समय शक्तिशाली हुन्छ र मायावी पनि। समयको भित्तोमा अभिलिखित सत्य कहिल्यै नष्ट हुँदैन तर कहिलेकाहीं समयले नै सत्यलाई लामो समयसम्म ओझेलमा पारिराखेको हुन्छ। समयले ओझेलमा पारेको यस्तै एउटा सत्य, एउटा इतिवृत्तको कैरन हो यो।
बिपी कोइरालाबारे अपरिचित कुनै नेपाली छैन। बिपीका दाजुभाइ र छोराछोरीबारे पनि सबैलाई थाहा छ। तर बिपीकी एउटी ‘नचिनिएकी’ छोरी पनि छन्, जसबारे अरूलाई त के, बिपीकै छोराछोरीलाई पनि थाहा छैन। छोरी नै नचिनिएपछि तिनका सन्तान अर्थात् नाति–नातिनालाई नचिनिनु अनौठो भएन।
बिपीकी ती छोरी उहाँकी पत्नी सुशीला कोइरालाकी सन्तान होइनन्। उनी बिपीकी मितकी छोरी हुन्। भोजपुर, चरम्बीका नन्दीप्रसाद पराजुलीसँग किशोर अवस्थामै बिपीले मित लगाउनुभएको थियो र उनकी छोरी नन्दिका ९० वर्षको उमेरमा आज पनि धरानमा जीवितै छन्। मितबाबुका सन्तान अर्थात् आफ्ना भाइबहिनीसँग उनको कुनै अपेक्षा थिएन र छैन, तर आफू जीवित हुँदै कुनै दिन सम्झेर भेट्न आउलान् र आशीर्वादको हात तिनको शिरमा राख्न पाइएला भन्ने मधुरो आशा चाहिँ मनको अन्तरकुन्तरमा कताकता छँदैछ।
कृष्णप्रसाद कोइराला विराटनगरमा रहँदा भोजपुर, चरम्बीका राइटर शिवप्रसाद पराजुलीसँग राम्रो सम्बन्ध थियो। पछि शिवप्रसाद पराजुलीका छोरा नन्दीप्रसाद र कृष्णप्रसाद कोइरालाका छोरा बिपी बनारसमा पढ्दा मन मिल्ने दौंतरी हुन पुगे। बिपी चलाख हुनुहुन्थ्यो भने नन्दीप्रसाद तीक्ष्ण बुद्धिका, मिलनसार व्यक्ति थिए। उनी पढाइमा मात्र नभएर राजनैतिक सुझबुझमा समेत अब्बल थिए।
आर्थिक अवस्था पनि राम्रो थियो र भरअभरमा साथीको खाँचो टार्न कहिल्यै पछि पर्दैनथे। विद्यार्थी अवस्थामै बिपी र नन्दीप्रसादको घनिष्ठ सम्बन्ध मितेरी साइनोमा परिणत भयो। यसरी बिपी र नन्दीप्रसाद एक परिवार भए। उनीहरू हरेक कुरामा एकअर्काका सहयोगी बने।
एकआपसमा नजिक भएका, कुरा मिल्ने, सहयोग आदानप्रदान हुने दौंतरीबिच त्यो समय मित लगाउने चलन थियो। मित लगाएपछि परिवार एउटै भएको मानिन्थ्यो। मितका बाबुआमा, दाजुभाइ, दिदीबहिनी, छोराछोरी सबैसँग समान नाता कायम हुन्थ्यो। जुठो, सुतक सबै बराबरी लाग्थ्यो। मितलाई सहयोग गर्नुपर्छ, धोका दिए पाप लाग्छ भन्ने मान्यता थियो। मितबाट सहयोग लिन अत्यन्तै सजिलो हुन्थ्यो। यही कारणले पनि बिपी आफूभन्दा पाँचछ वर्षजति जेठा नन्दीप्रसादसँग मितेरी साइनो जोड्न प्रेरित भएको हुनुपर्छ।
पढाइ चलिरहेकै बेला नन्दीप्रसाद पराजुली चन्द्रगढीमा खरिदार जागिरे भए। दुःखको समयमा साथी खरिदार भएपछि बिपीलाई आर्थिक सहयोग पनि मिल्न थाल्यो। खरिदार छँदा नन्दीप्रसादले झापामा नौ सय बिघा जग्गा किनेका थिए। अरू ६ सय बिघाजतिको जग्गा बैना गरेका थिए।
