८ पुस २०८१ सोमबार
image/svg+xml
कला

मिथिला कलाको ऐतिहासिक पृष्ठभूमि

मिथिला वा मैथिली कला मूलतः लोककला हो । काठमाडौंको पूर्वदक्षिण भेगमा रहेको मिथिला क्षेत्रमा सदियौँदेखि पल्लवित हुँदै विकास भएको मिथिला कला आज विश्वमै एक अलग्ग पहिचानका साथ स्थापित भएको छ । मिथिला क्षेत्रको केही भाग भारत र केही भाग नेपालमा पर्ने हुँदा नेपालमा मिथिला कलाको चर्चा समग्रमै गर्ने परम्परा छ ।  

कलाविद् जितेन्द्र जैनका अनुसार, मिथिला क्षेत्र भारततर्फ लगभग २० हजार वर्ग माइल र नेपालतर्फ १० हजार वर्ग माइल रहेको बताएका छन् । डा. कैलाश र जितेन्द्र जैनले भारततर्फ चम्पारण, सहर्सा, मुजफ्फरपुर, वैशाली, दरभंगा, मधुवनी सुपौल, समस्तीपुर र आंशिक रूपमा मुङ्गेर, बेसुसराइ, भागलपुर, पुर्णिया र नेपालतर्फ रोतरा (सम्भवतः रौतहट) महोत्तरी, सप्तरी, मोरङ आदि मिथिला क्षेत्रमा पर्ने उल्लेख गरेका छन् । 

भारतमा मिथिला कलालाई ‘मधुवनी कला’ नाममा पनि सम्बोधन गरिन्छ । नेपालमा भने मिथिला कला भारतीय र नेपाली भनी छुट्ट्ययाउने परम्परा बन्न सकेको छैन । त्यसो त हामीले नेपाली मिथिला कलाको मात्र इतिहास लेख्न सकेका छैनौँ । नेपालमा मिथिला कलाको नाममा विशेषगरी चित्रको शैली र प्रवृत्ति सार्वजनिक भएको बढी भएको छैन । पछिल्लो समय नेपालमा आयआर्जनको उद्देश्यसाथ मिथिला कलामा महिलालाई सशक्तीकरण गर्न थालिएको छ ।  

सन् ९० को दशकमा विकासको नयाँ अवधारणा ‘पिपुलबेस डेभलपमेन्ट’ तीव्र रूपमा नेपालमा पनि पस्यो । पञ्चायत शासनको अन्त्यपछि बाह्य विश्वसँग नेपालको अति तीव्र रूपमा सम्पर्क बढ्न थालेको थियो । योसँगै नेपालमा धेरै एनजिओ, आइएनजिओ स्थापित भएको देखिन्छ । जसकारण विश्वमा विकसित भइरहेका विकासका नयाँनयाँ अवधारणा नेपालमा पनि प्रवेश हुन थाल्यो । आर्थिक पक्षलाई विशेष आधारभूमि मानी बढेको यो अवधारणाले घरभित्रका काममा सीमित महिलालाई आयआर्जनसँग जोड्न थाल्यो । यही सिलसिलामा सदियौँदेखि महिलाले गर्दै आइरहेको कलालाई आयसँग जोड्ने उपक्रम देखिन थाल्यो ।

मिथिला लोककला सदियौँदेखि आम समुदायको संस्कारसँग नजिकबाट जोडिएको छ । यो परम्परा हिजो पनि थियो र आज पनि छ । यसलाई संस्थागत रूपमा अगाडि ल्याउने काम सन् १९९२ तिर स्थापना भएको ‘नारी विकास केन्द्र’ले गर्‍यो । यो एक एनजिओका रूपमा एक अस्ट्रेलियन नागरिकको पहलमा स्थापना भएको थियो । केन्द्रले स्थानीय महिलालाई संगठित गरी उनीहरूकै नेतृत्वमा स्थानीय स्रोत (मिथिला कला)को परिचालन गरी आयआर्जन बढाउने मूल ध्येय लिएको थियो । यो संस्थाले सफलता पाएपछि अहिले यसै प्रकारका मिथिला कला सिर्जना गर्ने र विश्वभर बिक्री–वितरण गर्ने दर्जनौँ निकाय वा संस्था कार्यरत छन् ।  

