१२ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

कडक मान्छे: कोमल निबन्ध

पुस्तक

एक जमाना यस्तो पनि थियो, छापा लेखनमा दुईथरी लेखनको अलिक बढ्ता नै चर्चा हुने गथ्र्यो। एउटा कित्तामा थिए, कलम समातेपछि जसलाई नि एकोहोरो गाली गरिरहने र अलिक नमिठो चिरिस्स लाग्ने शब्द बुनोट र बनोटमा अलिक बढ्ता राजनैतिक आग्रह बोकेका देब्रे ढल्कुवा लेखक।

अर्को कित्तामा थिए, झन्डैझन्डै त्यस्तै लाग्ने तर अलिक काव्यिक शैली तर सघन प्रहारमा कोही कसैलाई नि नछाड्ने, कथाले मागेमा आफ्नालाई झन् बढ्ता उछित्तो काढ्ने खाँटी दाहिने ढल्कुवा लेखक। त्यही दोस्रो कित्तामा थिए कवि तथा समीक्षक हरि अधिकारी, जसलाई म कडक मान्छे भन्न रुचाउँछु।

त्यसताका दाहिने ढल्कुवा समीक्षा तथा भूमिका लेखनमा पनि दुईखाले चर्चा थियो। एकथरी अलिक मखमली थिए, जो सकभर कसैको नराम्रो लेख्दैनथे। देख्दैनथे अथवा देखेर पनि लेख्दैनथे, उनै जानून्। तर, प्रायः प्राध्यापकीय शैलीमा शुभेच्छा लेखिदिन्थे। लाग्थ्यो, त्यो कुनै प्रवर्धनात्मक आलेख मात्रै हो।

अर्काथरी थिए, किताब बजारमा आएको एक डेढ हप्ता नबित्दै उछित्तो काढिहाल्थे, मानौं कि त्यो बिचरा लेखकले उनैको खरबारीमा आगो लगाएको छ, मकैबारी नै फाँडेको छ। हो त्यो दोस्रो कोटिमै पर्थे यी कडक मान्छे। मान्छेहरू भन्थे, हरि अधिकारीको उछित्तो पढेर बल्ल किताब किनुम्ला भनेको आएन त अहिलेसम्म, हैन किताब ठिकै रै’छ कि कसो? तर, ढिलोचाँडो आइहाल्थ्यो।

अर्काथरी भन्थे, दुनियाको उछित्तो काढ्नेले आफ्नैचाहिँ कस्तो लेख्छ हँ? यस्तै प्रश्नले घोचेर मैले नि यी कडक मान्छेका अधिकांश किताब पढेको छु, जब यिनले ‘मदन पुरस्कार पाउने मध्ये असी प्रतिशत किताब झुर छन्’ भने। अझ, नेपाली साहित्य बजारमा आएका पन्चान्नब्बे प्रतिशत किताब त घाँस-पराल मात्र हुन् पनि भने। भनेकै कुरा गर्दा त, उनले मदन पुरस्कारलाई कमल दीक्षितको बक्सिस् हो भनेर पनि ठोकेका छन्।

प्रायः सबैखाले पुरस्कार, सम्मान, अभिनन्दन आदिदेखि अलिक पर बस्न रुचाउने उनले आफ्नो किताब ‘प्रतिनायक’ मदन पुरस्कार सूचीमा परेको साल भने मौन बसे। भन्न त, प्रकाशकले दर्ता गराएको होला, त्यसमा मेरो केही हात छैन भनेर उम्किने गर्छन् प्रायः लेखकहरू यस्तोमा। उनी पनि त्यसै भन्न सक्छन् भन्न त। यो त सब भन्ने कुरा न हो।

मैले चिनेको हरिदाइ कट्टर कांग्रेसी हुन् तर कांग्रेसको नाममै हुन्डी र ठेक्कापट्टा नलिनेखाले प्रतिपक्षी प्रतिनायक हुन्। उनी आफूलाई लागेको कुरा नाफाघाटा, आफ्नोअर्को केही नभनी उछित्तो काढ्ने समीक्षक हुन् भन्ठान्छु म। जब ताना शर्माले गरेको सुम्निमाको अनुवादलाई केस्राकेस्रा केलाएर नङ्ग्याउने काम गरे, अनि मैले उनलाई कडक मान्छे भन्न थालेको हुँ। 

उमेरसँगै उनको कडकपन क्रमशः नरम हुँदै गएको प्रतीत हुन्छ अचेल। उनी जति कडक छन्, उति नरम र मुलायम निबन्ध लेख्छन्। उनको लेखकीय ऊर्जामा कुनै कमी आएको छैन। यहाँ उनैको पछिल्लो समय प्रकाशित कोमल निबन्धहरूको साक्षी बस्ने क्रममा छु म। हरि अधिकारी: कडक मान्छे-कोमल निबन्ध।

