त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसर, कीर्तिपुर। महाकवि देवकोटाको सालिकनेर पुगेपछि आँखा सालिकमा पुग्नु र गोडा टक्क रोकिनु एकै पटक भयो। पार्थिव मृत्युको छ दशक कटिसक्ता पनि महाकविका कविता उस्तै तन्नेरी छन् तर उनको सालिक भने बुढिएछ। शासनको ओज खुस्केपछि उग्लिएका शासकको बिरानो थुतुनोजस्तै भएछ हाम्रा महाकविको मुहार।
ठाउँठाउँमा रङ उप्किएर कालो कमिजमाथि छिर्के इस्टकोट लगाएजस्तो। धुलोको धुर्मैलो पछ्यौरी ओढेर सालिकका आँखाले नियालिरहेका रहेछन् विद्यार्थीका चहलपहल। आयोजक भाइहरू सुदर्शन राजभण्डारी र शिलाश तामाङले पाखुरा समातेर भित्र जाऊँ नभनेसम्म देवकोटाको सालिकबाट आँखा हटेन। आधा मन त्यही मुहारमा राखेर ‘कविता संवाद’का लागि हामी हलभित्र भित्रियौं। कार्यक्रम आयोजना अङ्ग्रेजी विभागमा स्नातकोत्तर गर्दै गरेका विद्यार्थीहरूको पुरानो संस्था ‘क्रियटिभ लिटररी फोरम’को थियो।
विचारका प्रश्नहरू
कविताको क्रम सकिएपछि प्रश्नको पालो पर्खिरहेका विद्यार्थीहरू बोल्न सुरु गरे। उनीहरू आफैं प्रश्न भएर देखा परिरहेका थिए। आज कविता कहाँ छ? के हो चिन्ता, चिन्तन र चैतन्य? साध्य, साधन र साधनाको अन्तर सम्बन्ध के हो? जीवनको रङ कवितामा कसरी प्रवेश गर्छ? अभिव्यक्ति सघन कसरी हुन्छ र त्यो सघनता भनेको के हो? तन्त्र, मन्त्र, यन्त्र परम्परा र साधनाको गहिराइ कवितामा आउन सक्छ, सक्तैन? लेखकमा आध्यात्मिक अन्तरचेत र भौतिक विकासको प्रभाव हुनुपर्छ, पर्दैन? पर्छ भने कति र कसरी? के हो समयबोध? श्रमिक, सीमान्तकृत जनता र साहित्यकार बीचको दुरी कति छ?
राजधानी सहर कोलाहलमै छ। धुलोले ढाकेकै छ र प्रदूषणको प्रकोप बढेकै छ। शिवपुरी खुइलिन थालिसक्यो र मातातीर्थमा पानीको मूल सुक्लाजस्तो छ तर यहाँ यसरी रसाएको छ कविता चिन्तनको मूल। आयोजना अङ्ग्रेजी विभागको, अङ्ग्रेजी पढ्ने विद्यार्थीहरूको तर बहस नेपाली कवितामाथि।
भाषा र भूमि
प्रश्नहरू लेखकभित्र आफै उठ्छन्, बर्खाको मूल आफै फुटेजस्तो। पुस्तान्तरले पनि धेरै कुरा सिकाउँछ। म सानो हुँदा हजुरबा देखेर डराएको अझै याद छ तर हजुरबा भैंसी दुहुन जानुअघि बाल्टी खत्रक्क पार्नुहुन्थ्यो। त्यो मेरा लागि ‘नाति आइज’भनेको संकेत थियो। म सानो कचौरा लिएर गोठमा पुग्थें। कचौराभरि दुध कचौरामै दुहेर दिनुहुन्थ्यो। म आँगनमा बसेर पिउँथें भर्खर दुहेको तातो दुध घटघटी। त्यो स्मृति आज आफैमा एउटा सुन्दर कविताजस्तै लाग्छ। बासँगको सङ्गतमा बाउन्न वर्ष बिते। आफ्नो जीवन अनुभूति आफैसँग छ। बाआमा मेला गएका बेला आफ्नो औंला चुसाएर पाँच भाइबहिनी काखैमा हुर्के-हुर्काएँ, दुई छोराछोरी आँखैमा हुर्के र अहिले नातिनीसमेत सात वर्षकी छिन्। यो छ पुस्तासँगकोे अनुभूति एकएक महाकाव्यजस्तो, पूर्ण संस्कृतिजस्तो। सम्झियो कि मनको कुनामा के उदाउँछ र जीवनबोधमा अर्कै उज्यालो आउँछ छोऊँछोऊँजस्तो गरी। शून्यजस्तो, निस्सारताजस्तो र त्यहीं मिसिएको आशाको किरणजस्तो र फेरि जीवनको सार खोज्ने प्रेरणाजस्तो। आज म कर्ण, धरा, अग्नि नाममा जे जे लेखिरहेको छु, यिनै पुस्तान्तरणको दृश्य र दृष्टिचेतनाको साक्षीभावमा आएको परिवर्तनको अंश लेखिरहेको छु।