भारततर्फ रहेको मिथिला कलाको भने अलिकता फरक प्रक्रियामा अगाडि बढेको इतिहास छ । सन् १९३४ तिर गएको भूकम्पले बिहारका दरभंगालगायत धेरै ठाउँमा धनजनको क्षति ग¥यो । त्यस क्षतिको अवलोकन गर्न विलियम जी आर्चर पनि आएका थिए । उनले त्यहाँका भित्तामा लोककलालाई देखे । कलामा गहिरो दख्खल राख्ने विलियमले ती कलामा आधुनिक कलाकार पिकासो र मिरोको सुगन्धलाई महसुस गरेका थिए । भारतमा देखिएको यो एक अलग्ग लोककलाको शैली र प्रवृत्तिका बारेमा उनले गहन लेख लेखेर ‘मार्ग’ भन्ने पत्रिकामा छापे । मधुवनीमा पाइएकाले यसलाई ‘मधुवनी कला’ भन्ने नाम राखियो । तत्कालै सरकारले पनि विशेष चासो राख्दै ती भित्तामा देखिएका चित्रलाई तत्कालीन मिथिला कलाकारबाट कागजमा उतार्न लगायो । स्वदेशमा मात्र होइन, विदेशमा समेत यसको प्रचारप्रसार तीव्र रूपमा भयो । आज यो मधुवनी चित्रका नाममा विश्वमा एक अलग्ग पहिचान बनेको छ । नेपालमा कलाकै रूपमा औपचारिक प्रक्रियाका साथ (गहिरो अनुसन्धान गरी) राष्ट्रले आजको दिनसम्म यसो गर्न भ्याएको छैन । 

 ऐतिहासिकता  

प्राचीन कालमा नेपालको जनकपुर सम्भवतः मिथिला कलाको केन्द्र रहेको हुनुपर्छ । किंवदन्तीमा राजा जनककी छोरी सीताको स्वयंवरका वेला दरबार सिँगार्न समुदायका कलाकारलाई बोलाइएको थियो । उनीहरूलाई मिथिला कलाले दरबार सजाउन भनिएको थियो । यसरी सदियौँदेखि घरको भित्तामा ‘लो रिलिफ’का रूपमा कला बनाउने परम्परा थियो । जुन मिथिला समुदायमा आज पनि देख्न सकिन्छ ।  

भारतका कलाविद् अतुल ठाकुरले उठाएको एक प्रसंग यहाँ सान्दर्भिक होला । उनको भनाइमा मैथिलीहरू शक्ति (मदर गडेस)का भक्त हुन् । तान्त्रिक धार्मिक कृत्यको स्कुलिङ उनीहरूबीच गहिरो रूपमा समावेश भएको थियो । अरितिक कलामार्फत आत्मिक भाव र रूपलाई ल्याउने क्रममा आज पनि यो कला जीवन्त छ । कलाविद् तारानन्द मिस्रका अनुसार, तिरहुते राजा हरिसिंहदेवको पालामा मन्त्री ज्योतिरिश्वरले ‘धूर्त समागम’ नामक मैथिली नाटक लेखेका थिए । सुगौना राजवंशका वेला अर्थात् १४औँ शताब्दीमा देखापरेका महाकवि विद्यापति तिरहुत राज्यका महत्वपूर्ण व्यक्ति थिए । यी आदि–इत्यादि कुराले मिथिला कला, साहित्य र संगीत वा संस्कृतिको लामो परम्परा रहेको स्पष्ट देखिन्छ । यसरी नेपालको ऐतिहासिक कालखण्डमा एक समय देखापरेको मिथिला कलाको इतिहासलाई आधिकारिक रूपमै निकै अघिसम्म तान्न सकिने आधार देखापरेको छ ।