नेपाली राजनीतिका शिखर पुरुषहरू बिपी, गणेशमान, किसुनजीजस्ता व्यक्तित्वहरूसित सङ्गत गरेका उनले किसुनजीको जीवन कथालाई केन्द्रमा राखेर ‘एक्लो नायक’ उपन्यास लेखेका छन्, जसमा बिपी, गणेशमान, लक्ष्मीप्रसाद, मरिचमान, रमेशनाथ पाण्डेदेखि रानी ऐश्वर्यसम्मका नखुलेका केही पाटाहरू खुलेका छन्। त्यसैमा त हो नि गिरिजाप्रसादलाई सम्झौतावादी करार गरिएको। सुशील दाइलाई गिरिजाको ग्लासमा चिया थप्ने मान्छे करार गरिएको। मौका मिलाईमिलाई कोही कसैलाई बाँकी नराख्ने उनलाई मान्छेहरू घमन्डी नि भन्छन्, तर म भन्दिनँ।

२०४२ सालतिर हुँदाखाँदाको जागिर हापेर प्रजातान्त्रिक आन्दोलनमा होमिएका उनी राजनीति, पत्रकारिता र साहित्य सबैतिर भेटिन्छन्। उनी कुनैकुनै किताबलाई किताब नभएर पाखण्ड भनिदिन्छन् र त्यही पाखण्डको नकाव उतार्न आफूले समीक्षा लेखेको स्वीकार्छन्।

आत्मकथाको नाममा फटाहा कुरा लेखेर आफूलाई मार्केटिङ गर्ने केही लेखकको उछित्तो काढेका थिए। एकताका समीक्षा लेखेकै भरमा धेरैजना लेखकसित बेलाबेला परेको राम्रै कुराकानी आफ्ना अन्तर्वार्ता तथा लेखहरूमै जमेर लेख्ने गर्छन् उनी। एकताका किशोर नेपालसित कहीँकतै खचपच परेको पढेको थिएँ। कडक मान्छे, त्यस्तो खचपच प्रायः मान्छेहरूसित बेलाबेला परिरहन्छ उनको।

अब उनका निबन्धमा केन्द्रित बनौँ केहीबेर। हरि अधिकारीद्वारा सङ्कलित गद्य रचनामा उनका २३ वटा निबन्ध/प्रबन्धहरू छन्, जहाँ हामी बलबहादुर पाँडे, भैरव अर्याल, नारायणबहादुर सिंह, सूर्यप्रसाद उपाध्यायहरूदेखि बिपी, गणेशमान, किसुनजीहरू भेट्न सक्छौँ।

२०३३ साल दसैँको निकापर्सि बाग्मती नदीको खोँचमा हामफालेर आत्महत्या गर्ने भैरव अर्याल पनि यतैकतै भेटिन्छन् किताबमा। बनारसमा दुईचार पैसामा कविता बेच्ने देवकोटादेखि त्यसताकाको विख्यात पुराणवाचक कविप्रसाद गौतमकी अनुयायी, देवकोटाको भाषामा उनकी बज्यै पनि भेटिन्छिन्।

कतिपय प्रसङ्गहरूमा गणेशमान सिंहको मेरा कथाका पानाहरू, किसुनजीको मेरो म र बिपीको आत्मवृतान्तका प्रसङ्गहरू पनि दोहोरिन्छन्। तर, फरक स्वर र शैलीमा। यस अर्थमा, स्वाभाविक लाग्छन्। किताबमा उनका निजी जीवनका भोगाइहरू छन्। देखेका, सुनेका, भोगेका वा स्पर्श गरेका अनुभूतिहरूको कोलाज हो किताब, जसलाई लेखक राजकुमार बानिया हरि अधिकारीको ‘सेल्फ पोट्रेट’ भन्न रुचाउँछन्। मलाई पनि त्यस्तै लाग्छ।

किताबमा कमरेड मोहनबिक्रम सिंहदेखि कलाकार शुभद्रा अधिकारी, कवि मोहन कोइराला हुँदै सायर इन्दौरीसम्म पनि भेट्न सकिन्छ। पोखरा पनि भेटिन्छ। युरोप, अमेरिका त भेटिने नै भयो। काठमाडौंका खाजा घरदेखि अमेरिकी रेड रक पवसम्म भेटिन्छ। पवबाहिरका चिटिक्कका स्मोकिङ कर्नर त भेटिने नै भए।