चन्द्रगढीमा छँदै १९९३ साल चैतमा नन्दीप्रसादकी एकमात्र छोरी नन्दिकाको जन्म भएको थियो। त्यही बेला सुब्बामा बढुवा भई उनको धनकुटा सरुवा भयो। प्रखर राजनीतिक चेतना भएका नन्दीप्रसादले त्यो मौका छोपेर धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभाका मानिसहरूमा गोप्य तवरमा राणाविरोधी भावनाको बीजारोपण गरेका थिए। त्यसबेला झापामा औलोको बिगबिगी थियो। औलोकै कारण छोरी दुई वर्ष पनि नपुग्दै, नन्दीप्रसाद र उनकी पत्नीको १९९५ सालमा मृत्यु भयो।
यसरी बिपीले बाल्यकालदेखि यौवन अवस्थासम्म साथ र सहयोग प्राप्त गरेका साथी गुमाउनुभयो। नन्दीप्रसादले किनेको जग्गा उनका भाइहरूले तिरो तिर्न नसकेका कारण गुम्यो। छोरी टुहुरी भइन्।
मर्ने बेलामा नन्दीप्रसादले आफ्ना भाइहरूलाई ‘मेरी छोरीलाई दाजुकी छोरी नभन्नू र डोको बोक्ने ठाउँमा विवाह नगर्दिनू’ भनेका थिए। तर भनेजस्तो के हुन्थ्यो? आमाले पालेको, दाजुभाइ एवं बाबु नभएको, नन्दिकाभन्दा सवा दुई वर्ष कान्छो, एक्लो केटासँग १२ वर्षमै (२००६ साल वैशाखमा) उनको विवाह गरी दिए।
१९९६ साल असारमा जन्मेका बेहुला गणेशप्रसाद नेपाल त्यसबेला नौ वर्ष पूरा भएर दश वर्षमा हिँड्दै थिए। धनकुटा चुङवाङको मार्घा भन्ने ठाउँमा दिइएकी नन्दिका विवाह भएको दुई महिनापछि साउने पानी छल्न केही समय माइत बस्न पाइन्। त्यसपछि उनको कडा बुहार्तन सुरु भयो।
पहाडको गाउँमा गाईवस्तु, बाख्रापाठा, उकालो–ओरालो, वनजंगल, घाँसदाउरा, डोकोनाम्लो गर्नु सामान्य कुरा भए। बुहारीले राति तीन बजे उठेर ढिकीजाँतो गर्नुपथ्र्यो। बेलुका सासू, श्रीमान्, नन्द र आमाजूको गोडामा चिल्लो लगाउनुपर्थ्याे। त्यति मात्र भए त हुन्थ्यो, ढङ्ग नभएकी भनेर मरणासन्न हुने गरी कुटाइ खानुपथ्र्यो, साथै बुहारीलाई अघाउँजी खानासमेत दिँदैनथे।
नन्दिकाले भोको पेट लिएर डरले थरथर काम्दै दिन काटेकी छे भन्ने कुरा माइतीमा काकाहरूले थाहा पाए। उनलाई माइतीले त्राण देलान् भन्ने आस थियो। तर आमाबाबु नभएकी टुहुरीलाई कसले दया गर्ने? ‘अरूण नदीमा हाम फालेर मर्, तर घर खान सकिनँ भनेर अरूण तरेर नआउनू’ भनेर खबर पठाए। दया माया गर्ने कोही नभएपछि उनी आज मार्ने हुन् कि भोलि मार्ने हुन् भन्ने डर पालेर नारकीय जीवन जिउन बाध्य भइन्। यसैबिच समयक्रममा छोराछोरी भए र सौताको प्रताडनासमेत खेप्नुपर्यो। त्यसपछि त रातदिन आँसुका धारा बगाउँदै छोराछोरीको निरीह मुख हेरेर मर्न नसकेर बाँच्नुबाहेक केही रहेन।
आफ्ना मित नन्दीप्रसादकी एक्ली छोरी टुहुरी भएको खबरले बिपीलाई व्यथित बनाएको थियो। उहाँ छोरीलाई आफैंसँग राखेर हुर्काउन चाहनुहुन्थ्यो। तर राजनीतिक व्यस्तताले गर्दा छोरीलाई भेट्ने अवकाश पाउनुभएको थिएन।
