२४ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सुकीविरूद्धको मुद्दामा अन्तिम बहस

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले जेलमा रहेकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको रिहाइको माग गरेपछि म्यान्मारको अदालतले सोमबार बाँकी अन्तिम मुद्दाको सुनुवाई गर्ने अपेक्षा गरिएको छ।

सन् २०२१ को फेब्रुअरीमा सेनाले सुकीको सरकार अपदस्थ गरेपछि सुकी जेलमा रहँदै आएकी छिन्।

नोबेल पुरस्कार विजेता ७७ वर्षीय सुकीलाई भ्रष्टाचारदेखि अवैध रूपमा वाकीटकी आयात गर्ने र सरकारी गोपनीयता सम्बन्धी ऐनको उल्लङ्घन गरेको १४ वटा अभियोगमा यसअघि नै दोषी ठहर गरिएको छ।

अधिकारवादी समूहहरूले यो मुद्दालाई ढोंगको संज्ञा दिएका छन् र बुधबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले म्यान्मारको ‘कू’ पछिको अवस्थाबारे आफ्नो पहिलो प्रस्तावमा सुकीलाई रिहा गर्न जुन्तालाई आग्रह गरेको छ।

सुरक्षा परिषद्का स्थायी सदस्य र जुन्टाका निकट सहयोगी चीन र रूसले उक्त शब्दावलीमा संशोधन पछि भिटो प्रयोग नगर्ने निर्णय गरेपछि यो प्रस्तावले सापेक्षिक परिषद् एकताको क्षणलाई चिह्नित गरेको छ।

सुकीको कानुनी टोली र जुन्ताका वकीलले भ्रष्टाचारका बाँकी पाँच वटा अभियोगमा सोमबार अन्तिम बहस गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

'आजको बहसपछि फैसला सुनाइने छ,' स्रोतले भन्यो, यद्यपि, फैसला सुनाइने मिति भने तय भइसकेको छैन।

सुकीको यसअघिको मुद्दाको फैसला सामान्यतया अन्तिम बहसको केही दिनपछि आउने गरेको छ।

भ्रष्टाचारको अभियोगमा बढीमा १५ वर्ष जेल सजाय हुने व्यवस्था छ। यसअघिका भ्रष्टाचारका मुद्दामा अदालतले सुकीलाई तीन वर्षको जेल सजाय सुनाइसकेको छ।

सुकीले हाल राजधानी न्यापितको एक घेराबन्दी गरिएको घरभित्र कैदीका रूपमा दिन विताउँदै आएकी छिन्।

उनको मुद्दा त्यही चलिरहेको छ र उनलाई घरका सदस्य उनका सहयोगी कर्मचारी र उनका कुकुर ताइचिडोलाई भेट्न बञ्चित गरिएको छ।

‘कू’ पछि, उनी धेरै हदसम्म दृश्यबाट गायब भएकी छिन्। यदाकदा आउने तस्बीरहरू जुन्ताप्रति बफादार सञ्चारमाध्यममार्फत आउने फोटोहरूमा मात्र सिमित छन्।

केही स्थापित जातीय विद्रोही समूहहरूले सीमावर्ती क्षेत्रमा सेनासँग पुनः लडाईं सुरु गरेका छन् भने म्यानमारको अर्थतन्त्र धरासायी भएको छ।

सुकीको अहिंसाको कडा नीतिलाई बेवास्ता गर्ने दर्जनौं ‘पिपुल्स डिफेन्स फोर्सेज’ले पनि जुन्तासँग लड्नका लागि उदय भएको र यसको प्रभावकारिताले सेनालाई आश्चर्यचकित पारेको विश्लेषकहरूले बताएका छन्।

तल्लो स्तरका जुन्ता अधिकारीहरू वा ‘कू’ विरोधी लडाकूहरूको लगभग दैनिक हत्याहरू भइरहेको छ। हत्या, अपहरण र पक्राउका विवरणहरू अस्पष्ट छन् र प्रतिशोधहरू प्रायः चाँडै पछ्याइन्छ।

विश्लेषकहरूका अनुसार जुन्ताले अर्को वर्ष हुने निर्वाचनको तयारी गरिरहेको छ र सुकीलाई नजरबन्दमा सजायको केही समय बिताउन अनुमति दिन सक्छ। सन् २०२० को चुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी पार्टीले जितेको चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै सेनाले सुकीलाई अपदस्थ गरी आफूप्रति बफादार नेतृत्वमा सत्ताको बागडोर सम्हालेको थियो।

स्थानीय निगरानी समूहका अनुसार असहमतिविरुद्ध सेनाले गरेको कारबाहीमा दुई हजार ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

अधिकारवादी समूहहरूले सेनामाथि गैरन्यायिक हत्या गरेको र सर्वसाधारणमाथि हवाई आक्रमण गरेको आरोप लगाउँदै आएका छन्।पछिल्लो पटक जुन्ता सरकारले जारी गरेको रिपोर्टमा मृत्यु हुनेको सङ्ख्या चार हजारभन्दा बढी पुगेको छ।

प्रकाशित: ११ पुस २०७९ ०९:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App