३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोरोनाले सुस्ताएको पर्यटन-व्यवसाय उकास्न महोत्सव

इलाम, पाँचथर, ताप्लेजुङ र झापाको पर्यटन प्रवर्धन गर्न आउँदो चैत १५ देखि २२ सम्म केचना–कञ्चनजंघा पर्यटन तथा चलचित्र महोत्सव आयोजना गरिने भएको छ। लामो समयदेखिको कोरोना महामारीले सुस्ताएको पर्यटन र व्यवसाय उकास्न आयोजित महोत्सवको तयारी धमाधम भइरहेको आयोजकले जनाएको छ।

केचना–कञ्चनजंघा पर्यटन विकास समिति, होटल एसोसिएसन, इलाम उद्योग वाणिज्य संघ, इलाम नगरपालिकाअन्तर्गतको पर्यटन समितिलगायत दर्जन हाराहारी संघ–संस्थाको सहकार्यमा इलाममा महोत्सव आयोजना गरिएको हो। स्थानीय उत्पादनको बजार प्रवर्धन गर्दै पर्यटनमा सहयोग गर्न महोत्सव आयोजना गरिएको छ।

चारै जिल्लाको कृषि, स्थानीय कला, संस्कृतिलगायतको प्रवर्धन गर्दै बजारीकरण गर्न महोत्सवले सघाउने केचना–कञ्चनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव धौरालीले बताए। महोत्सवमा इलामको ठूलो टुँडिखेलमा स्टलहरू राख्ने व्यवस्था मिलाइँदैछ। त्यहाँ स्थानीय उत्पादनका सय हाराहारी स्टल रहने उनको भनाइ छ।

‘आउँदो चैत १ देखि ५ गतेसम्म स्टल बुकिङ खुला गरिनेछ,’ उनले भने, ‘स्टलका लागि तयारी भइरहेको छ, चारै जिल्लाका ४२ पालिकाबाट कम्तीमा १–१ स्टल रहनेगरी त्यसको व्यवस्थापन गरिनेछ।’ धौरालीका अनुसार कृषि उत्पादन, स्थानीय कला, संस्कृतिलगायतमात्र नभई पर्यटकीय क्षेत्रको प्रचारका स्टलसमेत रहने छन्। ‘पर्यटन प्रवर्धनका लागि चारै जिल्लाका पर्यटकीय क्षेत्रको समेत स्टल राखिनेछ,’ उनले भने, ‘कृषि उत्पादन, कला, संस्कृतिलगायतलाई पर्यटनमा जोड्न सघाइनेछ।’

महोत्सवमा पालिकाहरूबीच व्यापारिक समन्वयका लागि अन्तरक्रियासमेत आयोजना गरिएको छ। कार्यक्रममा पालिकाका प्रमुख र व्यवसायीहरू भेला भइ पर्यटन, कृषि, कला, संस्कृतिलगायतको आदानप्रदान गर्ने अवसर हुनेछ। स्थानीय खानेकुराका समेत स्टल राखिनेछ। ‘महोत्सवमा पालिकाहरूले आ–आफ्ना पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नेछन्,’ धौरालीले भने, ‘बी टु बी (बिजनेस टु बिजनेस) छलफलले व्यवसायीलाई व्यवसाय प्रवर्धनमा सहयोग पुग्छ।’

महोत्सवको अर्काे आकर्षण हो– सांस्कृतिक कार्यक्रम। देशका चर्चित कलाकारहरू महोत्सवमा सहभागी हुनेछन्। ‘मेची क्षेत्रका कलाकर्मीहरूलाई समेत महोत्सवमा सक्रिय सहभागिताका लागि अनुरोध गरिनेछ,’ उनले भने, ‘कलाकर्मीका माध्यमबाट यो क्षेत्रको प्रचारप्रसार प्रयास गरिएको छ।’ महोत्सवमा लोकदोहोरी कार्यक्रमसमेत राखिएको छ। नेपाल चलचित्र विकास बोर्डले पनि महोत्सवका लागि सघाउनेछ।