यसैबिच २००६ साल असारतिर बिपी पूर्वमा धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभातर्फ राणाविरोधी भावना जगाई प्रजातान्त्रिक आन्दोलनका लागि जनसमर्थन जुटाउने र छोरीलाई पनि भेटी आफैंसँग लिएर आउने उद्देश्यसाथ गोप्य अभियानमा निस्कनुभएको थियो। ती क्षेत्रमा नन्दीप्रसादले धनकुटामा जागिर खाएको बेला १९९४–९५ सालतिरै राणाविरोधी भावनाको बीजारोपण गरिसकेका थिए। उनले प्रभावित पारेका मानिसलाई भेटेपछि बिपीलाई आफ्नो अभियान अघि बढाउन निकै सहज भयो।
उहाँले तेह्रथुममा पुगेर तेजमान तुम्बाहाम्फेलगायतलाई नेपाली कांग्रेसको सदस्य बनाउनुभयो। त्यसपछि भोजपुर पुगेर अरू धेरैलाई कांग्रेसको अभियानमा लाग्न प्रेरित गर्नुभयो। त्यहींबाट उहाँले छोरीको भर्खरै विवाह भइसकेको र उनको घर चुङवाङको मार्घा भन्ने ठाउँमा रहेको जानकारी प्राप्त गर्नुभयो। त्यसपछि उहाँ अरू धेरै गाउँमा पुग्नुभयो र जनतामा राणाविरोधी भावना जागृत गर्दै आर्थिक संकलन पनि गर्नुभयो।
गाउँका ठुलाबडा, किसान, युवा, केटाकेटी आदि सबैलाई राणा शासनको विरोध र नेपाली कांग्रेसको पक्षमा पार्न उहाँले बेग्लाबेग्लै जुक्ति अपनाउनुुभएको थियो। त्यसबेला यस्तो काम गर्नु अत्यन्तै जोखिमपूर्ण थियो, राणाका सेनाले थाहा पाए मारिन पनि सकिन्थ्यो। यस्तो जोखिम मोल्दै बिपी २००६ साल भदौ महिनामा छोरी भेट्न धनकुटा चुङवाङ मार्घामा आइपुग्नुभयो।
मार्घामा बिपी तुलसीप्रसाद नेपालको घरमा नौ दिन बस्नुभएको थियो। उहाँसँग अरू दुई जना पनि थिए। तुलसीप्रसाद गणेशप्रसाद नेपालका जेठाबा थिए र उनीहरू संयुक्त परिवारमा बस्थे। तुलसीप्रसाद समाजमा प्रतिष्ठित व्यक्ति थिए। त्यहाँ बिपीको अभियानलाई उनले निकै सहयोग पुर्याए।
राणा शासन विरोधी आन्दोलनमा लागेका उनका कान्छा भाइ बेपत्ता भएका थिए (जसको आजसम्म पनि सास वा लास केही फेला पर्न सकेको छैन)। यसकारण पनि तुलसीप्रसाद राणाविरुद्धमा थिए र बिपीलाई भेट्दा उनलाई ढुंगा खोज्दा देउता मिलेजस्तो भएको थियो। नयाँ पुस्तामा राणाविरोधी भावना जगाउन उनी बिपीकै सल्लाह सुझावमा मार्घामा स्कुल खोल्न प्रेरित भएका थिए।
तत्कालीन अवस्थामा खुलमखुला स्कुल खोल्न सम्भव थिएन। त्यसैले बिपीले त्यहाँको एक गाईगोठमा गाउँका केटाकेटी भेला गरी दैनिक बिहान पढाउने क्रमको सुरुवात गर्नुभएको थियो। बिपी गृहमन्त्री भएपछि २००८ सालमा चुङवाङमा भारती मावि नामले स्कुल खोलियो। पछि बिपी प्रधानमन्त्री भएको बेला २०१७ सालमा मार्घामा पनि स्कुल खोलिएको थियो। अहिले सो स्कुल जनकल्याण माविका नामले १२ कक्षासम्म सञ्चालनमा रहेको छ। बिपीले स्कुल खोल्न प्रेरित गरेको र सुरुमा आफैंले गाईगोठमा कक्षा चलाएको प्रसङ्ग तुलसीप्रसादले यो पंक्तिकारलाई सुनाउनुभएको थियो।
