२ असार २०८१ आइतबार
image/svg+xml
विचार

विश्वव्यापी बन्दै स्ट्रार्टअप संस्कृति

डिजिटल प्लेटफर्मले विश्वमा नवीनताका लागि ऊर्वर पृष्ठभूमि तयार गरेको छ। यसले हेल्सिन्कीदेखि अबुजासम्म द्रुत गतिमा फर्महरू विकास गरिरहेको छ। व्यापारका भौगोलिक सीमिततालाई इन्टरनेटले घटाएको छ। उता, अत्यधिक अन्तर्क्रियात्मक स्थानीय नेटवर्क पनि व्यावसायिक परिस्थिकीय प्रणालीका अन्तर्भाग बन्न पुगेका छन्।

मिलान

कुनै बेला द्रुत गतिमा विकास भएका कम्पनी र स्ट्रार्टअपका लागि सिलिकन भ्याली र सियाटल प्रसिद्ध थिए। तर अहिले त्यस्तो छैन। हाल अमेरिकाका अस्टिन, मियामी, न्युयोर्क सिटी, वासिङ्गटन डिसीलगायतका कैयन् सहर नवीनताका लागि हटस्पट बनेका छन्। पछिल्ला वर्षमा, अमर्स्डम, बर्लिन, हेल्सिन्की, पेरिस र स्टकहोम लगायत युरोपका अन्य स्थानमा पनि यस्ता केन्द्रको विकास भएको छ। आर्थिक रूपमा समृद्ध पश्चिमा राष्ट्रमा मात्र होइन, स्टार्टअप संस्कृति विश्वव्यापी बनेको छ।

नवीन आविष्कारको सूचीमा चीन सबैभन्दा अगाडि आउँछ। त्यसपछि भारत रहेको छ तर १ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएका कम्पनी ( युनिकर्न्स) विश्वका विभिन्न राष्ट्रमा फैलिएका छन्। यस्ता कम्पनीको उपस्थिति उदीयमान अर्थतन्त्र भएका र ब्राजिल, इन्डोनेसिया, इजरायल, जापान, नाइजेरिया, सिंगापुर र दक्षिण कोरिया जस्ता भर्खरै समृद्ध अर्थतन्त्रमा पाइला टेकेको राष्ट्रमा अधिक देखिएको छ।

यस प्रकारको कम्पनीको ठूलो हिस्सा वित्तीय प्रविधिसँग सम्बन्धित कम्पनीले लिएका छन्। इ–कमर्स, इन्टरनेट सफ्टवेयर तथा सेवा, हेल्थ केयर, प्रविधिगत शिक्षा, कृत्रिम बौद्धिकता, साइबर सुरक्षा, आपूर्ति शृंखलालाई आवश्यक सरसामान जस्ता क्षेत्र पनि यो सूचीमा पर्छन्। यी सबै कम्पनीमा एउटा विषय साझा छ, त्यो हो डिजिटल इकोनोमी। तर यो विषय यतिमा मात्र सीमित छैन। स्वच्छ ऊर्जातर्फको रूपान्तरण तथा चक्रीय अर्थशास्त्रमा पनि यस्ता कम्पनी अगाडि छन्।

उदाहरणका लागि पेरिसमा रहेको ब्याक मार्केट कम्पनीको कुल सम्पत्ति ५.७ अर्ब अमेरिकी डलर पुगेको छ। इलेक्ट्रोनिक्स सरसामानको पुन:प्रयोग (रिसाइक्लिङ) तथा पुनर्सज्जा गर्ने यो कम्पनीले इलेक्ट्रोनिकजन्य फोहोरको व्यवस्थापन गर्दै आएको छ। यसैगरी बायोमेडिकल साइन्समा पनि नवीनताले फड्को मारेको पाइन्छ। यस्ता आविष्कारको उपयोग औषधि, स्वास्थ्य, कृषि तथा सेन्थेटिक बायोलोजीको क्षेत्रमा अत्यधिक देखिन्छ।

