नेपालमा बेलाबखत ठूलाठूला राजनीतिक उथलपुथल र परिवर्तन भइरहेका छन्। २००७ सालको सशस्त्र क्रान्तिदेखि नै यस्ता परिवर्तन जनताले देख्दै/भोग्दैआएका हुन्। तर परिवर्तनले कहिल्यै पनि प्रणाली र संस्थागत कार्यशैली पाएन। जब परिवर्तनले पद्धति र विधिको रूप लिन सक्दैन वा पाउँदैन, त्यस्तो परिवर्तन निरर्थकमात्र होइन अभिशाप हुनपुग्छ। २०६३ सालमा परिवर्तनको बेला दुईटा दोषारोपणको नारा अति प्रचलित थिए, ‘निरंकुश राजतन्त्र’ र ‘एक्लै हिँड्ने रहर गरेको’ ! जनतालाई यही पाठ घोकाइएको थियो।
युगान्तकारी परिवर्तनलाई आफ्नो पेवा बनाएर शक्तिशाली हुने होडको पराकाष्ठामा पुगेका नेताहरू आज आफैँले निन्दा र भत्र्सना गरेको निरंकुश कार्यशैली वरण गर्न, आफ्नै समकक्षी नेतालाई सहन नसक्ने र एक्लै हिँड्न खोज्ने भएका छन्। कांग्रेसका देउवा हुन् वा माओवादीका प्रचण्ड अनि एमालेका खड्गप्रसाद ओली। उनीहरू बेग्लाबेग्लै पार्टीका मुखिया हुन् तर आचरण र क्रियाकलापमा कतै फरक पाइन्न। लोकतन्त्र अनुकूल, जनउत्तरदायी र परिवर्तनको लक्ष्यमा पुग्नेखालको छैन। सबभन्दा ठूलो जनआक्रोश यी शीर्ष नेतातिर फर्केको छ। कांग्रेसका सिद्धान्तवादी हालै स्वर्गीय नेता प्रदीप गिरीले संसद्मा बोल्दै भन्नुभएको उचित थियो, “नेपालको राजनीतिमा राजतन्त्रदेखि गणतन्त्रसम्मको यात्रा जसोतसो सत्ता हस्तान्तरणको लागि मात्र हुँदै आयो, रूपान्तरण कहिल्यै हुनसकेन।” नेताहरूले अब त परिवर्तनको लक्ष्य पनि बिर्सिसके जस्तो लाग्दैछ। पार्टीहरूभित्रको अन्तहीन कचिङ्गल सैद्धान्तिक होइन, जुँगाको लडाइँ हो र सामन्ती चरित्रको विशेषता हो। जसरी हुन्छ आपूm मात्र बलियो बनूँ, मेरो एकछत्र राज चलोस्, नियम, नैतिकता र अनुशासन मलाई नलागोस् भन्ने प्रवृत्ति सामन्ती रूप हो। ठूला पार्टीहरूमा यो प्रवृत्ति गणतन्त्रकै विशेषताका रूपमा जरा गाडेको छ।
सबै दल आफैँभित्रका कमजोरीबाट उब्जिएको रोगले ग्रसित छन्। यसैले गर्दा जनतामा पार्टी र नेताहरूप्रति घृणा र रोष बढ्न गएको छ। जनघृणा, अविश्वास र रोषको घडा करिब भरिइसकेको छ। जब राजनीति दूषित हुन्छ तब देशमा कुन पक्ष वा क्षेत्र स्वच्छ, अछूत र चोखो रहन सक्छ र ! पार्टीहरू र तिनका सञ्चालक नेता भनेका जनविश्वासको ऊर्जाले चल्ने संस्था वा गण हुन्। तर पार्टीहरूले जनविश्वास गुमाएको अवस्थामा विदेशी शक्ति वा आर्थिक अपराधी र कालोधनका कुवेरहरू हर्ताकर्ता र निर्णायक बन्न पुग्छन्। आजको परिस्थिति यस्तै दुःखद अध्यायबाट बनेको छ।