२००६ साल भाद्रमा बिपीसँग गाईगोठमा पढ्ने विद्यार्थीहरूमा गणेशप्रसाद नेपाल पनि थिए। गणेशप्रसादको भनाइअनुसार गाईगोठको भित्रपट्टि लगेर ढोका बन्द गरेर पढाउँथे। पढुन्जेल÷पढाउन्जेल बाहिर निस्कन पाइँदैनथ्यो। पढ्ने विद्यार्थी गाउँकै केटाकेटी थिए। उहाँ भन्नुहुन्थ्यो– कहिलेकाहीं त लगभग २५–३० जनासम्म भेला हुन्थ्यौं। गोठभित्र राणा शासनको ज्यादती र नेपाली कांग्रेसको योगदानबारे पढाइन्थ्यो।
पढाइ सकेर हुरुरु बाहिर निस्कँदा ‘नेपाली कांग्रेस जिन्दावाद, राणाशाही मुर्दावाद’ भन्दै कराउँदै निस्किन्थ्यौं। त्यो बेला मकै भाँचेर बारीमा मकैका ढोड मात्र थिए। तिनै ढोड हातमा लिएर ‘नेपाली कांग्रेस जिन्दावाद’ भन्दा उफ्रिँदै ढोड ठाडो पार्ने र ‘राणाशाही मुर्दावाद’ भन्दा कसेर भुईंमा ढोडले कुट्ने गर्थ्याैं। दिउँसो गोठालो जाँदा पनि ‘नेपाली कांग्रेस जिन्दावाद, राणाशाही मुर्दावाद’ भन्दै कराउँथ्यौं।
बिपी छोरीलाई कस्तो घरमा विवाह गरी दिएछन् भनी हेर्ने बुझ्ने र छोरीलाई भेट्ने उद्देश्यसाथ मार्घामा गणेशप्रसाद नेपालको घर पत्ता लगाएर जानुभएको थियो। तर उहाँ मार्घा पुगेको बेला छोरी नन्दिका साउने पानी छल्न माइत गइसकेकी थिइन्। उहाँहरूबिच लुकामारीजस्तो भयो र बिपीकी छोरीसँग भेट हुन सकेन। ज्वाइँ गणेशप्रसाद नेपाललाई बिपीले भेट्नुभयो र चिन्नु पनि भयो, साथै पढाउनु पनि भयो। तर १० वर्ष उमेरका बालक गणेशप्रसादलाई बिपीले म तिम्रो ससुरो हुँ भनेर चिनाउनुभएन, अनि गणेशप्रसादले पनि गाईगोठमा पढाउने पाहुना आफ्ना ससुरा पर्नुहुन्छ भन्ने थाहा पाउनुभएन। ‘त्यो कुरा त मैले धेरै पछि मात्र थाहा पाएको’ भनेर उहाँले भन्नुहुन्थ्यो। २०३९ साउनमा बिपीको निधन भएपश्चात् गणेशप्रसाद नेपालले आफ्ना आमाबुबाको श्राद्ध गर्दा नन्दीप्रसादसँगै बिपीलाई पनि तर्पण दिनुहुन्थ्यो।
मार्घामा नौ दिन बसेपछि बिपी लिसुम्बुका चारखोले भोटे (त्यसबेला तामाङलाई भोटे भन्ने चलन थियो) तीन जनालाई भरिया बनाएर धरान हुँदै इटहरी, तरहरातर्फ लाग्नुभयो। ती चारखोलेका सन्तान आज पनि कांग्रेसका भरिया नै छन्। बिपीलाई तरहरा पुर्याउन तुलसीप्रसाद नेपालले गणेशप्रसाद नेपालसहित पाँचछ जनालाई साथ लगाएर पठाएका रहेछन्।
बिपीको सुरक्षालाई दृष्टिगत गरेर उनीहरू बिपी सँगसँगै नहिँडी कहिले अगाडि कहिले पछाडि गर्दै तरहरा पुगेछन्। तरहरामा एकातर्फ बिपी र उहाँका साथी लुकेर बसेछन्, अर्कातर्फ गणेशप्रसादसहित १०–१२ जनाजति झुरुप्प भएर सबैले देख्ने गरी बसेछन्। बिपीलाई लिन तरहरामा जिप आइसकेको रहेछ। त्यहाँ राणाका सेनाले थाहा पाएर बिपीलाई पक्रन खोजेछन्। उनीहरू गणेशप्रसादहरू भएतिर आएछन्। त्यसैबेला बिपी आफ्ना साथीहरूसहित जिपमा बसेर खेतैखेत आली नाघ्दै विराटनगरतर्फ लाग्नुभएछ। ‘केही बेर त राणाका सेनाले बिपीलाई खेदे तर जिप खेतको आली नाघ्दै कुदेपछि उनीहरू फर्के’ भनी गणेशप्रसाद नेपालले पंक्तिकारलाई सुनाउनुभएको थियो। तरहरानजिक हलगडामा तुलसीप्रसाद नेपालको खेती थियो। बिपी फर्केपछि गणेशप्रसाद जेठाबाको आदेशबमोजिम खेतीको हेरचाह गर्न त्यहीं बस्नुभयो।
