७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

जुक्तियुक्त रैथाने ज्ञानशक्ति

पहिलो बुझाइ: हजुरबा (स्वर्गीय) ले चार दशकअघि कुकुरको जिउको टोड्के घाउमा चिनी हाल्न (मात्रा उल्लेख गर्न कठिन) लगाउँदा केही दिनमै निको भएको देखेको अनुभव पंक्तिकारसँग छ।

दोस्रो सुनाइ: वर्ष दिन पुग्दै गरेको बच्चालाई दूधमा रत्ती मात्रा शुद्धीकरण (प्रक्रिया ज्ञात नभएको) गरिएको धतुरो खुवाउँदा छातीको घ्यार घ्यार/खोकी/राति ननिदाउने जस्ता समस्या ठीक पारेको साथीको हजुरआमाले नाति पुस्तालाई सगर्व सुनाउनुहुन्थ्यो रे !

तेस्रो भोगाइ: मान्छे र जनावर ओहोरदोहोर गर्न/गराउन तथा सरसामान ओसारपसार गरी जनजीवन सहज बनाउन नदीमाथि तुइन बनाउने, फट्के साँघु (काठको फलेक ओछ्याउने), काठका तखतालाई रुखका लहरा वा लठारो (बाबियो/फलाम/तारको मोटो डोरी) ले बाँधेर झोलुङ्गे पुल हाल्ने, कुटानी पिसानीका लागि पानीघट्ट बनाउने, कोलमा पेलेर तेल निकाल्ने जस्ता उहिलेदेखिकै परम्परागत ज्ञान र अभ्यास कै उपज थिए।

यस अतिरिक्त विभिन्न जातका वनस्पति तथा बोटबिरुवाका पात, बोक्रा, फल, जरा जस्तालाई कुटेर/पिसेर/तेल निकालेर घाउ, खटिरा, दुखाइ, जलन, पेट गडबड, दम आदिमा चिकित्सा विज्ञानको विकास हुनुअघि गाउँठाउँमा यही रैथाने ज्ञानको प्रयोगले रोग बिसेक गराउने चलन थियो। 

काटेको आलो घाउमा सयपत्री फूलको पत्ता माडेर निचोरी रस लगाउने, घाँटी खस्खसाउँदा एक फाँको जिरा मुखमा राखेर चुसिरहने, पेट ढुस्स हुँदा ज्वानोको चूर्णमा वीरेनून मिसाएर मनतातो पानीमा घोली चियाझैँ सुरुप्प सुरुप्प पिउने, रुघा खोकीले छाती खराब हुँदा गाईको घिउ पिठ्युँ र छातीमा दल्ने (खासगरी सानै हुँदा), नवजात शिशुलाई तोरीको तेलले मालिस गर्ने, सिस्नुको तरकारी खाने, अल्लोको कोट लगाउने जस्ता अनुभव संगाल्ने/अपनाउने अहिले पनि भेटिन्छन्।

त्यसैगरी चराचुरुङ्गीका रङ्गीबिरङ्गी प्वाँख सांस्कृतिक पर्वहरूमा प्रयोग गर्ने गरेको देखिन्छ। भेडाको ऊन बनाउने, हरिण/कृष्णसारको सिङको बाजा बनाएर राति राति घर घर बजाएर फेरी लाउने (नाथ सम्प्रदायका/जोगी), हीलाई धुलो बनाएर बोट बिरुवाका लागि मल बनाउने जस्तामघ्ये धेरै परम्परागत प्रचलनलाई आधुनिक विज्ञान प्रविधिको प्रयोगमार्फत व्यवसायीकरण पनि गरिसकिएका छन्।