रामायणको लेखनीको काम ईसाको पहिलो शताब्दीमा भएको भनाइ पनि पाइन्छ । यसअघि पनि धर्मका श्लोक वा लोकगाथा, दन्यकथा आदिका माध्यमबाट यस्ता कथालाई अर्को पुस्तामा मुखाग्र हस्तान्तरण गर्ने प्रचलन थियो । यसैले यस्ता ग्रन्थ अभिलेखन गर्नभन्दा पहिले नै अस्तित्वमा रहेको तर्क निकाल्दै यसलाई हजारौँ वर्ष अगाडिसम्म तान्ने प्रचलन पनि छ । भारतमा यसबखत ब्राह्मी लिपि र यसैको विकसित रूपमा गुप्त लिपिको शुभारम्भ भएको थियो । तथापि प्राचीन लिपिकै रूपमा देखापरेका खरोष्ठी र ब्राह्मी लिपि मात्र हुन् । पाँचौँ, छैटौँ शताब्दीपछि मात्र ग्रन्थको आधिकारिक दस्तावेज पाइएकाले रामायणलाई किंवदन्तीका आधारमा धेरै पर लैजान भने सकिँदैन । तथापि राजकुमारी सीताको विवाह भारतको अयोध्याका राजकुमार रामसँग भएको सम्झनामा अहिले पनि जनकपुरमा हर्षोल्लासका साथ यो विवाह मनाउने गरिन्छ । यो परम्परा भावनासँग मात्र जोडिएको हो भन्न सकिन्न । यसले मैथिल समुदायको परम्परा प्राचीनकालदेखि थियो भन्ने भनाइमा यथेष्ट बल दिन्छ ।

विभिन्न ठाउँमा भएका उत्खननमध्ये सिमरौनगढमा पाइएका मूर्तिको बढी चर्चा हुने गर्छ । किनकि यस क्षेत्रमा मिथिला कला प्रशस्त रूपमा प्राप्त भएका छन् । कलाविद् मोहनप्रसाद खनालले विदेह वा मिथिलाको इतिहासमा धेरै खोज गरेका छन् । उनका अनुसार प्रारम्भकालदेखि विदेह वा मिथिलाको इतिहास निकै गौरवपूर्ण छ । प्राचीनकालमा गंगादेखि उत्तरमा पर्ने मिथिला प्रदेश तीरभुक्तिका नामले प्रसिद्ध थियो । सोही तीरभुक्तिमा ११औँ शताब्दीमा आएर चालुक्यका सेनापति नान्यदेवले आफ्नो एकलौटि अधिकार जमाई एउटा स्वतन्त्र राज्य स्थापना गरे । त्यसपछि लगभग २५० वर्षसम्म (यसलाई तुलसी वैद्यले २२९ वर्ष मात्र उल्लेख गरेका छन्) मिथिला प्रदेशमा कर्नाटकवंशी राजाको शासन चल्यो । त्यसैवेलादेखि मिथिलाको राजधानी हुने सौभाग्य सिमरौनगढलाई प्राप्त भयो । गोपालराजवंशावलीका अनुसार, नान्यदेव कर्नाटवंशी थिए । सुरुमा उनी महासामन्त थिए भन्ने ‘भारतवात्र्तिका’ नामक हस्तलिखित ग्रन्थको पुस्पिका वाक्यमा परेको ‘महासामन्ताधिपति मिथिलेश्वर कर्णाटकुलभूषण धर्माधिभूपति’ भन्ने पदवीले देखाउँछ ।  

यताबाट चालुक्य राजाले उत्तर भारतमा आक्रमण गरेताका नान्यदेव मिथिला (तिरहुत) भेगका महासामन्त बनाइएका थिए । पछि अवसर पाई नेपालको सिमरा भेगमा राजधानी बनाई उनले एक स्वतन्त्र राज्य स्थापना गरे । नान्यदेवले सिमरा वनगढमा डोयराज्य खडा गरेताका नेपालको केन्द्रमा हर्षदेव राजा थिए । आफू बलियो शासक नहुँदा उनले यस नयाँ राज्यको स्थापनामा प्रतिरोध गर्न सकेनन् ।  

मोहनप्रसाद खनालले मिथिला कला शैलीको उद्भव र विकाससम्बन्धी रोचक प्रसंग उठाएका छन् । उनी भन्छन्– नान्यदेव, गंगादेव, नरसिंहदेव, रामसिंहदेव, शक्तिसिंह देव, हरसिंहदेव आदि राजालाई हिन्दू धर्म संस्कृति, कलाका संरक्षक एवं पोषकका रूपमा प्रस्तुत गर्न सकिन्छ । किनकि, यिनै कर्नाटवंशी शासकका छत्रछायामा तिरहुतका प्रतिभाले स्थापत्य एवं मूर्तिकलाको क्षेत्रमा एउटा नवीन शैलीको प्रारम्भ गरेका थिए, जसलाई आज हामी तिरहुत वा मिथिला शैलीका नामले सम्बोधन गर्न सक्छौँ ।  