गत स्थानीय तह निर्वाचनमा महत्वपूर्ण महानगरपालिका र उपमहानगरपालिकामा मतदाताले स्वतन्त्र उम्मेद्वारलाई जिताएर मेयर बनाए। पूर्वमा धरान, मध्यमा काठमाडौँ र जनकपुर पश्चिममा धनगढी महत्वपूर्ण उप/महानगगरपालिकाहरूको यस्तो निर्वाचन परिणामले जनतामा नौलो सन्देश दिएको छ। त्यो सन्देशले राजनीतिक दलहरूलाई मनपरि नगर्न गतिलो पाठ सिकाएको छ। पार्टीहरूमाथिको अविश्वास र नयाँ अनुहारप्रति आशाजनताको उक्त फैसलाको अन्तरवस्तु हो। तर पार्टीहरूको विकल्प स्वतन्त्र व्यक्तिविशेष हुन सक्दैन। मुलुकमा प्रगतिउन्मुख परिवर्तन ल्याउछौँ भन्ने पार्टी र नेताहरूले सर्वप्रथम आफैँ परिवर्तन भएको पुष्टि गर्नसक्नुपर्छ।
पार्टी नेताहरूमा स्थानीय निर्वाचनको परिणामबाट समेत सबक सिक्न सकेनन्। नेपालका नेताहरू पराजित मानसिकता बोकेर नेता व्यवस्थापनबाट लक्षित सत्ता गठबन्धनको आडमा निर्वाचन लड्न लागिरहेका छन् भन्ने बाक्लै बुझाइ अमेरिकामा रहेका नेपालीहरूमा पाइयो। मुलुक अनेकौँ संकटका चरणबाट गुज्रिरहेको छ, तर “घरज्वाईँलाई खानको मात्र चिन्ता....” भन्ने नेपाली उखान नेताहरूमा चरितार्थ हुनथाल्यो। गठबन्धन टिकाउने र नेताहरूका लागि सुरक्षित संरक्षित र सहज निर्वाचन व्यवस्थापन गर्नमा एकोहोरिएका पार्टी र नेताको नजरमा देश र जनताका समस्या अन्धकारमा परिसकेका छन्।
जनतामा उठेको परिवर्तनको छटपटीले नेतृत्वमा पनि नयाँ अनुहार, उत्साही मानसिकता र सुधार खोजिरहेको छ। त्यसो त नेतृत्वमा नयाँ अनुहार खोज्दैजाँदा कांग्रेसको चौधौँ महाधिवेशनमा निर्वाचित भएका १४ पदाधिकारीमध्ये ११ जना नयाँ अनुहार र प्रायः नयाँ पुस्ताकै छन्। तर अहिलेसम्म नयाँ नेतृत्वले चिल्लो पात देखाइसक्नु पर्ने हो। जनताको इच्छा, राष्ट्रको आवश्यकता र समयको पदचाप बुझेर जिम्मेवारी देखाउन सक्नुपथ्र्यो। राजतन्त्र हँुदासम्म आफ्ना सबै दोषका लागि राजतन्त्रतिर देखाएर पार्टीहरूको बाटोमा दरबार नै तगारो भइदियो भनी अर्थ लगाइदिँदा तत्कालका लागि नाक जोगाउने उपाय हुन्थ्यो। तर राजतन्त्र नभएको र आफैँले रोजेर ल्याएको लोकतान्त्रिक गणतन्त्रका यी दिनमा पार्टीहरूले कसैलाई दोष थोपर्ने मौका र अधिकार छैन। ‘गणतन्त्र’ पार्टीहरूलाई कदाचित महँगो भइरहेको त होइन? पुनर्विचार गर्नुपर्ने बेला आएजस्तो छ।
यता आएर प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीबाहिरका अनेक अदृश्य र तिलश्मी दबाब र अनिवार्यताको विवश बन्दी बन्नुभएको छ। तिनै दबाब र तिलश्मी क्रियाकलापको चङ्गुलमा परेका उहाँ विवादास्पद आचरणमा थप विवादित हुनुहुन्छ छ। यसले गर्दा हिजोको उत्साह आज निरासामा परिणत हुँदैगएको छ। पार्टी सभापति पद, सारा कार्यकर्ताका लागि निष्पक्ष, निर्विवाद, न्यायमूर्ति र पार्टीको गरिमाको प्रतीक पनि हो। तर देउवाले सबैलाई समेटेर पार्टीलाई एकजुट राख्ने अपेक्षाको पनि अब मृत्यु भइसकेको छ। एउटा गुटमा सीमित रहन र गठबन्धनलाई टिकाएर प्रधानमन्त्रीको जागिर खाइरहने देउवाको लाक्षणिक गतिविधि कांग्रेसलाई स्थायीरूपमा धर्मर र वैशाखीको सहाराबेगर हिँडडुल गर्न नसक्ने बनाउन लागेको देखिन्छ। कम्युनिस्ट पार्टीहरूको निर्णायक गतिविधि धेरै चलिरहेको र लोकतान्त्रिक शिविर प्रतिरक्षात्मक तथा किंकर्तव्यबिमूढ अवस्थामा पुग्नु दीर्घकालीन दृष्टिकोणले साह्रै दुःखद हो।
