१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

प्रतियोगितामा भाग लिए कारबाहीको चेतावनी

फ्रेन्डसिप खुला तेक्वान्दो वैशाख २ गते

चौथो राष्ट्रिय फ्रेन्डसिप खुला तेक्वान्दो प्रतियोगिता वैशाख २ गते काठमाडौंमा आयोजना हुने भएको छ। कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना र नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) को सहआयोजनामा प्रतियोगिता हुन लागेको हो।

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलनमार्फतअन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को सहयोगमा प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ।

देशभरबाट ६ सयभन्दा बढी खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आयोजकको विश्वास छ। प्रकाशशमशेर राणा नेतृत्वको नेपाल तेक्वान्दो संघले भने प्रतियोगिता भाग लिने खेलाडीमाथि कारबाही हुने विभागीय टोली र जिल्ला संघलाई पत्राचार गरेको छ।

नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठले भने खेलाडीलाई खेल्न वञ्चित गर्नु नहुने प्रतिक्रिया दिएका छन्। ‘संघका महासचिव दीपराज गुरुङको निर्देशनमा यो भइरहेको छ। उहाँको मसँग या अरू कोहीसँग दुस्मनी होला। तर, व्यक्तिगत स्वार्थका लागि खेलाडीलाई खेल्नबाटै वञ्चित गर्नु निरंकुशताको पराकाष्ठा हो,’ उनले भने।

श्रेष्ठले तीन दशकभन्दा बढी महासचिव पदमा रहेर गुरुङले अधिकारको दुरूपयोग गरेको आरोप लगाए। ‘उहाँ तीन दशकभन्दा बढी समय महासचिव पदमा हुनुहुन्छ। खेलाडी र प्रशिक्षकको अधिकारभन्दा पनि व्यक्तिगत स्वार्थमा लाग्नुभएको छ,’ उनले भने, ‘ग्रेडिङबाट करोडौं आम्दानी हुन्छ। तर, खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुपर्‍यो भने आफ्नै खल्तीबाट हाल्नुपर्छ या राष्ट्रिय खेलकुद परिषदमा धाउनुपर्छ।’ प्रशिक्षक श्रेष्ठले व्यक्तिगत स्वार्थमा रहेर खेलाडीमाथि राजनीति नगर्न पनि आग्रह गरेका छन्।  

प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको प्रतियोगिता नखेल्न नेपाल तेक्वान्दो संघले विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपिएफ र नेपाल पुलिस क्लबका साथै जिल्ला संघलाई पत्रसमेत पठाएकाले खेलाडीले खेल्ने अवसर गुमाउने भएका छन्।

प्रतियोगिता आफ्नो मातहतमा नरहेकाले नखेल्न खेलाडीलाई चेतावनी दिएको संघको पत्रमा उल्लेख छ। तर, आयोजकले चौथो संस्करणको आयोजना मिति नजिकिँदै गर्दा सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ। प्रतियोगितामा क्योरोगीको सिनियर पुरुष-महिलामा समान ६÷६ गरी कुल १२ स्पर्धामा खेल हुनेछ।

तेक्वान्दोकै अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्काले राष्ट्रिय खेलकुद परिषद्ले नै आयोजना गरेको इतिहास बोकेको राष्ट्रिय खेलकुदमा समेत प्रतिस्पर्धा गर्न नेपाल तेक्वान्दो संघले खेलाडीलाई रोक्ने गरेको अनुभव सुनाए। प्रतियोगितामा क्योरोगीकै जुनियर पुरुष-महिलामा समान १०-१० गरी २० स्पर्धामा भिडन्त हुने छ। पुम्सेको व्यक्तिगत, समूहगत र पेयरमा १२ स्पर्धामा खेलाडीले कौशल प्रदर्शन गर्नेछन्।

यी सबै गरेर क्योरोगी र पुम्सेमा गरी कुल ४४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै छ। यो प्रतियोगिता आगामी अगस्ट २३ देखि २४ सम्म दक्षिण कोरियाको सिओलमा हुने अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको खेलाडी छनोटको आधारसमेत हो। 

यहाँबाट समान तीन पुरुष र महिला गरी कुल ६ खेलाडी सिओलमा हुने प्रतियोगितामा छनोट हुनेछन्। व्यक्तिगत पुम्सेबाट समान एक पुरुष-महिला तथा सिनियर स्पर्धाबाट समान २-२ पुरुष र महिला गरी चार खेलाडी छनोट हुनेछन्।  

सिनियर तौल समूहका स्वर्ण विजेतालाई ओलम्पिक तौल समूहमा विभाजन गरी पुनः प्रतिस्पर्धा गराइने आयोजकले उल्लेख गरेको छ। यहाँबाट समान २-२ पुरुष र महिला स्वर्ण विजेताले दक्षिण कोरियामा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन्।

छनोट हुने ६ खेलाडीले जनही ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। शीर्ष तीन स्थानमा रहने टोलीले क्रमशः एक लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउनेछन्। उत्कृष्ट प्रशिक्षक र निर्णायक पनि जनही १० हजार नगदबाट पुरस्कृत हुने आयोजकले जनाएको छ।

प्रकाशित: २८ चैत्र २०८० ०९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App