८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

निर्मला हत्याकाे चार वर्ष:अझै पत्ता लागेन दोषी

साउन लाग्नै हुन्न, कञ्चनपुर उल्टाखामकी दुर्गादेवी पन्तलाई पीडाले सताउन थाल्छ। २०७५ साउन १० गतेको त्यो कालो दिनले उनको मानसपटलमा झस्काइरहन्छ। आज (मंगलबार) निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार वर्ष हुँदैछ। निर्मलाकी आमा दुर्गादेवीलाई न्याय पाउने आसै छैन। ‘छोरीको हत्यारा पत्ता लाग्ने अब आसै छैन,’ दुर्गादेवीले भनिन्, ‘छोरीको घटना सोच्दासोच्दै टाउको दुख्ने मात्र होइन, नसाको बिरामी नै भइसकें । न्याय पाउने आसै मरिसक्यो।’ निर्मला हत्याको चार वर्ष बितिसक्दा पनि दोषी अझै पत्ता लाग्न सकेको छैन।  

नागरिककर्मीसँगको कुराकानीमा निर्मलाकी आमाले भनिन्, ‘न्याय माग्दा कहिले के, कहिले के भन्छन्, न्यायका लागि दौडिँदादौडिँदा टाउको मात्रै दुख्छ।’ दुर्गादेवी पछिल्लो समय नसा र टाउकोसम्बन्धी बिरामीले ग्रस्त छिन्। उनी मात्र होइन, उनका पति यज्ञराज पनि न्याय नपाएकाले निराश छन्। ‘निर्मलाबारे म केही भन्दिनँ, न्याय माग्दा माग्दै चार वर्ष बितिसक्यो,’ उनले भने, ‘म आफैं डिप्रेसनमा गइसकें।’ निर्मलाको घटनाबारे सबैलाई थाहा भएको बताउँदै उनले भने, ‘घटनाको सम्पूर्ण विवरण सबैलाई थाहा छ, अब न्याय पाउने आसै मरिसक्यो।’ जुनै सरकार आए पनि कसैले केही नगरेको प्रतिक्रिया दिँदै यज्ञराजले भने, ‘पहिलेदेखि नै सरकारले संरक्षण गरेर अपराधी जोगाएको छ।’  

प्रहरीले गम्भीर रूपमा लिएको निर्मला हत्या प्रकरणलाई अनुसन्धान जारी राखे पनि हत्यारा अझै पत्ता लगाउन सकेको छैन। यो घटनामा सबैभन्दा बढी छानबिन समिति बनाएर प्रहरीले अनुसन्धान गरे पनि चार वर्षसम्म पनि निष्कर्षमा पुग्न सकेको छैन।  

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम चौधरीले घटनाको नयाँ कोणबाट अनुसन्धान भइरहेको बताए। उनले भने, ‘हामीले परिवर्तित शैलीमा अनुसन्धान गरिरहेका छौं, लागुऔषध प्रयोगकर्तालाई पनि यो केसमा अनुसन्धान थालेका हौं।’ त्यस क्षेत्रका १८/१९ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको उनले जानकारी दिए। उनले भने, ‘लागुऔषध प्रयोगकर्ता र मजदुरी गर्नेलाई पनि निगरानीमा राखेर अनुसन्धान गरिरहेका छौं।’ केन्द्रीय अनुसन्धान ब्युरोको टोली र जिल्लाको टोली अहिले अनुसन्धानमै खटिरहेको उनले बताए। ‘हामी निरन्तर अनुसन्धानमै छौं,’ उनले भने।  

नेपाल प्रहरी हेडक्वार्टरका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले निर्मला पन्त हत्या अनुसन्धान जारी नै रहेको बताएका छन्। उनले विभिन्न कोणबाट अनुसन्धान भइरहेको र अहिलेसम्म अपराधी पत्ता लाग्न नसकेको बताए। ‘१२/१३ वर्षपछि पनि कतिपय घटनाका अपराधी पत्ता लागेका छन्,’ उनले भने, ‘निर्मला पन्तको पनि हामी चाँडै निष्कर्षमा पुग्नेछौं।’ 

तीन जनाको डिएनए रिपोर्ट आउन बाँकी  

निर्मला पन्तको बलात्कारपछि हत्याको घटना पत्ता लगाउन अहिले पनि डिएनए परीक्षण भइरहेको छ। प्रहरी उपरीक्षक चौधरीका अनुसार भर्खरै मात्र शंकास्पद तीन जनाको डिएनए परीक्षणका लागि रगत पठाइएको छ। उनीहरूको डिएनए रिपोर्ट आउन बाँकी रहेको उनले बताए। ‘म कञ्चनपुरमा आएपछि पनि शंकास्पद तीन जनाको डिएनएका लागि रगत केन्द्रमा पठाएको छु,’ उनले भने, ‘त्यसको रिपोर्ट आइसकेको छैन।’ यसअघि निर्मला हत्याकाण्डको अनुसन्धानका लागि १०७ जनाको डिएनए परीक्षण भइसकेको उनले बताए। ‘यही घटनाको अनुसन्धानका लागि हामीले १०७ जनाको डिएनए परीक्षण गरिसकेका छौं,’ उनले भने, ‘डिएनए परीक्षण पनि जारी नै छ।’ घटनापछि चार वर्षसम्म एकपछि अर्को गर्दै निरन्तर अनुसन्धान टोली खटेका छन्। अहिले पनि कञ्चनपुरमा केन्द्र र जिल्लाका अनुसन्धान टोलीहरू सक्रिय छन्। अहिलेसम्म ६३५ जनालाई सोधपुछ गरिएको उनले बताए।  