आफैले ‘गर्ने’ भनेर बारम्बार प्रतिबद्धता जनाए पनि पूरा नगर्ने गैरजिम्मेवार शैली पनि गणतन्त्रमा प्रश्रय पाइरहेको प्रवृत्ति हो। कामै नगरी पालिने अखडा र राज्यदोहनको बहानामात्र बनेका छन् संसदहरू, आयोग र सरकारहरू। कतै यो प्रवृत्ति पनि गणतन्त्रको अभिन्न विशेषता हुन पुगेको त होइन? विश्वासको संकटको यो बेलामा पार्टीहरू निर्वाचन घोषणापत्र लेख्ने तरखरमा छन्। स्थानीय तहको निर्वाचनमा यस्तै चुनावी घोषणापत्र जारी भएका थिए। आज कति स्थानीय तहले आफ्ना पार्टीको घोषणापत्र कार्यान्वयन गर्ने जिम्मेवारी देखाएका छन्?
म यहाँ अमेरिकी सरकारको जो बाइडेन प्रशासनका क्रियाकलापलाई पनि ध्यान दिइरहेको छु। राष्ट्रपति बाइडेनले आफ्नो निर्वाचनको बेलामा जनतासमक्ष प्रतिबद्धता गरेका रहेछन्– मध्यम वर्गको पुनरुत्थान गर्ने, संघीय पूर्वाधारमा लगानी बढाउने, सरकारी विश्वविद्यालयको शुल्कमा सहजीकरण गर्ने, जलवायु संकट समाधानका लागि क्लिन इनर्जी अभियान तथा हरित क्रान्ति चलाउने र सन् २०५० सम्ममा कार्बन उत्सर्जन शून्यमा पु¥याउने लक्ष्य र यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पका विवेकहीन र राष्ट्रको प्रतिकूल भएका यावत निर्णयलाई उल्टाउने। उनले आफ्ना वचनबद्धता इमानदारीका साथ पालन गरिरहेका छन्।
नेपाललाई पनि लक्ष्यप्रति कटिबद्ध, इमानदार र कर्मठ यस्तै नेताको जरुरत छ। जतिसुकै गैरजिम्मेवार र अनुत्तरदायी भए पनि तिनलाई मति सुधार्न र चेत फिराउन दबाब दिनुपर्छ। स्वच्छ छविको नयाँ पुस्ताले नेतृत्व लिनु उचित हुन्छ। पार्टीहरूले निषेधको राजनीति त्यागेर सबै राष्ट्रिय शक्तिसँग हेलमेलको वातावरण बनाउनुपर्छ।
पार्टीहरूको विकल्प स्वतन्त्र उम्मेदवार कदापि हुँदैनन् तर हाल नेतृत्व ओगटिरहेका मुख्य तीन पार्टीका तीन नेताहरू देश र जनताका लागि उपयुक्त ठहरिएनन्। उनीहरूले इज्जतपूर्वक सक्रिय राजनीतिबाट आराम लिएर अभिभावकीय भूमिका निर्वाह गर्नु उचित हुन्छ। उद्देश्य, प्रतिबद्धता र योगदानबिना पदमा टाँसिइरहने र राज्यव्यवस्थाको आनन्द लिनेमात्र हो भने जनताले त्यस्ता नेताहरूलाई निर्ममतापूर्वक पराजित गर्नुपर्दछ। किनभने राज्यव्यवस्था भनेको व्यक्तिविशेषको भौतिक आनन्द लिने अखडा हुँदै होइन। युवा नेताहरू र नयाँ पुस्ता सशक्त र निर्णायक भएर पार्टीहरूभित्र सक्रिय हुनु समयको माग पनि हो।
(हाल: सियाटल, अमेरिका)
प्रकाशित: १५ भाद्र २०७९ ०१:१३ बुधबार