बिपी २००७ सालमा गृहमन्त्री हुँदा फेरि भोजपुर जानुभयो। नन्दीप्रसादका भाइ भीमप्रसाद पराजुलीसँग उहाँको पहिलेदेखिकै चिनजान थियो। भोजपुरमा बिपीले भीमप्रसादलाई भेट्नुभयो र छोरीको खबर बुझ्नुभयो। त्यसबेला बिपीले भीमप्रसादलाई ‘छोरीलाई बिहे गरेर दिई हाल्नुभएछ। यति चाँडै बिहे नगर्दिनुपर्थ्याे। मैले उनलाई सँगै लाने विचार गरेको थिएँ। जे भयो भइगयो, राम्ररी हेरविचार गर्दै गर्नुहोला। केही सहयोग आवश्यक परेमा मलाई खबर गर्नुहोला’ भन्नुभएको थियो।
भीमप्रसाद पराजुलीका भानिज नरनारायण घिमिरे र यो पंक्तिकार भीमप्रसादलाई भेट्न जाँदा उहाँले यो घटना सुनाउनुभएको थियो। (बेलायतका वर्तमान राजदूत चन्द्र घिमिरेका बुबा नरनारायण घिमिरे हाल ९८ वर्षमा धरानमा जीवितै हुनुहुन्छ।) त्यसबेला बिपीले भीमप्रसाद पराजुलीलाई उनको जागिर भोजपुरमा नै थामिदिएको कुरा महाभीम महाकाव्यमा गोविन्दप्रसाद घिमिरेले पनि उल्लेख गर्नुभएको छ।
बिपी २०१७ सालमा जेल पर्नुभयो र २०२५ सालमा जेलबाट निस्केपछि भारत निर्वासनमा जानुभयो। तर विदेशमा पनि बिपीको राजनैतिक यात्रा रोकिएको थिएन। भारतको दार्जिलिङमा माहिला बाजे भन्ने कम्युनिस्टका ठुला नेता थिए। उनीसँग बिपीको राम्रो सम्बन्ध थियो। दार्जिलिङतिर आउँदाजाँदा उहाँ माहिला बाजेकैमा बस्ने गर्नुहुन्थ्यो।
२०३२ सालतिर (साल यकिन भएन) बिपी सिलिगुडीमा एक कार्यक्रममा जानुभएको रहेछ। त्यहाँ माइला बाजे पनि आएका रहेछन्। राति माहिला बाजेसँगै बस्ने अवसर मिलेछ। महिला बाजेकोमा गणेशप्रसाद नेपाल पनि आउजाउ गर्दा रहेछन्।
कुरैकुरामा प्रसङ्गवश माहिला बाजेले बिपीलाई त्यो कुरा सुनाएछन्। त्यसपछि बिपीले ‘धनकुटाका गणेशप्रसाद नेपाल मेरा ज्वाइँ हुन्। उनका ससुरा नन्दीप्रसाद पराजुली मेरा मित हुन्। छोरी टुहुरी छन्। उनीहरूको आफ्नो भनेको म नै हुँ। मेरो उहाँलाई भेट्ने ठुलो इच्छा छ। यहाँ आउनुभयो भने जसरी भए पनि मलाई भेट्नु अरे भनेर भन्दिनू’ भनी महिला बाजेलाई खबर छोड्नुभएछ।
पछि गणेशप्रसाद नेपाल माहिला बाजेकोमा जाँदा ‘बिपीलाई तपार्इंका ससुरा नन्दीप्रसादको ठुलो गुन छ अरे। उहाँ बिपीको मित हुनुहुँदो रहेछ। तपाईं बिपीको ज्वाइँ हो अरे। छोरीज्वाइँलाई भेट्ने ठुलो इच्छा छ भनेर बिपीले भन्नुहुन्थ्यो। जसरी भए पनि एक पटक मलाई भेट्नू भनेर बिपीले खबर छोडेको छ। ज्वाइँछोरी नै गएर बिपीलाई भेट्नुहोला’ भनी माहिला बाजेले गणेशप्रसाद नेपाललाई भनेका रहेछन्। यो घटना सुनाउँदै ‘तर त्यसबेला टेलिफोन मोबाइलको चलन थिएन, त्यसैले बिपीलाई सम्पर्क गर्न भेट्न सकिएन’ भनेर गणेशप्रसाद नेपालले पंक्तिकारलाई भन्नुहुन्थ्यो।