अर्को युक्तिसंगत कुरा, हावा बहाव हेरेर (पश्चिमी हावा चलेमा बाली सुकाउँछ र पूर्वी हावा चलेमा शीतल हुन्छ र पानी पार्छ), बादलको रङ्ग (बनोट) हेरेर/चट्याङको आवाज सुनेर (पानी र असिना पर्ने भविष्यवाणी गर्ने) अनि त्यसले बालीनाली र सम्पत्तिलाई के कति नोक्सानी गर्छ भनेर आकलन गर्ने, खडेरी कति लम्बिने जस्ता परम्परागत अनुभवका ज्ञानका आधारमा कृषि गतिविधिहरू, जस्तै– सिँचाइ, कुलो, बाली कुर्ने छाप्रो, हावाहुरी छेकबार आदिका बारेमा योजना बनाउने/व्यवस्थापन गर्ने गर्थे।

यी माथिका प्रतिनिधिमूलक तथा उदाहरणमुखी रैथाने ज्ञान बूढाबूढी पुस्तामा असंख्य थिए जो यदाकदा अझै पनि गाउँघरतिर प्रचलनमा देखिन्छन्/भेटिन्छन्।

उपनिवेशकालभन्दा धेरै अघिदेखि छुट्टैखाले सामाजिक तथा सांस्कृतिक (भाषा, संस्कृति, वेशभूषा, विश्वास आदि) पहिचान भएका, प्राकृतिक स्रोतसाधन र क्षेत्रहरूसँग सम्बन्धित भएर अलग्गै वातावरणीय परिवेशमा हुर्के बढेका र समाजमा झुण्ड झुण्ड समूह बनाएर बसेका समूह या व्यक्ति विशेषलाई सामान्यतः ‘रैथाने/स्थानीय’ भन्ने गरिन्छ। 

संयुक्त राष्ट्र सङ्घको अनुमानअनुसार ३७ करोडभन्दा बढी रैथाने मानिस संसारभर ७० देशमा छरिएर रहेका छन्। नेपाल रैथाने मानिसहरू रहेको स्वर्ण भूमिभन्दा हुन्छ। नेपाल सरकारले पहिचान गरेका ५९ रैथाने समूहहरू, जो जनसंख्याको ३५.८ प्रतिशत छन्। जसलाई जनबोलीमा ‘आदिवासी जनजाति’ भनेर चिनिन्छ।

यी जातिविशेषले सदियौंदेखि समुदायमा आधारित भएर गरी/चली/रही/मानिआएका अभ्यास, विश्वास, बुद्धि आदिलाई ’रैथाने ज्ञान’ भनेर बुझिन्छ। जो विगतका पुस्ता÷पुर्खाले ज्ञान आर्जन खातिर बारम्बारका प्रयासमा भएका गल्ती सुधार्दै, पुस्तान्तरण गर्दै, परिमार्जन गर्दै साधन स्रोतको दिगो व्यवस्थापन (कृषि–वन, पानी चलाउने तरिका, जैविक विविधता बचाउ विधि आदि) गर्दा पर्यावरण दर्बिलो र जलवायु परिवर्तनको नगन्य असर रहेको थियो भन्न सकिन्छ।

संसारका सबै भेगमा भेटिने रैथाने मानिसहरूले वैश्विक भूभागको सम्भवतः २२ प्रतिशत स्वामित्व लिएको, ओगटेको वा स्रोतहरूको प्रयोग गरेको अध्ययनमा देखिन्छ। संसारभरको जैविक विविधताको ८० प्रतिशत रैथाने क्षेत्रहरू रहेका छन् । पृथ्वीलाई बचाउने हो भने रैथाने अधिकारलाई सुनिश्चित गर्नुपर्ने हुन्छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले रैथाने जनताको भाषा, धर्म, संस्कृतिको प्रवद्र्घ्न, जगेर्ना र बचाउ गर्न नगरपालिकाहरूलाई अधिकार प्रदान गरेको छ। नेपाल आदिवासी जनजातिको अधिकारको विश्वव्यापी घोषणा र अन्तर्राष्ट्रिय श्रम संगठनको विभिन्न अधिवेशनको हस्ताक्षरकर्ताको नाताले सांस्कृतिक अखण्डता, जमिन र स्रोतमाथिको अधिकार, विभेद गर्न नपाइने, राज्यले गर्ने निर्णयले पर्न जाने असरबारे सरसल्लाह गर्ने जस्ता प्रावधानहरूको परिपालना गर्नुपर्ने हुन्छ।