डिजिटल डोम्यानले विश्वमा नवीनताका लागि अत्यधिक सहयोग गरेको छ। मोबाइल नेटवर्कको तीव्र विस्तार यसको एउटा उदाहरण हो। विश्वमा हाल ६.६ अर्ब स्मार्टफोन प्रयोगमा छन्। इन्टरनेटमा उपलब्ध डिजिटल सेवाको बजार विश्वका ८४ प्रतिशत जनसंख्यासम्म पुगेको छ।

यस सन्दर्भमा अर्काे महत्त्वपूर्ण पक्ष के हो भने निजी तथा सार्वजनिक गरी दुवैथरीका लगानीले इन्टरनेटको गुणस्तर र गति बढेको छ। यसले इन्टरनेटमा आधारित सेवाको मूल्य घटेको छ। मैले गत वर्ष मोबाइल इन्टरनेट र मोबाइल सेवाको क्षेत्रमा भारतले कसरी फड्को मारेको छ भन्ने विषयमा लेखेको थिएँ। भारतमा रहेको प्रविधिगत सर्वसुलभताले नयाँ आर्थिक परिस्थिकीय प्रणालीको सिर्जना गरेको र यही पृष्ठभूमिमा नवीनता, व्यावसायिक गतिविधि र उपभोक्ता सेवाको विस्तार सम्भव भएको देखिएको छ।

बजार प्रवेश गर्न यस्ताखाले कम्पनीलाई उतिसारो कठिन हुँदैन। पुँजीको ठूलो आवश्यकता नपर्ने र सिर्जनशील जनशक्तिको उपलब्धताले सहयोग गरेको देखिन्छ। डिजिटल सेवा दिन व्यवसाय सञ्चालन गर्दा सफ्टवेयरको विकासमा बढी खर्च हुने गर्दछ। क्लाउड कम्युटिङ सेवाको उपलब्धताले ठूलाखाले सूचना प्रविधिमा आधारित संरचनाको आवश्यकता पर्दैन। त्यसलै यस्ता सेवाको मूल्य उपभोक्तासम्म पुग्दा त्यति महँगो हुँदैन। यसैगरी व्यवसायको विस्तार गर्न पनि त्यति कठीन र महँगो हुँदैन।

इन्टरनेटमा आधारित व्यवसायका लागि बजार पाउन कुनै कठिनाइ छैन र यो बजार ठूलो पनि छ। सफ्टवेयरको कुरा गर्ने हो भने त यसको माग विश्वव्यापी छ। चीनले गरेको एक आकलनअनुसार इ–कमर्स प्लेटफर्ममा क्रेता र बिक्रेताबीचको सरदर दूरी १ हजार किलोमिटर रहेको छ जब कि परम्परागत खुद्रा तथा सेवा व्यवसायमा यो दूरी केबल ५ किलोमिटर देखिएको छ। उपभोक्ताको घरआँगनसम्म पहिलो पटक पुग्नेमात्र होइन, इकमर्स, प्रविधिगत शिक्षा जस्ता इन्टरनेटमा आधारित व्यवसायहरूले उनीहरूलाई सेवाको निरन्तरता सुनिश्चित गरेका छन्।

विकासोन्मुख अर्थतन्त्रमा डिजिटल संरचना निर्माणका लागि विभिन्न सुविधा उपलब्ध गराइएको छ। मोबाइल इन्टरनेटको विस्तार सुदृढ भएकाले निजी क्षेत्रले नाफामूलक सेवा दिन सकेका छन् र यसले समग्ररूपमा समावेशी आर्थिक विकासलाई सहयोग गरेको छ।