सिमरौनगढमा विकसित भएको मिथिला कला विशेषगरी मूर्तिकला, स्थापत्य कला र आज देखिएको मिथिला कला (विशेषगरी चित्रकला) जोड्न भने अझै पर्याप्त आधार विकास भएको छैन । सन् १३२६ पछि झन्डै हालसम्मको मिथिला कलाको इतिहासको खोजी भएको छैन । योे इतिहासको पत्तो नलाग्दा पनि यी दुईबीचको शैलीगत सामाञ्जस्यता कसरी कहाँ मिलाउने भन्ने संकट देखापरेको हो ।  

गोपालराज वंशावलीका अनुसार, वि.सं. १३८१ मा दिल्लीका बादशाह गयासुद्दीन तुगलक बंगालको विद्रोह दबाई तिरहुत हुँदै अगाडि बढिरहेका वेला तत्कालीन तिरहुते राजा हरसिंहदेवले आफूमाथि लडाइँ गर्न आएको ठानेर गढबाट बाहिर आएर लडाइँ गरे । गयासुद्दीनको विशाल फौजका अगाडि उनी टिक्न सकेनन् र हारे । यसवेला सिमरा वनगढका राजा हरसिंहदेव थिए । गयासुद्दीनले सिमरा वनगढ ध्वस्त पारिदिए । यसैवेला हरसिंहदेव परिवारसहित नेपालको पहाडी भाग पसे । बाटै (दोलखाको तीनपाटन भन्ने ठाउँ)मा उनको मृत्यु भयो, वि.सं. १३८२ मा । उनका जहान, छोरा, मन्त्री आदिलाई नेपाल उपत्यकाका राजा रुद्र मल्लले शरण दिए । 

हरसिंहदेवकी रानी देवलदेवी, छोरा जगतसिंह कुम्हरले रूद्र मल्लको दरबार युथुनिममा प्रवेश पाए । पछि नेपालको इतिहासमा देवलदेवीको भूमिका महत्वका साथ अगाडि बढेको देखिन्छ । हरसिंहदेवको बाटोमै मृत्यु भएपछि उनका छोरा जगतसिंह कुम्हर र आमा देवलदेवीलाई राजा रुद्र मल्लले शरण दिएको प्रसंग माथि उल्लेख भइसक्यो । रुद्र मल्लको मृत्युपछि उनकी रानी सती गइन् । उनकी छोरी नायकदेवीको हेरचाह गर्ने जिम्मा देवलदेवीले लिएको देखिन्छ । यस प्रकार नेपालको राजनीतिमा तिरहुतेको प्रभाव जम्दै गएको देखिन्छ । स्वतः कलामा पनि प्रभाव पर्दै गएको यहाँ आकलन गर्न सकिन्छ ।  

डिल्लीराज शर्माको भनाइमा, खासगरी मध्यकालको इतिहासमा तिरहुत राज्यको प्रभाव बलियो भएको हुनाले यस राज्यले काठमाडौं उपत्यकाभित्र पनि प्रशस्त प्रभाव पारेको थियो । मध्यकालीन राजनीतिक इतिहासमा शक्ति संघर्षमा काठमाडौं उपत्यकाभित्रको मल्ल राज्य, पश्चिमी भेगमा रहेको खस राज्य र पूर्वी तराई भेगमा रहेको तिरहुत राज्य आबद्ध थिए । यही मौका छोपेर खस र तिरहुत राज्यले वेलावेला उपत्यकाभित्र आक्रमण गरिराख्थे । तर हरसिंहदेवपश्चात् तिरहुतको सम्बन्धले नयाँ मोड लियो । तिरहुतको प्रभाव अब सामाजिक साहित्यिक, कला र धर्ममा पनि स्पष्ट रूपमा देखापर्न थाल्यो । त्यसवेलाको तिरहुतमै कलाको महत्वपूर्ण विकास भएको शर्मा उल्लेख गर्छन् । सिमरौनगढको महत्व कला क्षेत्रमा पनि प्रशस्त थियो । 