घटना विवरण

२०७५ साउन १० गते बिहान १३ वर्षीया निर्मला साथी रोशनी बमको घर गइन्। उनी साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवी रोशनीको घर पुगिन्। त्यहाँ पनि निर्मलालाई नभेट्टाएपछि उनले प्रहरी गुहारिन्। तर प्रहरीले आलटाल गरेर राति खोजीमा जान मानेन। दोस्रो दिन बिहान (११ गते) नजिकैको उखुबारीमा घोप्टो परेको अवस्थामा निर्मलाको शव फेला प¥यो। शव फेला परेसँगै दोषीलाई पत्ता लगाउन माग गर्दै आफन्तले प्रदर्शन गरेका थिए। राजनीतिक दलको उपस्थितिमा प्रहरीले दोषी पत्ता लगाउने लिखित सहमति जनाएपछि चार दिनपछि साउन १४ गते निर्मलाका आफन्तले शव बुझेर दाहसंस्कार गरेका थिए। साउन ११ गतेदेखि सुरु भएर एक साता रोकिएको प्रदर्शन साउनको तेस्रो साताबाट पुनः सुरु भयो।

साउन १३ गते सिआइबीका डिएसपी अंगुर जिसी निर्मलाको बलात्कारपछि हत्या अनुसन्धान गर्न कञ्चनपुर आए। जिसीसहितको टोलीले गरेको अनुसन्धानका आधारमा मानसिक सन्तुलन गुमाएका भनिएका भीमदत्त नगरपालिका–१९ स्थित धर्मभक्त टोलका दिलीपसिंह विष्टलाई प्रहरीले बलात्कारपछि हत्या गरेको भनेर भदौ ४ गते सार्वजनिक गर्‍यो।  

निर्दोषलाई दोषी करार गरेको भनेर स्थानीयले आन्दोलन चर्काउँदा भदौ ७ र ८ गते महेन्द्रनगरमा गोली चलेको थियो। प्रहरीको गोली लागि एकजनाको मृत्यु भएको थियो भने कैयौं घाइते भएका थिए। डिएनए रिपोर्ट मेल नखाएको भन्दै प्रहरीले दिलीपसिंहलाई रिहा गरेको थियो। भदौ ७ गते नेपाल सरकारले तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्ली बिष्ट, डिएसपी ज्ञानबहादुर सेठी र प्रमुख जिल्ला अधिकारी कुमार खड्कालाई फिर्ता बोलाएर नयाँ टिम खटायो। गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा भदौ ७ गते गठन गरेको उच्चस्तरीय छानबिन समितिले घटनाबारे एक महिना अध्ययन गरेको थियो। अध्ययनले तयार पारेको प्रतिवेदनमा प्रहरीले प्रमाण नष्ट गरेको, गोली चलाउनु पर्ने अवस्था नहुँदा पनि प्रहरीले गोली चलाएको भन्दै प्रहरीलाई दोषी देखाएर सरकारलाई प्रतिवेदन बुझाएको थियो।  

एआइजी धिरु बस्न्यातको संयोजकत्वमा प्रहरीले प्रमाण नष्ट गर्नुको कारणसहित अध्ययन गर्न विस्तृत छानबिन टोली गठन गरेको थियो। उक्त टोलीको प्रतिवेदनअनुसार तत्कालीन प्रहरी उपरीक्षक दिल्ली बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई भविष्यमा अयोग्य नहुनेगरी बर्खास्त गरेको थियो भने डिएसपी अंगुर जिसी र ज्ञानबहादुर सेठीलगायत ६ जना प्रहरीलाई निलम्बन गरेको थियो। त्यसपछि प्रमाण नष्ट गरेको भन्दै आठ जना प्रहरीविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले उजुरी हालिन्। दिलीपका दाजु खडक बिष्टले भाइलाई प्रहरीले यातना दिएको भन्दै चार प्रहरीविरुद्ध उजुरी दिएका थिए। जिल्ला अदालत कञ्चनपुरले फौजदारी अपराध संहिताअनुसार प्रमाण नष्ट गरेको अभियोग र यातनाविरुद्धको अभियोगमा प्रहरीलाई धरौटीमा रिहा गरेको थियो। अदालबाट सफाइ पाएर सबै प्रहरी काममा फर्केका छन्। तत्कालीन आइजिपी सर्वेन्द्र खनालले डिआइजी सुरज केसीको संयोजकत्वमा गठन गरेको पुनरवलोकन छानबिन समितिले तत्कालीन एआइजी धिरु बस्न्यातको प्रतिवेदन कार्यान्वयन नगर्न सुझाव दिएको थियो। प्रहरी महानिरीक्षकको सचिवालयले उक्त प्रतिवेदन कार्यान्वयन नगर्न निर्देशन दिएको थियो।

प्रकाशित: १० श्रावण २०७९ ०३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App