अन्तरसरकारी जलवायु परिवर्तन समूहका अनुसार यसले निम्त्याउने प्राकृतिक विपत्तिका कारण कृषि उत्पादकत्व घट्न जाने हुनाले खाद्य सुरक्षालाई गम्भीर धक्का दिन्छ । खासगरी प्राकृतिक स्रोतसाधनमा निर्भर रहेका रैथाने समूहका जनजीविका (गाँस, बास, कपास आदि) माथि निर्मम प्रहार गर्दछ। औसतरूपमा तापक्रम क्रमशः १.४–२०३०, २.८–२०६० र ४.७– २०९० (डिग्री सेन्टिग्रेड) सम्म बढ्दै बढ्दै जाँदा मानवीय क्षति र भौतिक हानि नोक्सानी वार्षिकरूपमा अकल्पनीयढंगले वृद्धि हुने देखिन्छ।

एक अध्ययनअनुसार नेपालको वार्षिक तापक्रम वृद्धि ०.०६ डिग्री सेल्सियस बढोत्तरी हुँदै गरेको देखाउँछ, जो वैश्विक औसत तापक्रमभन्दा बढी र तीव्र रहेको छ । फलस्वरूप जाडोमा अत्यधिक जाडो र गर्मीमा अत्यधिक गर्मी हुने साथसाथै मनसुन सुरु हुनुअघि नै (अत्यधिक) वर्षा हुने र चाँडै मनसुन जाने गर्नाले (हिउँदे) बालीलानी नसप्रिने तथा उत्पादकत्व घट्दै गएको कृषकको भोगाइ रहेको छ।

अब पनि मानवले पृथ्वीको पर्यावरणलाई ख्याल ख्याल गरे जलवायु परिवर्तनले निम्त्याउने दुष्परिणामहरू अल्प/खण्ड/अनावृष्टि, बाढी, पहिरो, आँधीबेहरी, उखरमाउलो गर्मी, अघोर जाडो आदि जस्ताले वर्तमानका साथै भावी पुस्ता अझ बढी बेहाल हुने देखिन्छ। पृथ्वीको बचाउ गर्न रैथाने ज्ञान र अधिकारलाई सुनिश्चित गर्दै लान नसके विनाशको मार्गतिर धकेलिनुपर्ने परिस्थिति धेरै टाढा नहुन सक्छ।

अन्त्यमा, परम्परागत/रैथाने ज्ञानको भण्डारलाई नयाँ पिँढीले बेवास्ता गर्दै जाने हो भने भाषा र संस्कृति मात्र विलुप्त हुँदैनन्, विकासका अनगिन्ती पक्ष बिग्रन्छन्। त्यसैले यसको जीवन, जगत् र पर्यावरणसँग रहेको अन्योन्याश्रित सम्बन्ध र अभ्यासलाई जति धेरै खोजमूलक अध्ययन र अनुसन्धानले उजिल्याउँदै लान सकियो त्यति धेरै जलवायु परिवर्तनसम्बन्धी भयाबहतालाई चिर्दै अनुकूलन र न्यूनीकरणका उपायहरू मुखर हुन पुग्छन्। जसको बृहत् अभिलेख रचनामार्फत पुस्तान्तरण गर्दै आधुनिक विज्ञानले मथ्दै, पुष्टि गर्दै लगेर जोड्ने हो भने ज्ञानको नवीन सेतु स्रोत निर्माण हुन सक्छ। अझ भनौँ यस ज्ञानभित्र लुकेको अपार स्रोत शक्तिले जलवायु परिवर्तनका दुष्परिणामबाट उन्मुक्ति दिलाउने प्रशस्त जुक्ति मार्गहरू फेला पर्दै जानाले रामवाण सिद्ध हुन सक्छन्।

प्रकाशित: ३ वैशाख २०८१ ०६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App