सिमरौनगढमा मध्यकालतिर कलाका विशेष शैली देखापरे । खासगरी यस प्रकारको शैली तत्कालीन बंगाल र विहारमा विकसित पाल शैली थियो । यस शैलीले यहाँका मूर्तिकलामा विशेष प्रभाव पारेको थियो । तत्कालीन मूर्तिका बनावटलाई हेर्दा यो कुरा स्पष्ट हुन्छ । मूर्तिहरू कुनै निश्चित फलकमा कुँदिनु, मूल देवताको मूर्ति बीचमा र यसको वरिपरि विभिन्न सहायक र गणका मूर्ति कुँदिनु, मूर्र्ति स्थुल रूपमा देखापर्नु आदि पालकालीन विशेषता पाइन्छन् । पछि यसै विशेषताले काठमाडौं उपत्यकाभित्र पनि प्रभाव पारेको थियो ।  

लोककलाको प्रकृति  

मूलतः लोककला समाजका विद्यमान संस्कार र संस्कृतिका क्रियाकलापमा आबद्ध भएर देखापर्छ । समाजमा भएको धर्मलाई सम्बोधन गर्न धर्मका अवयवलाई सरल र सहज तरिकाले निर्माण गर्ने प्रचलन यसमा पाइन्छ । परम्परागत कलामा देवीदेवता बनाई यसैलाई पूजाआजाको माध्यम बनाउने प्रचलन छ । भक्ति मार्गलाई बलियो पार्न अनेक आकर्षक रूपका देवीदेवताका स्वरूप कल्पना गरिएका छन् । अति ज्ञानी धर्मपण्डितको गहन अध्ययन, विचार विमर्ष, चिन्तन मननपछि विशेष दर्शनका आधारमा यस्ता देवीदेवताको परिकल्पना गरिएका हुन्छन् । 

लोककलामा परम्परागत शैली र विधिविधानलाई पछ्याउँदा पनि कलाकारको कल्पनामा आएका देवीदेवताको स्वरूपलाई अंकन गर्ने प्रचलन देखिन्छ । परम्परागत रूपमा अनवरत प्रचलनमा रहे पनि लोककलालाई परम्परागत कलाभन्दा अलग्ग रूपमा हेरिएको छ । अर्को रूपमा भन्नुपर्दा परम्परागत कलालाई धार्मिक कला पनि भन्ने गरिन्छ । कलाविद्ले अलग–अलग अस्तित्व देखाउन यस्ता कलालाई धार्मिक कला, लौकिक कला र कति ठाउँमा अलौकिक कलाको सन्दर्भमा पनि व्याख्या विश्लेषण गरेका छन् ।  

लोककलामा कति ठाउँमा परम्परागत प्रतीकका रूपमा क्युबिक फर्म पनि समावेश गरिएका हुन्छन् । मानवको दैनिक जीवनको एक महत्वपूर्ण कडीका रूपमा यस्ता कला पल्लवित हुँदै अगाडि बढ्ने गर्छन् । कति धार्मिक कार्यमा बनाउनैपर्ने कलाको रूप लोककलाको रूपमा देखापर्छ । पूजाआजाको रूपमा यसलाई अवलम्बन गरिन्छ । हाम्रो धर्म र संस्कार एक अर्कासँग यसरी गाँसिएर गएको छ, कला लौकिक रूपमा हुर्कंदै गर्दा कहाँनेर धार्मिक कलाको रूपमा देखिन्छ भन्ने थाहै हुँदैन । यसैले यसलाई सोलोडोलो रूपमा व्याख्या विश्लेषण गर्ने चलन छ । विश्वका ऐतिहासिक आलेख हेर्दा मानवको जीवनयापनको सन्दर्भमा गाँसिएर लोककलाको विकास भएको र मानिसको संस्कृति र संस्कारको एक अभिन्न अंग भएको देखिन्छ । पछिल्लोकालमा यसैलाई माध्यम बनाई आफ्नो भाव अभिव्यक्त गर्न पनि थालिएको छ । हिजोआज त यो सामाजिक मुद्दालाई उठाउने गहकिलो माध्यमका रूपमा पनि कलाकारले लोककलालाई प्रयोग गरेको देखिन्छ ।  