त्यसो त, इन्टरनेटले भौगोलिक सीमालाई हटाए तापनि तीव्र हिसाबले कम्पनीको विकास हुन त्यति सजिलो छैन। यस्ता कम्पनी यसअघिको तुलनामा धेरै राष्ट्रमा देखिए पनि अधिकांश खास व्यावसायिक हटस्पटमा सीमित छन्। उदाहरणका लागि मार्च २२ सम्मको तथ्यांकले के देखाउँछ भने जर्मनीका २४ वटा युनिकर्न्समध्ये १७ वटा बर्लिनमा र ५ वटा म्युनिखमा छन्। यसैगरी  फ्रान्सका  २४ वटा प्रमुख युनिकन्र्समध्ये १९ वटा पेरिसमा छन् भने एउटा पेरिस नजिकै छ।

यस प्रकारको संकेन्द्रणले के देखाउँछ भने स्थानीय व्यावसायिक परिस्थिकीय प्रणालीले व्यावसायिक गतिविधि, भेन्चर क्यापिटल उद्योग, न्यायसंगत आर्थिक वृद्धि, कानुनी तथा भर्ना सेवा लगायत प्रभावकारी नियमन संरचनालाई सघाउ पुर्‍याउन आवश्यक छ। यसैगरी हार्ड र सफ्ट गरी दुवै थरी संरचनाको विकासले नवीनतामा आधारित व्यवसायको प्रभावकारिता र गतिशीलतालाई सहयोग पुग्दछ। यस्ता संरचना विकासका लागि केही समय लाग्न सक्छ। आफ्नो अनुभव, क्षमता र विश्वव्यापी उपस्थितिका कारण बहुराष्ट्रिय कम्पनीले यस्ताखाले क्षेत्रको विकासमा सहयोग पुर्‍याउन सक्छन्।

तर सबै देशमा एकै किसिमको व्यापारिक मोडलले काम गर्दैन किनभने अवसरहरू देशअनुसार फरक हुन्छन्। स्थानीय माग, समस्या समाधान गर्दा यस्ता फर्मले स्थानीय प्रतिभाको साथ लिनुपर्दछ। यस्ता प्रतिभालाई कम्पनीको संरचना र संस्कृतिमा एकीकृत गर्न आवश्यक हुन्छ। यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने स्थानीय नेटवर्क अत्यन्त अन्तर्क्रियात्मक हुन्छन्। यी भर्चुअल पनि नहुन सक्छन् तर व्यावसायिक परिस्थिकीय प्रणालीको अन्तर्भागमा रहेका हुन्छन्।

यसरी नवीन विचारलाई संभाव्य व्यापारमा रूपान्तरण गर्न संभव हुन्छ। जोखिम लिने लागनीकर्ता भन्दा साना व्यवसायलाई लगानी गर्ने अनुभवी लगानीकर्ता (एन्जेल इन्भेस्टर) यस्ता खाले नेटवर्कका लागि महत्त्वपूर्ण अंग मानिन्छन्। विश्वविद्यालयले यो सन्दर्भमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। विश्वविद्यालय खुला बैठकका लागि उपयुक्त स्थान रहन्छन् भने संभावित युवा व्यवसायीको स्रोत पनि विश्वविद्यालय हुन सक्छन्।

समग्रमा, वर्तमान डिजिटल युगमा सबै देशले नवीनतामा आधारित व्यवसायका लागि हबको विकासका लागि प्रयास गर्नुपर्छ। तर, सफलताका लागि सम्बन्धित देशले मानव संसाधन, डिजिटल नेटवर्कका लागि आवश्यक भौतिक संरचना, उपयुक्त नियमनकारी वातावरण र वित्तीय सहयोगका लागि उपयुक्त नीति तर्जुमा गर्न आवश्यक हुन्छ। यी सबै प्रयास गर्दा नवीनताले प्रोत्साहन पाउने गरी अनुकूल स्थानीय व्यावसायिक परिस्थितिकीय प्रणालीको विकास गर्नमा जोड दिन आवश्यक छ। प्रविधिगत व्यावसायिकता विश्वव्यापी त बनेको छ तर यसको धड्कन स्थानीय छ।

(स्पेन्स अर्थशास्त्र नोबेल पुरस्कार विजेता। प्रोजेक्ट सिन्डिकेटबाट)

प्रकाशित: १८ चैत्र २०७८ ०१:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App