३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

बिरामीको बेडसम्मै पाइपलाइनबाट अक्सिजन

अस्पताल परिसरमा रहेको अक्सिजन उत्पादन केन्द्र । तस्बिरः हरिकृष्ण गौतम÷नागरिक

बेनी अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीले आवश्यकता अनुसार बेडमै बसेर अक्सिजन लिन पाउने भएका छन् । अस्पताल परिसरमा रहेको अक्सिजन उत्पादन केन्द्रबाट पाइपलाइनको सहायतामा बेडसम्मै अक्सिजन पु¥याइएको छ ।  

बिरामीलाई आवश्यकता परेको बेलामा पाइपबाट आइरहेको अक्सिजनको प्रयोग गर्न सकिन्छ । गण्डकी प्रदेश सरकार, सांसद विकास कोष र बेनी अस्पतालबाट कुल १ करोड २० लाख रुपैयाँको लागतमा जडान गरिएको उक्त प्लान्टबाट अक्सिजन उत्पादन सुरु गरिएपछि अस्पतालमा अक्सिजनको सिलिण्डर खोज्ने समस्याको अन्त्य भएको छ ।

अस्पतालका ३० बेडसम्म पाइपलाइनबाटै अक्सिजन पु¥याइएको अस्पताल संचालक समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।  ‘जटिल अवस्थाका र श्वासप्रश्वास सम्बन्धी समस्या भएका बिरामीको उपचारमा सिलिन्डर बोकेर बेडमा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ, केही संरचना र उपकरण अझै थप्ने तयारीमा छौ,’ अध्यक्ष कटुवालले भने ।  

उनका अनुसार विगतमा अक्सिजन भर्नकै लागि सिलिण्डर लिएर पोखरा लैजानुपर्ने बाध्यता थियो । प्लान्टका लागि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट कुल ८५ लाख, संघीय सांसद भूपेन्द्र थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत रघुगंगा गाउँपालिकाले दिएको १४ लाख रुपैयाँ, बेनी अस्पतालले उपकरण तथा भवनमा १० लाख रुपैयाँ खर्च गरिएको छ ।

अक्सिजनको अत्यधिक खपत हुने आइसियू, इर्मेजेन्सी, नियमित बिरामीलाई भर्ना हुने बेडमा सहज सेवा प्रदान भएपछि बिरामी समेत उत्साहित भएका छन् । अक्सिजन उत्पादन केन्द्रको बिहीबार गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेबी पुनले उद्घाटन गदैं प्रदेशभित्रका सरकारी अस्पतालमा आधुनिक उपकरण र प्रयाप्त जनशक्तिको ब्यवस्था गरिने बताईन् । ‘जटिल रोगको उपचारलाई जिल्लामै सम्भव हुने गरी पूर्वाधार विस्तार गछौं, दुईवर्ष यता अस्पतालमा धेरै परिवर्तन भएको छ,’ मन्त्री पुनले भनिन् ।  

पाइपलाइनसँगै ठूला–साना अक्सिजनका सिलिण्डर समेत प्रयाप्त थपिएको छ । आइसीयुमा राख्नुपर्ने, दम लगायत शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा सहज भएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेण्ट डा. जितेन्द्र कँडेलले बताए । ‘घरमै अक्सिजन दिएर राख्नुपर्ने बिरामीलाई पनि सहज हुन्छ, खर्च र समयको बचत भएको छ’ प्रमुख डा. कँडेलले भने ।  

प्लान्टबाट उत्पादित अक्सिजनमा शुद्धता प्राप्त हुने उनको भनाई छ । हावालाई प्रशोधन गरेर अक्सिजनलाई चारवटा सिलिण्डरमा भर्न मिल्ने उपकरण जडान गरिएको छ । मेसिनसँगै सिधै बेडमा जान आवश्यक पर्ने १२ ठूलो सिलिन्डर र आकस्मिक प्रयोगका लागि २ वटा र १० वटा मौज्जातमा रहेको अस्पतालले जनाएको छ । विगतमा अक्सिजनको अभावले धेरै बिरामीलाई हेलिकप्टर र सवारीसाधनको प्रयोग गरी पोखरासम्म लैजानुपर्ने बाध्यता रहेको थियो ।  

२०७२ मा ५० शैया क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालमा मिर्गौलाका बिरामीका लागि नियमित डायलासिस सेवा, भेन्टिलेटिर सहितको सघन उपचार कक्ष, उपचारमा प्रयोग हुने औजार, शवराख्ने मर्चरी प्लान्ट, फोहोर व्यवस्थापन लगायतका संरचना थप गरिएको छ ।

प्रकाशित: २८ फाल्गुन २०७७ ०६:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App