३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखराका वर्षभरिका हवाई यात्रु झन्डै नौ लाख

अहिलेसम्मकै बढी यात्रु

पोखराको पुरानो विमानस्थलमा हवाई उडानको पर्खाइमा रहेका यात्रु। फाइल तस्बिरः उमेश पुन÷नागरिक

सामान्य अवस्थामा दिउँसो चारबजे अघि नै सबै उडान सकिसक्नुपर्ने, धानवमार्ग छोटो हुँदा पूर्ण भार क्षमतामा यात्रु बोक्न नसक्नु, सबै हवाई कम्पनिका जहाज आउजाउ गर्न नसक्नु जस्ता समस्याका बाबजुत पनि पोखराले वर्षभरिमा झन्डै नौलाख हवाई यात्रुलाई सेवा दिएको छ। सन् २०२२ मा सबैगरि ८ लाख ८३ हजार ५ सय ३६ जना हवाई यात्रुलाई पोखराको विमानस्थलले सेवा दिएको हो। ती हवाई यात्रुमध्ये ८१ हजार १ सय ७६ जना विदेशी हुन्।

२०२३ जनवरी १ देखि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि मात्र पोखराको पुरानो विमानस्थलका धेरैजसो उडान नयाँबाट गर्न थालिएको छ। तर, २०२२ को झन्डै नौलाख हवाई यात्रु भने पोखराको पुरानो विमानस्थलबाट आउजाउ गरेका हुन्। हरेक वर्ष हवाई यात्रु बढिरहँदा आगामि वर्ष पोखराका हवाई यात्रु अझै धेरै हुने अपेक्षा नागरिक उड्ययन प्राधिकरणका पदाधिकारीहरुको छ। सन् २०२२ का ती सबै हवाई यात्रुको संख्या अहिलेसम्मकै बढी हो।

सन् २०२३ मा कम्तिमा पनि १० लाख यात्रुलाई सेवा दिने लक्ष्य पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लिएको पदाधिकारी बताउँछन्। प्राधिकरणका अधिकृत देवराज सुवेदीले सिमित सेवासुविधाका बाबजुत पनि पुरानो विमानस्थलले अहिलेसम्मकै बढी हवाई यात्रुलाई सेवा दिएको बताए।

‘हवाई यात्रु निकै नै बढेका छन्। कोरोना भाइरस संक्रमणपछि त आन्तरिक हवाई यात्रु निकै नै थपिए,’ सुवेदीले भने, ‘पुरानो विमानस्थलबाट एकैदिनमा ३८ सय जना भन्दा बढी यात्रुलाई सेवा दिएका थियौ। त्यो संख्या निकै नै ठुलो हो। जबकी विमानस्थलका आफ्नै केही समस्या थिए।’  

उनका अनुसार पुरानै विमानस्थल संचालनमा रहेको अवस्थामा पनि आगामि दिनमा हवाई यात्रु कम हुने अवस्था थिएन, किनकी पछिल्लो समय हवाई यात्रु हरेक दिनजसो बढिरहेका छन्। झनै अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएकोले अगामि दिनमा अझै यात्रु बढ्ने पक्का जस्तै रहेको उनले बताए। उनका अनुसार सन् २०२३ मा  हवाई यात्रु अझै धेरै बढ्ने पयापर््त आधार छन्। ती मध्ये ठुला हवाईजहाज हुने सबैजसो कम्पनिले अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थाल्नु, धावनमार्ग लामो भएकोले पूर्णभार क्षमता अनुसार यात्रु बोक्न सक्नु, अन्तर प्रदेश उडान पनि थपिँदै जानु मुख्य आधार छन्।  

त्यसबाहेक पुरानो विमानस्थल भिएफआर (भिजुअल फ्लाईट रुल्स) अनुसार चल्दथ्यो। तर, अन्तर्राष्ट्रिय विमानस्थलमा आइएफआर (इन्स्ट्रुुमेन्ट फ्लाईट रुल्स) अनुसार संचालनको तयारी हुँदा रात्रीकालिन उडान पनि हुने हुँदा यात्रु थपिने अपेक्षा छ। हवाई कम्पनिले पोखरालाई आधार मानेर जहाजलाई पोखराबाटै पहिलो उडान थाल्ने योजना समेत बनाउँदा यात्रु संख्या थप्न बल पुग्ने उनले बताए। त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थल भएकोले अन्तर्राष्ट्रिय उडान पनि थपिएमा यात्रु अझै बढ्नेछन्।  