जसरी समाज परिवर्तन हुँदै जान्छ, यस्ता लोककलाका स्वरूप र पात्र परिवर्तन हुँदै जान्छन् । बाह्य आवरणमा एकैजसो स्वरूपमा देखिए पनि ठाउँ परिवर्तन हुँदै जाँदा विषय, शैली र पद्धतिमा केही न केही अन्तर हुने यसको स्वभाव हुन्छ । यसैले भारत र नेपालमा झट्ट हेर्दा एकैजसो देखिने मिथिला कला गहिरिएर हेर्दा फरकपनका साथ देखिन्छन् । आधारभूत ज्ञान सीप नलिईकनै आम परिवारबाट आएका कलाकारले स्वस्फूर्त रूपमा सिर्जना गर्ने गर्छन् । यो कला एक्लाएक्लै नभई सामूहिक रूपमा निर्माण गर्ने प्रक्रिया रहेको हुन्छ । 

यो एउटा कला हो भन्ने थाहा हुँदानहुँदै उनले समाजको परम्परालाई कायम गर्न कलाको सिर्जना गर्दै आएका हुन्छन् । यसपछि यो कला जात्रा, चाडपर्व आदिको अहं हिस्सा बन्दै जान्छ । यस्ता संस्कारमा नभइनहुने भागका रूपमा कला विकसित हुन पुगे पनि यसैका सर्जक कलाकारको नाम लिने प्रचलन विकास भएको देखिँदैन । त्यस बेला कलाकार, व्यक्तिविशेषको नाम, दाम वा कृतिका बारेमा अलग्गै चर्चा नगरी जे कामका लागि बनाइएको हो, त्यसैको एक महत्वपूर्ण भाग परिपूर्ति भयो भनेर समुदायमा खुसीको माहोल बन्थ्यो । त्यतिवेलाका कलाकार यसैमा आफ्नो सौभाग्य ठानी आफूलाई गौरवको महसुस गर्थे । 

तर, अहिलेको अवस्था अलिकता फरक छ । आज मिथिला कला अलग्ग सिर्जना गरी यसलाई अन्य समसामयिक कलाजस्तै प्रदर्शन गर्ने परम्पराको विकास भइसकेको छ । कलाकार मूलतः जन्मजात हुने हुँदा कला कोर्ने सीप अलग्ग बोकेर आउने गर्छ । कहीँ न कहीँ उसले आफ्नो कला सिर्जना गरिरहेकै हुन्छ । कला कोर्ने अवसर पाउनेबित्तिकै ऊ अझ उत्तेजित भएर संलग्न हुन्छ । यसरी अनमोल कलाको जन्म भइरहेको हुन्छ । लोककला अलग्ग रूपमा जन्माइएको होइन, स्वस्फूर्त जन्मेको कला हो, त्यसैले यसको रूप एक तमासको हुन्छ । विश्वमा जहीँको यस्ता लोककला हेरियो भने शैली वा स्वरूपको रूपमा समानान्तर देखिन्छ । पछिल्लो कालमा मात्र आएर यसलाई व्यवसाय बनाइयो । तत्पश्चात् यस्ता कला अझ परिपक्व बनाउने क्रममा तालिम दिने प्रचलन पनि विकास भयो ।  

राष्ट्रिय प्रदर्शनी र मिथिला कला  

नेपालमा मैथिली लोककला विशेष रूपमा चर्चामा आउन थालेको नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले आफ्नो बर्सेनि गर्ने राष्ट्रिय कला प्रदर्शनीमा विशेष ठाउँ दिन थालेपछि हो । प्रतिष्ठानले औपचारिक मान्यता प्रदान गर्न थालेपछि यस प्रकारका कला विविध स्वरूपमा विकास हुन थालेको देखिन्छ । यद्यपि यी कला यसअघि परम्परागत रूपमा समाजमा एक अंग बन्न पुगेकै थिए ।