चलचित्र महोत्सवमा कलाकार, चलचित्र निर्माता, निर्देशक, कथाकार, संगीतकारलगायतसमेत सहभागी हुनेछन्। उनीहरू चारै जिल्लाका विभिन्न पर्यटकीय क्षेत्र पुग्नेछन् र चलचित्र छायांकनस्थल अवलोकन पनि गर्नेछन्। ‘चलचित्रका माध्यमबाट पर्यटन प्रवर्धनमा ज्यादै ठूलो सहयोग पुग्छ,’ चलचित्रकर्मी केवल तामाङले भने, ‘इलामसहितका जिल्लामा रहेका पर्यटकीयस्थल चलचित्र छायांकनका लागि निकै लोभलाग्दा छन्।’

उनले महोत्सवमा चलचित्रकर्मीको सहभागिता रहने बताए। त्यतिमात्र होइन, चलचित्र निर्माण, डिजाइन, छायांकन, उत्पादन, प्रचारलगायतबारे अन्तरक्रियासमेत आयोजना गरिएको छ। यसमा चलचित्रबारे विभिन्न विधाका व्यक्तिसँग छलफल गरिनेछ। महोत्सव प्रवर्धनका लागि काठमाडौं, पोखरा, चितवनसहित भारतको दार्जिलिङ, सिलिगुडी, मिरिक, गान्तोक, बिहारलगायत स्थानसम्म पुगेर प्रचारप्रसार गरिनेछ। महोत्सवको तयारी धमाधम भइरहेको धौरालीले जनाए।

महोत्सवले इलामसहित चारै जिल्लाको होटल व्यवसायमा सहयोग पुग्ने होटल एसोसिएसन अध्यक्ष देवी पौडेलले बताए। ‘लामो समयदेखि कोरोनाका कारण थिलथिलो बनेको होटल व्यवसाय उकास्न महोत्सवले सघाउने आशा छ,’ उनले भने, ‘अब होटलहरूको सेवा सहज भयो भन्ने प्रचारका लागि पनि महोत्सव आवश्यक भएको छ।’

इलाम उद्योग वाणिज्य संघ अध्यक्ष ईश्वर चिपालुले महोत्सवले चौतर्फी व्यवसायमा सहयोग गर्ने बताए। ‘सुस्ताएको व्यवसाय माथि उठाउन महोत्सवले इँटा थप्नेछ,’ उनले भने, ‘यसले व्यवसायीबीच सहकार्य गर्नेसमेत अवसर दिन्छ।’  कार्यकारी निर्देशक धौरालीले कोरोना महामारीका पर्यटन क्षेत्र ज्यादै चुनौतीपूर्ण बनेका बेला पुनः यसमा उभार ल्याउन महोत्सव आयोजना गरेको बताए।

 ‘अब चाहिँ घुमघाम, व्यापार–व्यवसाय गर्ने वातावरण केही सहज भएको रहेछ भन्ने प्रचार गर्न महोत्सव आयोजना गरिएको हो,’ उनले भने, ‘हामी लामो समयदेखि पूर्वका विभिन्न स्थानमा उत्सव–महोत्सव आयोजना गरिरहेका छौं, यसले यहाँको आर्थिक अवस्था चलायमान बनाउन सहयोग पुगेको छ।’

इलाम, पाँचथर, ताप्लेजुङ र झापा पूर्वमा भारतसँग जोडिएका छन्। यी जिल्लाका व्यवसायी र सरोकारवालाले नजिकका भारतीय व्यवसायी र पर्यटनकर्मीसँगसमेत बेला–बेला समन्वय र सहकार्य गरिरहेका छन्। दुवैतिर आयोजना गरिएका पर्यटन उत्सव, महोत्सवहरूमा दुवै देशका व्यवसायी र सरोकारवाला सहभागी हुनेगरेका छन्। उनीहरूले आपसी सहकार्यमा मात्र पर्यटन प्रवर्धन गर्न सहयोग पुग्ने बताउनेगरेका छन्। 

प्रकाशित: २२ फाल्गुन २०७८ ०५:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App