२०४२ सालको स्थानीय निर्वाचनमा काठमाडौँ नगर पञ्चायतमा तत्कालीन अवस्थामा प्रतिबन्धित नेपाली कांग्रेस पार्टीका तर्फबाट प्रधानपञ्च र उपप्रधानपञ्च जितेका हरिबोल भट्टराई र तीर्थमान डंगोलसित राजनैतिक तथा वैचारिक निकटता राख्ने उनले तत्कालीन समयका आफ्ना निजात्मक संस्मरणहरूलाई निबन्धको स्वरूप दिएका छन्, जस्तो कि ‘हु आ कार्लोसको अभिनन्दन’।

‘त्यो पाण्डे केटाको हालत तिमीहरूले देखेकै छौ। त्यो पनि हामीजस्तै क्रान्तिकारी हो। सबैभन्दा महत्त्वपूर्ण कुरो, ऊ पनि एउटा मानिस हो। त्यसलाई त्यस्तो हालतमा त्यसै छोड्नुहुन्न। आजैदेखि पालो लगाएर उसको सरसफाइ गर्ने र बाँचुन्जेल पशुजस्तो होइन, मान्छेजस्तो गरी बाँच्न सक्ने मौका दिने बन्दोबस्त मिलाउनुपर्छ भन्ने मैले ठानेको छु, तिमीहरू के भन्छौ?’

१९९७ सालपछि राणा शासनको विरोधमा संगठित आवाज उठाएको अभियोगमा कारागारमा राजद्रोहवापत जन्मकैदको सजाय भोगिरहेका प्रजा परिषद्का अध्यक्ष टंकप्रसाद आचार्यले जेलमै बोलाएको राजबन्दीहरूको भेलामा त्यसोभन्दा उनलाई स्याहारसुसार गर्ने जिम्मेवारी लिने गणेशमानको प्रसङ्ग कोमल निबन्धात्मक शैलीमा मुखरित छ। जहाँ आलोपालो शैलीमा पाण्डेको स्याहारसुसार गर्ने टंकप्रसादको आग्रह र पालो बनाउन तम्सेका रामहरि शर्माभन्दा पनि एक्लै उनको स्याहारसुसारको जिम्मा लिने र सोहीअनुरूप गर्ने गणेशमान सिंह बढ्ता कोमल र मानवतावादी देखिन्छन्। राजबन्दीका रूपमा झन्डै बेहोसी अवास्थामा जेल जीवन बिताइरहेका बलबहादुर पाँडेको अवस्था र उनका प्रतिको सहानुभूतिको कोमलता त आफ्ना ठाउँमा छँदै छ।

सहकर्मी पत्रकारहरूका बीच उछिनपाछिनको दौड, अर्कोभन्दा आफू बढी राजभक्त र व्यवस्थाभक्त देखाउने कसरत र छुल्याइपुल्याइ व्याप्त थिए त्यहाँ। यी विचरा व्यङ्ग्यकार भने बिल्कुलै पृथक धातुले बनेका थिए। त्यसमाथि आफूभित्र आफैले विकास गरेको लघुताभाष–ग्रन्थीका कारण आत्मविश्वास तल पिँधमा पुगेका मानिस। त्यही कमजोरीले उनको ज्यानसमेत लियो।

भैरव अर्यालको दुःखदायी अन्त्यको कथाको सापेक्षमा उनले भोगेको जीवन र दसैँको तेस्रो दिन पारेर बाग्मती नदीको पत्थरिलो खोंचमा गरेको आत्महत्याको सप्रसङ्ग कथन निबन्ध मात्रै लाग्दैन, यौटा काव्यात्मक संस्मरण जस्तो लाग्छ।

कोमल निबन्धहरूको शृङ्खलामा केही ऐतिहासिक अध्ययन पनि समावेश छन्, जुन न त इतिहास भन्न मिल्छ, न त निबन्ध नै, न त कार्यक्रमहरूको प्रतिवेदन। उनले निबन्धको कोटिमा राखेका ती आलेखहरू तत्तत् कार्यक्रमसित जोडिएका उनका निजात्मक अनुभूतिहरू हुन्।

‘हुआँ कार्लोसको अभिनन्दन’, ‘बिपी कोइरालाको अन्तिम सार्वजनिक अभिनन्दन’, ‘प्रसङ्ग सूर्यप्रसाद उपाध्यायको:  चर्चा कांग्रेसको इतिहासको’ जस्ता निबन्धात्मक आलेखहरू मूलतः ऐतिहासिक अध्ययनहरू हुन्। एक दशकभन्दा लामो माओवादी संघर्षको उपलब्धिमाथि औंला ठड्याइएको, क्रान्तिकारी किशोरीको सानिध्यमा केही क्षणमा आफ्नो पुरानो आलेख र त्यसको प्रत्युत्तरमा डा. बाबुराम भट्टराईको लेख पालैपालो सम्झिन्छन्।