लेखकीय कला, समसामयिकता र चिन्तनको पाटो अलग कुरा हो तर आजको प्रविधियुक्त ‘स्मार्ट पुस्ता’ले हजुरबा हजुरआमाको काखमा बसेर लोककथा सुन्न पायो, पाएन? गाउँखाने कथा, लोकोक्ति र उखानटुक्का परीक्षण गर्न पायो, पाएन? लोरी सुन्यो, सुनेन? यिनले जीवनका आयामहरूमा पानीको मात्र होइन, घामको पनि झरी पर्छ भनेर सिक्न पाए, पाएनन्? लाग्छ ः विश्वविद्यालय भनेको तोकिएको पाठ, तोकिएको समय, तोकिएको परीक्षा, तोकिएको प्रश्न, तोकिएको उत्तर र तोकिएको नतिजामात्रै हो त? होइन। होइन भने यो संस्कृतिपूर्ण तिर्खा मेट्ने मूलपानीको पोखरी विश्वविद्यालय किन हुन सक्तैन? हाम्रो विश्वविद्यालय, हाम्रा पाठ्यक्रम, हाम्रा पढाइ र हाम्रो प्राज्ञिक चेतना पूर्वोक्त सन्दर्भको सापेक्षतामा कहाँ होला? हे युवा हो ! भाषा जे पढ तर भूमि नपढी भूमिपुत्र हुन सजिलो छैन। नेपाल नामको भूमि पढेर कहिल्यै नसकिने विशाल दस्तावेज हो प्रकृतिको।
विभागीय अन्तर संवाद र सम्बन्ध
कीर्तिपुरको त्यो आँगनमा धेरै विषय, धेरै विभाग र धेरै प्राध्यापक छन् तर चिन्ता यत्ति हो, त्यहाँ विद्यार्थी घटे। प्राध्यापकहरू भन्छन्– हिजो विद्यार्थीले भर्ना पाउन मुस्किल थियो तर आज विभागले विद्यार्थी पाउनै मुस्किल छ। किन त? प्राध्यापकहरूकै उत्तर छ ः पढाइ नामको औपचारिक पढाइबाहेक सिर्जनात्मक आकर्षण छैन। अन्तर विभागीय सम्बन्ध, सिर्जनात्मक गतिविधि, आपसी अन्तक्रियात्मक सहकार्य र संयोजनमा कमी छ। हुँदै नभएको हो त? होइन। विभाग विभागबीच प्राध्यापकको सम्पर्क संवाद हुन्छ, त्यो साथीसाथीको तहमा। विद्यार्थीहरू सबै विभागका प्राध्यापकलाई नमस्कार सर भन्छन् तर त्यो नमस्कार गुरुचेलाको होइन पाठक लेखक सम्बन्धको प्रभाव हो। कतिपय प्राध्यापकको भनाइ छ, थेसिस गराउने बेला हामी यता विभागको उता र उता विभागको यता पनि गर्छौं। बाँकी त केही मिलिरहेको छैन। किन मिलेको छैन भने त्यहाँ केही राजनीति मिलेको छैन, केही हदसम्म भूगोल मिलेको छैन, केही पुस्तान्तरणको समस्या छ र सबभन्दा ठुलो समस्या प्राध्यापक मात्रै हुनु र लेखक-प्राध्यापक हुनुबीचको मनोवैज्ञानिक द्वन्द्व पनि छ। कतिपय कुरामा त गुरु गुड र चेला चिनी पनि छन्।
विश्वविद्यालय भनेको तोकिएको पाठ, तोकिएको समय, तोकिएको परीक्षा, तोकिएको प्रश्न, तोकिएको उत्तर र तोकिएको नतिजामात्रै हो त? होइन। होइन भने यो संस्कृतिपूर्ण तिर्खा मेट्ने मूलपानीको पोखरी विश्वविद्यालय किन हुन सक्तैन? हाम्रो विश्वविद्यालय, हाम्रा पाठ्यक्रम, हाम्रो पढाइ र हाम्रो प्राज्ञिक चेतना पूर्वोक्त सन्दर्भको सापेक्षतामा कहाँ होला?