वास्तवमा गणेशप्रसादले हलगडामा बस्तै गर्दा अर्को विवाह गर्नुभएको थियो र नयाँ श्रीमती लिएर चुपचाप भारत पस्नुभएको थियो। उहाँ सिलिगुडीमा बस्नुहुन्थ्यो र त्यहाँ आफूले दोस्रो विवाह गरेको कसैलाई थाहा दिनुभएको थिएन। एउटी श्रीमती (नन्दीप्रसादकी छोरी) छँदाछँदै उनलाई छाडेर अर्को विवाह गरेकाले पनि बिपीलाई मुख देखाउन गणेशप्रसादलाई गाह्रो भएको हुनुपर्छ। जे होस्, छोरीज्वाइँलाई नै नभेटी बिपी परलोक हुनुभयो।
प्रखर राजनीतिक चेतका नन्दीप्रसादसँग मातृकाबाबुको पनि निकटता थियो। पछिसम्म पनि उहाँ नन्दीप्रसादको कुरा गर्नुहुन्थ्यो। भोजपुरबाट भेट्न आएकाहरूलाई ‘नातामा भाइ परे पनि नन्दीप्रसाद मेरो पनि घनिष्ठ साथी थियो’ भन्नुहुन्थ्यो। छोरी दुई वर्ष पनि नपुग्दै नन्दीप्रसाद र उनकी पत्नीको मृत्यु भएको कुरा उहाँलाई राम्ररी नै थाहा थियो। त्यसैले ‘ती टुहुरी छोरी कता होलिन् ? के गर्दै होलिन्? एकपल्ट भेट्न पाए हुन्थ्यो’ भनेर मातृकाबाबुले बारम्बार सोधीखोजी गर्नुहुन्थ्यो भनेर नन्दीप्रसादका भाइ कृष्णप्रसाद पराजुलीले भन्नुहुन्थ्यो। तर बिपी मात्र होइन, मातृकाले पनि ती छोरीलाई भेट्न पाउनुभएन।
१२ वर्षकै उमेरमा विवाह गरेर पठाइएकी उनले पनि उहाँहरूलाई भेट्न सकिनन्। तर, आजसम्म पनि त्यही बिपीको सम्बन्धका कारण नन्दीप्रसादका दाजुभाइका सन्तान एवं ती टुहुरी छोरीका सन्तान सबै कांग्रेस नै छन्। नन्दिका नामकी ती छोरी आज पनि बिपी बाबुका छोराहरू (भाइहरू) लाई भेट्ने आसमा धरानमा जीवितै छिन्।
बिपीलाई बिपी बनाउन उहाँका मित नन्दीप्रसाद पराजुलीको पनि योगदान थियो। बिपीलाई हर तरहको साथ सहयोग गर्ने, राणा विरोधी आन्दोलनको पृष्ठभूमि तयार गर्न योगदान पुर्याएका यस्ता पात्र इतिहासबाट हराइनु हुँदैन। उनकी ती टुहुरी छोरी र तिनका टुहुरासरह भएका छोराछोरी कांग्रेसको त के कुरा, बिपीका छोराहरूको स्मरणमा समेत नहुनु विडम्बना मान्नुपर्छ। मित–मितका सन्तान सहोदर दाजुभाइ, दिदीबहिनीसरह मानिन्छन्, परिवार एउटै जस्तो मानिन्छ। तर दुःखका दिनमा बिपीलाई भरथेग गर्ने नन्दीप्रसादका सन्तानले दुःख भोगिरहँदा बिपीका सन्तानले उनीहरूलाई हेरविचार गर्ने त के कुरा, नचिन्नु र सम्झना पनि नगर्नु जस्तो विडम्बना के हुन सक्छ? ९० वर्षकी दिदीलाई एकपल्ट भेट्नसमेत नआउनु जस्तो दुःखलाग्दो कुरा के हुन सक्छ? यसबाट समाजमा कस्तो सन्देश प्रवाहित होला? समाजले कस्तो शिक्षा ग्रहण गर्ला?
प्रकाशित: २४ फाल्गुन २०८१ ०८:२९ शनिबार