११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

आर्मी र मधेस उपाधि प्रतिस्पर्धामा

केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबले शुक्रबार प्रतिस्पर्धा गर्नेछन्। त्रिभुवन आर्मी क्लबले बाग्मती प्रदेशलाई ४ विकेटले पराजित गर्दै केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गर्दा दोस्रो सेमिफमाइनलमा एपिएफ क्लब मधेस प्रदेशसँग ११ रनले पराजित हुन पुग्यो।

आर्मीले बाग्मतीले दिएको १२८ रनको चुनौती ६ विकेट गुमाउँदै १५ ओभरमै पूरा गर्‍यो। आर्मीका भीम सार्कीले ३५ बलमा पाँच चौकासहित ३९ रन बनाए।

जितका लागि दुई रन आवश्यक हुँदा सार्की रित गौतमको बलमा सागर ढकालबाट क्याच भए। सोमपाल कामीले सोही ओभरको अन्तिम बलमा एक रन लिँदै जित सुनिश्चित गरे। कामी १४ बल खेल्दै १ छक्कासहित १५ रनमा अविजित रहे।

छैटौं नम्बरमा आएका कुशल मल्लको विस्फोटक ब्याटिङ देख्ने अवसर दर्शकले पाए। उनले ८ बलमा २७ रन बनाए। चार छक्का हिर्काए। उनी नवौं ओभरमा सन्दीप लामिछानेको बलमा शुभ कन्साकारको हातबाट क्याच भए।

आर्मीका ओपनर सन्तोष कार्की सस्तैमा आउट भए। अर्का ओपनर विनोद भण्डारीले भने १२ बलमा ३ चौका र दुई छक्कासहित २५ रन बनाए। लामिछानेले २ विकेट लिए।

प्रतीक श्रेष्ठको अर्धशतकको योगदानमा बाग्मती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १२८ रनको लक्ष्य दिएको थियो। बिहीबार टस जितेर ब्याटिङ गरेको बाग्मतीले श्रेष्ठको अविजित ५० रनमा सम्मानजनक स्कोर खडा गर्‍यो।

४४-६ को दयनीय अवस्थामा पुगेको बाग्मतीको इनिङ समाल्दै श्रेष्ठले ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रन बनाए। उनले सातौं विकेटको लागि सन्दीप लामिछानेसँग ५२ रनको साझेदारी गरेका थिए।

शुभ कन्साकारलाई केवल ३ रनमा गुमाएको बाग्मतीले दोस्रो विकेटका रूपमा ईशान पाण्डेलाई गुमायो। रित गौतमको ब्याट पनि सेमिफाइनलमा चलेन। उनले केवल १४ रन बनाए।

सन्दीप लामिछाने १९ रनमा खेलिरहँदा सोमपाल कामीको हातबाट क्याच हुँदै पवेलियन फर्किए। सोनु देवकोटा ९ रनमा अविजित रहे। आर्मीका सहाब आलमले ४ विकेट लिए। सोमपाल कामीको हातमा दुई विकेट रह्यो। आर्मीका आलम प्लेयर अफ दी म्याच घोषित भए।

दोस्रो सेमिफाइनलमा मधेस प्रदेशले एपिएफलाई ११ रनले पराजित गरयो। टस जितेर ब्याटिङ गरेको मधेसका ओपनर अनिल साह र इमरान खानले दोस्रो विकेटको लागि ९२ रनको महत्त्वपूर्ण साझेदारी गरे। दुवैले अर्धशतक बनाए। मधेसले ६ विकेटको क्षतिमा १९७ रनको स्कोर तयार पार्‍यो।

साहले ३६ बल खेल्दै ५७ रन बनाए। उनले २ चौका र ६ छक्का हिर्काए। उनी अमर राउटेलाको बलमा आशिफ शेखबाट क्याच भए। इमराख शेखले तीन चौका र चार छक्काको मद्दतमा ३२ बलमा ५० रन पूरा गरे।

उनी मौसम ढकालको बलमा बोल्ड भए। उनीपछि क्रिज छिरेका पवन सर्राफ र रूपेश सिंहको जोडीले पनि स्कोर उकास्ने प्रयास गर्‍यो। सर्राफले ३३ रन बनाए। उनी मौसम ढकालको बलमा सन्दीप जोराबाट क्याच भए। सिंहले पनि २१ रन बनाए। मौसम ढकालले ३ विकेट लिए।

१९८ रनको बलियो लक्ष्य पछ्याएको एपिएफ १८६ रनमा रोकियो। ओपनर प्रदीप ऐरी र सन्दीप जोराले महत्त्वपूर्ण साझेदारी गरे। उनीहरूले तेस्रो विकेटको लागि १०६ रनको साझेदारी गरे। प्रदीपले ४२ बलको सामना गर्दै ५५ रन बनाए। तीन चौका र चार छक्का हिर्काए।

सन्दीप जोराले ३१ बलमा ५४ रन हिर्काए। लोकेश बमले पनि १४ बलमा ३२ रन बनाउँदै लक्ष्यलाई साँघुरो बनाएका थिए। यद्यपि अन्तिम ओभरमा जितका लागि १६ रनको खाँचो थियो। १९औं ओभरको अन्तिम बलमा बम आउट भएपछि एपिएफ थप दबाबमा पर्‍यो। बम विशाल पटेलको बलमा आउट भए।

प्रकाशित: १५ मंसिर २०८० ०१:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App