२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

कटारी नगरको बजेट झण्डै ८४ करोड

कटारी नगरपालिका कार्यालय।

‘सुन्दर कटारी नगरको पहिचान, सुशासन र समृद्धि हाम्रो पहिचान’ भन्ने नाराका साथ उदयपुरको कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि झण्डै ८४ करोड रुपैयाँको अनुमानित बजेट पारित गरेको छ।

गत १० गते ‘११ औँ नगर सभा’मा प्रस्तुत ८३ करोड ८६ लाख ६८ हजार ५ सय रुपैयाँको अनुमानित वार्षिक आयव्यय २ दिनसम्म छलफल र बहस गर्दै नगर सभाले पारित गरेको हो।

आफ्नै सभाकक्षमा आयोजित नगर सभा अधिवेशनमा उपप्रमुख गीता खड्काले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटबारे नगर सभा सदस्यहरूले व्यापक छलफल र बहस गर्दै पारित गरेको प्रमुख प्रशासकीय अधिकृत अनिल किराँतीले बताए।

उनका अनुसार अनुमानित बजेटमा आगामी वर्ष नगरपालिकाले आन्तरिक आय ५ करोड ५५ लाख १८ हजार ५ सय गर्ने प्रक्षेपण गरिएको छ भने स्थानीय राजश्व बापत १ करोड ८७ लाख रुपैयाँ संकलन हुने अपेक्षा गरिएको छ।

अनुदानतर्फ संघीय सरकारबाट वित्तीय समानीकरण १० करोड ९७ लाख, सशर्त ४२ करोड ७४ लाख, राजश्व बाँडफाँड १५ करोड ६० लाख प्राप्त हुने प्रक्षेपण गर्दा संघबाटै आउने समपूरक अनुदान १ करोड ७५ लाख र विशेष अनुदान ७६ लाख आमदानी हुने विवरण बजेटमा उल्लेख छ।

त्यसैगरी प्रदेशतर्फको अनुदान समानीकरण ६६ लाख ३४ हजार, सशर्त ५२ लाख ६१ हजार, समपूरक १ करोड ३० लाख र प्रदेश राजश्व बाँडफाँड २ करोड १३ लाख ७६ हजार प्राप्त हुने प्रक्षेपण बजेटमा गरिएको छ।

कटारी नगरपालिकालाई संघ र प्रदेश सरकारले तोकेर पठाएको ४३ करोड २५ लाख ६१ हजार रुपैयाँलाई निर्देशित सिलिङभित्र रहेर विभिन्न शीर्षकमा विनियोजन गरिएको छ भने बाँकी ४० करोड ६१ लाख १७ हजार ५ सय रुपैयाँ विषयगत समितिलाई छुट्याइएको छ।

विषयगत समितितर्फ नगर सभाले सबभन्दा बढी बजेट सुशासन तथा संस्थागत विकासतर्फ छुट्याएको छ भने सबभन्दा थोरै वन, वातावरण र विपत व्यवस्थापनतर्फ विनियोजन गरेको छ।

सुशासन तथा संस्थागत विकासका लागि २६ करोड १९ लाख ६७ हजार ५ सय छु्ट्याएको नगर सभाले वन, वातावरण र विपत व्यवस्थापन समितिलाई ६४ लाख विनियोजन गरेको छ। त्यसैगरी आर्थिक समितिलाई १ करोड ४२ लाख, सामाजिक विकास समितिलाई ४ करोड ८७ लाख ५० हजार र भौतिक पूर्वाधार समितिलाई ७ करोड ४८ लाख विनियोजन गरेको छ।

उपप्रमुख खड्काले बजेटसँगै प्रस्तुत गरेको नगरपालिकाका ५ क्षेत्र र १५ उपक्षेत्रभित्र समेटिएका विभिन्न १ सय वटा नीति तथा कार्यक्रम पनि नगर सभाले पारित गरेको छ।

नीति कार्यक्रम र बजेट प्रस्तुत गर्ने सिलसिलामा चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको खर्च विवरणको यथार्थ समीक्षा पनि उपमेयर खड्काले गरेकी छिन्। जस अनुसार चालु वर्ष ३ करोड ८३ लाख ६० हजार आन्तरिक आमदानी गर्ने प्रक्षेपण गरिएकोमा जेठ मसान्तसम्म २ करोड ६८ लाख ३२ हजार ५ सय ५६ रुपैयाँ संकलन भइसकेको छ। नगरको गत वर्षको अल्या पनि ४ करोड ४१ लाख २० हजार ८ सय २८ रुपैयाँ रहेको समीक्षा पनि उनले गरेकी छिन्।

नगरपालिकाले गत जेठसम्म ५४ करोड २९ लाख २ हजार ३ सय ५१ खर्च गरिसकेको यथार्थ चित्रण उल्लेख रहेको समीक्षा विवरण अनुसार आन्तरिक स्रोत ३ करोड ७० लाख ९४ हजार ७ सय ८ रुपैयाँ २३ पैसा खर्च भएको छ।

संघीय सशर्त अनुदान ३० करोड ६ लाख ८ हजार १ सय १७ खर्च हुँदा समानीकरण ८ करोड ७६ लाख ७५ हजार २ सय ९९ रुपैयाँ खर्च भएको छ। त्यस्तै, राजश्व बाँडफाँड ९ करोड ३४ लाख २० हजार ९ सय ७७ र समपूरक अनुदान ७२ लाख ८ हजार ३ सय ८८ रुपैयाँ खर्च भइसकेको छ। प्रदेशतर्फको अनुदान रकम सशर्त २२ लाख ९३ हजार १ सय ९१, समानीकरण ४० लाख २७ हजार ५ सय ८४, राजश्व बाँडफाँड ८३ लाख १४ हजार ८ सय ९५, समपूरक २१ लाख ९ हजार १ सय ९१ खर्च भएको समीक्षा विवरणमा उल्लेख छ।

प्रमुख प्रशासकीय अधिकृत किराँतीको सञ्चालनमा सम्पन्न नगर सभामा ५ वटै विषयगत समितिका संयोजकहरुले आआफ्नो विषयगत समितिको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

नगर सभा अध्यक्ष नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट तमाम कटारी नगरवासीको हकहित र विकास सहभागितामा केन्द्रित भएर जनप्रतिनिधि र कर्मचारी समूहले मेहनेतका साथ बनाएको बताए।

विगत वर्षहरुको अनुभव, बर्तमानको आवश्यकता र भविष्यको समग्र विकास खाकालाई मध्यनजर गर्दै निर्माण गरेको बजेट तथा नीति कार्यक्रमलाई थप छलफल, सुझाव र सल्लाहका साथ पारित गरिदिएकोमा सम्पूर्ण नगर सभा सदस्य, विषयगत समिति, शाखा प्रमुख कर्मचारीप्रति मेयर श्रेष्ठले आभार व्यक्त गरेका थिए।

प्रकाशित: १३ असार २०८० १२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App