दोहोरिएर कीर्तिपुर पुग्दा
‘क्रियटिभ लिटररी फोरम’ले आयोजना गरेको ‘प्रश्नहरूको कठघरा’मा दोस्रो पटक उभिएको हुँ। ‘धरा’को प्रकाशनपछि यसै गरी उभिएको थिएँ। ‘एकल जातीय सङ्घीयता बनाउने अभियान चलेका बेला बहुजातीय सङ्घीयताको वकालत गरेर धरा लेखेजस्तो लाग्यो नि। तिमी पहिचान विरोधी त होइनौ?’भन्ने प्रश्न मेरा लागि अनपेक्षित र गम्भीर थियो तर धराको बहस ‘राष्ट्रिय एकता र पहिचानको किताब’मा पुगेर टुङ्गियो। यस पटक मैदान मलाई नै दिए विद्यार्थीहरूले र भने– तिमी कसरी लेख्छौ र किन लेख्छौ? लौ भन।
तर प्रश्न यति मात्र थिएनन् र प्रश्न विद्यार्थीका मात्र पनि थिएनन्। अङ्ग्रेजी केन्द्रीय विभागका प्रमुख प्रा.डा. जीवलाल सापकोटा आफै बहसमा सरिक। यो लिटररी फोरम आफै कवि र कविता जन्माउने कारखानाजस्तो। यही फोरम हुँदै उठेका प्रज्वल अधिकारी, अमृता स्मृति, अविनाश भट्टराईलगायतका वर्तमानका चर्चित कविहरूको नामसूची लामै हुनसक्छ।
विद्यार्थीहरू त थिए नै र साथमा तिनका फरकफरक विभागका गुरुहरू महेश पौड्याल, केशव सिग्देल, डा. मणिभद्र गौतम, डा. बलबहादुर थापा, लक्ष्मण भट्ट, दीपक ढकाल, गोविन्द घिमिरेहरू पनि थिए। कविहरू महेश कार्की क्षितिज, सुदेश सत्याल र मनिष गौतम थिए र यही उपस्थिति आफैमा तीन पुस्ता थियो। प्रश्नभित्र सन्निहित कथ्यमा पुस्तान्तरको बोध अनुभूत हुन्थ्यो।
बहस भए र बहसमा प्रश्नहरू उठे। उत्तर त प्रतिध्वनित भइरहने छ भोलि पनि। यही आलेख पनि त एउटा उत्तर हो। महत्वपूर्ण कुरा त प्रश्नहरूको जस्तो दीर्घजीवन उत्तरको हुँदैन। उत्तरहरू सापेक्षित हुन्छन् र मर्छन् पनि तर प्रश्नहरू बाँचिरहन्छन्। तन्नेरीहरूका प्रश्नले जीवित राख्नेछ वर्तमान बाँचेको यो समय, समाज र संवेदना। प्रश्न र प्रश्न गर्ने, गर्न पाउने विधि बाँचिरहुन्जेल प्राज्ञिक संसार बाँचिरहनेछ।
अनुभूति र अभिव्यक्ति
विद्यार्थीहरूले साध्य, साधन र साधनाको प्रश्नलाई पछिसम्म उठाए, उठाइरहे। यी अन्तर सम्बन्धित पनि छन् र फरक पनि। जानु छ धनगढी। चढ्नु छ बस। साध्य धनगढी पुग्नु हो। साधन बस हो र काठमाडौंबाट धनगढी नपुगुन्जेल बाटामा आइपर्ने समस्याको समाधान र सुखदुःखको सहन साधना हो। बस चढ्नाको दुःखले कोही यात्रा नै गर्दैन भने त्यो उसको पलायन हो। तर ठुलो समस्याचाहिँ मान्छेहरू आफू कहाँ जाने भनेर ठम्याउनै सक्तैनन्। जानुपर्ने कुन गढी, कुन पुरी हो भन्ने अन्योलमै जीवन समाप्त पार्छन्। विश्वविद्यालय भनेका विद्यार्थीलाई त्यही गढी, पुरी वा मैदान देखाइदिने ‘इन्डिकेटर’ हुन् तर आज हामी कहाँ छौं? आजको समय समयकै चौबाटोमा हराइरहेको त छैन? फेरि पनि बहसको थलो त विश्वविद्यालय नै हो। युवाहरू हो ! बहस जारी राख, यी र यस्ता बहसहरू मधुरै सही अँध्यारोको लालटिन हुनसक्छ।
प्रकाशित: ९ वैशाख २०८० ०१:५७ शनिबार