११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उत्पादनले बजार नपाउँदा महिला उद्यमी मर्कामा

बागलुङको तमानखोला गाउँपालिका– ३ तमान गाउँका १५ जना उत्साहित महिला मिलेर ढाका उद्योग सञ्चालन गरे। उनीहरुले निरन्तर ढाका बुन्न थाले तर आफ्ना उत्पादनले बजार नपाउँदा उनीहरु निराश भएका छन्।

उत्पादित ढाकाले गोदाम भरिँदै गए पनि माग निकै कम हुने गरेको छ। ती सामग्री बेच्न उनीहरु कहिले बुर्तिबाङ बजार त कहिले म्याग्दीसम्म पुग्छन्। लाखौंको लगानीका सामग्री गोदाममै थन्किएका उनीहरुको गुनासो छ। तमान गाउँको कल्याण आमा समूहले सञ्चालन गरेको उद्योगमा हाल १५ जना महिला आबद्ध छन्।

विसं २०७५ मा संगम परामर्श केन्द्र बागलुङले १५ दिने प्रशिक्षण दिएपछि उनीहरुले उद्योग सञ्चालन गरो ह’न्। प्रारम्भमा ४५ हजार लगानीमा सुरु गरिएको उद्योगबाट अहिले सात लाख बराबरको सामग्री तयार भएका छन्। आफ्नो उत्पादनले बजार नपाउँदा आफैँले बोकेर ग्राहक खोज्दै हिँड्नुपर्ने बाध्यता भएको समूहकी अध्यक्ष टीकादेवी बुढा घर्तीले बताइन्।  

उद्योगबाट ढाकाको सल, टोपी, लुंगी, दोसल्ला, खादालगायत सामग्री उत्पादन गर्ने गरेको उनको भनाइ छ। विगतको तुलनामा उत्पादनले बजार पाए पनि सोचेअनुसारको नहुँदा समस्या भएको घर्तीले बताइन्।

बिहान बेलुका घरका कामधन्दा गर्ने र दिउँसोको समय निकालेर उद्योगमा काम गर्दै आएको भन्दै उत्पादनले बजार नपाउँदा दुःख लाग्ने घर्ती बताउँछिन्। उद्योगमा एकजनाले महिनाको ३५-४० हजारको सामग्री तयार गर्ने गरेको सुनाउँदै बिक्री नहुँदा एक हजार पनि कमाउन मुस्किलपर्ने उनले गुनासो गरिन्।

‘फुर्सदको समयमा काम गर्छौं राम्रो बजार हुन्थ्यो भने पूरै समय दिएर काम गर्ने थियौं, तर समय निकालेर काम गर्दा पनि धेरै कपडा बनाएका छौँ, एकजनाले हजारौँको काम गर्छौं, तर बिक्री नहुँदा कहिले त एक हजार पनि पाउन मुस्किल छ’, उनले भनिन्, ‘सामानले कोठा भरिएका छन्, कहिलेकाहीँ नजिकैका ग्राहकहरु आएर सामान लैजानुहुन्छ, टाढाबाट भने आउनुहुन्न, बजार पाउन गाह्रो भएको छ।’

समूहमा काम गर्दै आएकी जुनुमाया घर्तीमगरले सुरुमा उत्साहित भएर काम गरेको भन्दै अहिले उत्पादनले बजार नपाउँदा जाँगर मर्दै गएको बताइन्। आफूहरु विस्तारै राम्रो हुँदै जानेमा आशावादी रहेको उनको भनाइ छ। समयसमयमा गाउँपालिकाले प्रयोजनका लागि खरिद गरेर प्रोहोत्सान गरे पनि बजारीकरणका लागि पहल हुन नसकेको उनले बताएन्। सरकारले बजारीकरणको व्यवस्थापन गरिदिए अझै धेरै महिलाले यसबाट स्वरोजगार हुने उनी बताउँछिन्।

उनले भनिन्, ‘गाउँमा घुम्न आउनेले राम्रो लागेर टोपी, लुंगी, खादा र दोसल्ला किनेर लैजानुहुन्छ तर सोचेअनुसार बिक्री भएको छैन। समय मिलाएर हामी बजारमा पुग्छौँ, गाउँमा जान्छौँ, मेलापर्वमा अलिअलि बिक्री हुन्छ, बजारको मात्रै समस्या छ, अरु सबै हामीले मिलाएका छौँ।’

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले महिला उद्यमीलाई मेसिनलगायत अन्य सहयोग गरिएको भन्दै बजारीकरणका लागि पहल थालेको बताए। समयसमयमा महिला उद्यमीहरुलाई प्रोत्साहन गर्दै आएको भन्दै उनले गाउँदेखि सहरसम्म आयातीत सामानको बढ्दो प्रयोगले स्थानीयस्तरमा उत्पादित वस्तुले बजार नपाएको बताए। उद्यमीलाई बजार खोज्दै हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्ने उनी बताउँछिन्।

‘पालिकाको तर्फबाट सुरुमा मेसिन सहयोग गरिएको छ, पालिकाकै सहयोगमा भवन निर्माण भइरहेको छ। उहाँहरुलाई प्रथामिकताका साथ सहयोग गर्दै आएका छौँ । यहाँका उत्पादनलाइ प्राथमिकतामा राखेका छौँ। महिला उद्यमीलाई निरन्तर सहयोग गर्ने छौँ, मेला महोत्सवमा सामान बिक्रीका लागि लैजान यातायात खर्च र स्टल खर्च बेहोर्ने योजना पनि बनाएका छौँ। उद्योगलाई थप व्यवस्थित बनाउन पालिकाले अध्ययन गरिरहेको छ’, उनले भने। –रासस

प्रकाशित: २६ फाल्गुन २०८० १३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App