हाम्रो नेपाल पार्टीले १ सय ३७ मत,आमूल परिवर्तन मसिहा पार्टीले १ सय ३६ मत र मंगोल नेस्नल अर्गनाईजेसनले १ सय ३२ मत ल्याएको छ।  

समानुपातिकतर्फ साढे ६ प्रतिशत सम्म मत बदर  

प्रदेशसभासभाको समानुपातिकतर्फ साढे ६ प्रतिशत बढी मदर बदर हुँदा प्रतिनिधिसभाको समानुपातिकतर्फ भने ५ प्रतिशत भन्दा कम मत बदर भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कूल ४८ हजार ८१ मत खसेकोमा ३ हजार १ सय ४२ मत बदर भई ४४ हजार ९ सय ३९ मत सदर भएको छ।  

यस्तै प्रतिनिधिसभामा ४८ हजार ६ सय ९२ मत खसेकोमा २ हजार ४ सय २३ मत बदर भई ४६ हजार २ सय ६९ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ अस्थायी मतदाता समेतले मतदान गरेका थिए। अस्थायी मतदाताका लागि यहाँ जिल्ला कारागार र तोक्मेस्थित शनिबारे हटिया परिसरलाई मतदानस्थल कायम गरिएको थियो भने खटिइजाने अस्थायी मतदाताले सम्बन्धित मतदान केन्द्रमै मतदान गरेका थिए।  

प्रकाशित: १० मंसिर २०७९ ०८:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App