ती आलेख र तत्कालीन संघर्षका कतिपय सन्दर्भ पुराना लागे पनि त्यसले छाडेको डाम अझै पनि स्पष्ट देखिन्छ। ती दुवै आलेख नपढेको पाठकले समेत बोध गर्न सक्ने गरी उनी लेख्छन्, ‘उनको क्रान्तिकारी पार्टी संसदीय भास र सत्ताको भुमरीमा फसिसकेको छ। उनी जहाँ थिए, त्यहीँ छन्। म पनि जहाँको तहीँ छु। बीचमा चिताको खरानीको डङ्कर छ र छ अँध्यारो सुरुङजस्तो कहालीलाग्दो भविष्यलाई पर्खिरहेका केहीहजार पूर्व लडाकुहरू। साथसाथै, जनयुद्धको कोखबाट जन्मिएका हजारौँहजार भग्नभविष्य टुहुराहरू पनि छन्।’

साहित्य, पत्रकारिता, जागिर या राजनीति जहाँ रहे पनि उनी जमेर रहे भन्ठान्छु म। राजनीतिमा भने उनी खासै जमेनन् भन्दा पनि हुन्छ। सक्रिय तवरले पत्रकारितामा रमुन्जेल साहित्य छाडेर हल्काफुल्का पत्रकारिता मात्रै पनि गरेनन् उनले।

नेपाली भाषाको सौन्दर्यलाई नभत्काई र अखबारी लेखनकै नाममा अनावश्यक सरलीकरण पनि खासै गरेनन्। तर, उनका सङ्कलित गद्यरचनामा सङ्कलित कतिपय निबन्धहरू पढ्दै गर्दा पाठकले कताकति सन्तुलन नमिलेको महसुस गर्छ, कताकति केके नमिलेकोजस्तो, केही नपुगेजस्तो पनि भेट्छ।

केही निबन्धहरू निबन्ध/प्रबन्धभन्दा अरू नै केही जस्तो लाग्छ, तबतब पाठकले अखबारी लेखन सम्झिन पुग्छ। अखबारी लेखनलाई मान्छेहरू हतारको साहित्य भन्दिन्छन्, एकाध निबन्धरू त्यस्ता लाग्न पनि सक्छन् तर पनि त्यसले उनको कोमल निबन्धात्मक बान्कीमा कुनै खलल पुर्‍याएको छैन। यो उनको गद्य लेखनको सौन्दर्य पनि हो र सीमा पनि। खासगरी निबन्धमा बाह्य घटना, पात्र, परिवेश आदिभन्दा पनि स्रष्टाको वैयक्तिक चिन्तन, विचार, दृष्टिकोण र प्रस्तुतिको विशेष भूमिका रहन्छ।

गद्य विधाको सबैभन्दा खँदिलो, सबैभन्दा विचारप्रधान र सबैभन्दा संगठित विधा सायद निबन्ध हो। के यहाँ संकलित सबै निबन्धमा त्यो विशेषता भेटिन्छ त? सबै उच्च कोटिका छन् त म दाबी गर्दिनँ तर कुन चाहिँ त्यस्तो छैन त भनेर भन्न पनि जटिल छ।

हरि अधिकारी मूलतः कवि हुन्। उनका निबन्धहरूमा कवितात्मक भाषाको सौन्दर्य र कोमलता पनि झल्किन्छ। यो निबन्धसङ्ग्रहका निबन्धहरूले उच्च कोटिको नेपाली गद्यको बान्की प्रस्तुत गर्दछन् भन्ने आशयको निबन्धकार दीपक सापकोटाको अभिमतसित प्रायः पाठक सहमत हुनै पर्ने अवस्था छ। एकाध निबन्धहरू चाहिँ अपवाद छन् भन्ठान्छु म।

कोही कुनै लेखक रिसाओस् अथवा खुसाओस्, त्यसको कुनै परबाह नगरी कृतिमाथि आफ्नो ब्रह्मले देखेको कुरा ड्याङ्ग ठोकिहाल्ने ब्रान्डको ट्याग लागेका कडक मान्छेको कोमल निबन्धहरूको यो सङ्कलन तपाईं पनि पढ्नुहोस् र आफूलाई लागेको कुरा लेख्नुहोस्। 

प्रकाशित: १८ असार २०७९ ०३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App