‘पुरानो विमास्थलबाट अल्ट्रालाइट, हेलिकप्टर र छोटो धावनमार्गमा उडान र अवतरण हुने (स्टल एयरक्राफ्ट) मात्र संचालन हुन्छन्। ती उडानबाट पनि यात्रुको योगदान त हुन्छ तर, त्यो आकार निकै नै कम हुन्छ। ५ प्रतिशत हिस्सा मात्र पुरानो विमानस्थलको हुनेछ,’ उनले भने, ‘पूर्ण क्षमतामा संचालन गर्न सक्ने हो भने आगामि वर्षको यात्रु आकार निकै नै बढी हुनेछ। तर, ती सबै व्यवस्थापन हुनका लागि उडान संख्या बढाउनुपर्छ। अन्तर्राष्ट्रिय उडानको लागि पहल थाल्नुपर्छ।’  

अहिले पोखरा–मुग्लिन राजमार्ग बिस्तारको क्रममा रहँदा स्थलमार्गको यात्रा झन्झटिलो हुँदै जाँदा पनि हवाई यात्रु थपिएको उनले बताए। त्यत्ति मात्र नभई पर्यटन क्षेत्रमा आन्तरिक पाहुना पनि बढिरहेका छन्। घुमफिरमा आन्तरिक पाहुनाको हिस्सा बढिरहँदा त्यसको योगदान पनि हवाई यात्रामा थपिएको सुवेदीले बताए।

कोरोना भाइरस संक्रमण कमजोर हुँदै जाँदा सन् २०२२ मा विदेशी हवाई यात्रु अघिल्ला वर्ष भन्दा धेरै नै बढेका छन्। सन् २०२१ मा पोखराका विदेशी हवाई यात्रु जम्मा ८ हजार ४९ थिए। तर, अहिले त्यो संख्या  सन् २०२२ मा बढेर ८१ हजार १ सय ७६ पुगेको छ। त्यो संख्या कोरोना संक्रमण सुरु हुनुअघि सन् २०१९ मा १ लाख ९३ हजार ४ सय ४२ थियो। ‘कोरोना संक्रमण कमजोर हुँदै गर्दा नेपाल भित्रिने विदेशी पाहुना पनि बढिरहेका छन। त्यसैले विदेशी पाहुनाको आकार आगामि दिनमा झनै बढ्दै जाँदा हवाई यात्रुको आकार बढाउन सघाउनेछ,’ उनले भने।  

हवाई कम्पनिका पदाधिकारी पनि अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु भएपछि आगामि दिनमा पोखरामा हवाई यात्रु अझै बढ्ने बताउँछन्। बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले पुरानो विमानस्थलबाट केही अप्ठेराका बाबजुत पनि उडान गर्दा हवाई यात्रु पर्याप्त भएकोमा अब झनै सहज भएको बताए।  

‘चिसो मौसममा त करिब पूर्ण भार क्षमतामा उडान गर्न सकिन्थ्यो। तर, गर्मि समयमा तौल घटाउनुपर्दथ्यो। तर, अन्तर्राष्ट्रिय विमानस्थलमा अब भारको समस्या नहोला, किनकी धावनमार्ग लामो भएकोले उडान सहज छ,’ बरालले भने, ‘त्यसबाहेक रात्रीकालिन उडान गर्न पाइने भएकोले पनि अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान संख्या बढ्नेछन। त्यसले हवाई यात्रु थप्न सघाउनेछ।’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामि फेब्रुअरीदेखि बल्ल आएफआर प्रविधिमा संचालन हुँदै गर्दा राती अबेरसम्म पनि उडान गर्न सकिने उनले बताए।  

विमनास्थलका अनुसार सन् २०१८ मा पोखराका हवाई यात्रुको संख्या ६ लाख ९ हजार ९ सय ७५ हुँदा आन्तरिकको संख्या मात्र ४ लाख ३० हजार १ सय ६५ रहेको थियो। २०१८ मा पोखरामा १ लाख ७९ हजार ८ सय १० जना विदेशी हवाई यात्रु थिए। २०१९ मा पोखराका आन्तरिक हवाई यात्रु ५ लाख २७ हजार २ सय ७२ थिए। त्यो वर्ष सबैगरि पोखरामा ७ लाख २० हजार ७ सय १४ जना हवाई यात्रुको आउजाउ हुँदा विदेशीको संख्या १ लाख ९३ हजार ४ सय ४२ थियो।

कोरोना संक्रमण रहिरहँदा सन् २०२० मा पोखराको हवाई यात्रुको संख्या २ लाख ५७ हजार २० थियो। ती मध्ये २५ हजार ५ सय ८५ जना विदेशी हुँदा आन्तरिक यात्रुको संख्या २ लाख ३१ हजार ४ सय ३५ थियो।  सन् २०२१ मा पोखराका हवाई यात्रुको संख्या ५ लाख २९ हजार ९ सय ४४ पुगेको थियो। ती मध्ये ८ हजार ४९ जना मात्र विदेशी यात्रु थिए। बाँकी हवाई यात्रुमध्ये ५ लाख २१ हजार ८ सय ९५ जना आन्तरिक यात्रु रहेको विमानस्थलको तथ्यांकले देखाएको छ।  

प्रकाशित: २९ पुस २०७९ ०९:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App