२०२२ सालमा नेपाल ललित कला संस्थाको जन्म भएपछि सोही वर्ष गरिएको पहिलो राष्ट्रिय कला प्रदर्शनीमा लोककलाका नाममा अलग्ग ठाउँ दिएको देखिँदैन । परम्परागत कलाका नाममा सबैखाले कला समावेश हुँदै आएको पनि देखिन्छ । सोही कालदेखि निरन्तरता हुँदै आएको यस्ता राष्ट्रिय कला प्रदर्शनीमा अहिले आएर लोककला मात्र होइन, वास्तुकला, कार्टुनकला, हस्तकला, फोटोग्राफी, दृष्टान्तचित्र, प्रिन्ट मेकिङ कला (समसामयिक कलामा पनि उत्तर आधुनिक कला) लगायत कलाका सबैजसो स्वरूपलाई समावेश गर्न थालिएको छ । उपयोगी कला, व्यावसायिक कला सबैलाई समेट्दा यसलाई कसरी सीमाङ्कन गर्ने भन्ने सोचको विकास भएको देखिँदैन ।  

समसामयिकता  

सामाजिक अवस्थाको परिवर्तनसँगै आम समुदायको सोचमा पनि परिवर्तन भएको देखिन्छ । भूमण्डलीकरणको सन्दर्भमा अबका दिनमा विश्व टाढा भएन । इन्टरनेटदेखि पुस्तक, सिनेमा, यातायातका माध्यमबाट एक राष्ट्रका कुरा अर्को राष्ट्रमा पुग्न समय लाग्दैन । पहिले बाह्य कलाले ढिलो गरी प्रभाव पाथ्र्यो, अहिले क्षणभरमै प्रभाव पार्ने सम्भावना बढ्यो । यो परिवेशमा मिथिला कलामा पनि शैलीगत रूपमा तीव्र गतिमा परिवर्तन देखिएको छ । यसरी परिवर्तन हुने क्रममा आज मिथिला कलामा पात्र, विषय, रंग, संयोजन प्रस्तुति आदिमा विभिन्नता ल्याउन थालिएको देखिन्छ ।  

अहिले आएर विशेषगरी मिथिला कलामा कलाकार स्वयं पनि आफ्नो नाम स्थापित गर्न सक्षम भएका छन् । नामै नलेखिने यस्ता लोककलामा समसामयिकता यथेष्ट रूपमा प्रवेश गराएर नौलो स्वरूपमा देखापर्नु समय अनुसार स्वाभाविक हो । संस्कारमा गाँसिएर देखापर्ने यस्ता कला आज विशेषगरी समसामयिक विषयमा देखिन थालेका छन् । गाउँघर, खोलानाला, घाँस काट्दै गरेको, खेतबारीमा काम गरिरहेको, कलधारा, केटाकेटी स्कुल गइरहेको, हाट–बजार, माछा मार्दै गरेको, गाईवस्तु चराउँदै गरेको, गोरुगाडा आदि विषयवस्तुले यस कलामा प्रवेश पाएका छन् ।  

यता राष्ट्रिय कला प्रदर्शनीमा लोककलालाई अलग्ग स्थान दिएपछि सयौँ महिला कलाकारले यस्ता मैथिली चित्र बनाएको देखिन्छ । पुरुष कलाकार नाम मात्रका देखिन्छन् ।  

केही महिनाअघि चार महिला कलाकारले सामाजिक मुद्दालाई उठाएर कला प्रदर्शनी गरे । मिथिलादेवी यादव, पुनम दास, रुबी कर्ण, सरिता मण्डलले अहं सामाजिक मुद्दा उठाएका थिए । उनीहरूले मिथिला कलामा सामाजिक विभेद, बोक्सीको आरोपमा मलमूत्र खुवाइरहेको, भ्रूण हत्या, महिलाहिंसा, दाइजो प्रथा आदि सामाजिक विकृतिलाई अति आकर्षक ढगंबाट उठाएका थिए । स्थापित भइसकेका यस्ता मिथिला कलाकारमा मदनकलादेवी, सीतादेवी कर्ण, पुनम कुमारी दास, सुन्दर यादव, अजित शाह, एससी सुमन, रञ्जु यादव, जितबहादुर रायमाझी, प्रतीक रायमाझी, सुनैना ठाकुर आदि छन् ।  

राष्ट्रिय कला प्रदर्शनीको अहं भाग यस्तै मिथिला कलाले ढाक्न थालेपछि विशेषगरी राम्राराम्रा यस्ता मिथिला कला बनाउने कलाकार अनगिन्ती छन्, जसको नाम उल्लेख गरेर साध्यै छैन ।

(मल्ल कलाकार र कला समीक्षक हुन् ।) 

प्रकाशित: २२ जेष्ठ २०७८ ०३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App