८ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

बालमनोविज्ञान बुझेर, बालरुचि बुझेर लेख्न सक्नुपर्छ

अभिभावकको कुरा

नानीबाबुहरू ! यसअघि एकैसाथ धेरै बालसाहित्यकारको विचार प्रस्तुत गर्ने गरिएको थियो । तर यसपटक तिमीहरूलाई धेरै झन्झटिलो नबनोस् भनेर एक जना बालसाहित्यकारको मात्रै कुराकानी राखेको छु । उहाँ हुनुहुन्छ– तुलसीहरि कोइराला । पढौं, बालसाहित्यसम्बन्धी उहाँका कुरा    – 

१) बालसाहित्य कस्तो साहित्य हो र यसको प्रयोजन के हो ?

– साहित्यमा खासगरी दुई प्रकारका सिर्जना मात्रै ज्यादाजसो चलनचल्तीमा आएका छन्– बालसाहित्य र प्रौढसाहित्य । अलिक पछि आएर किशोरसाहित्यको पनि कुरा हुन थालेको छ । उमेरजन्य अवस्थानुसार हुने मस्तिष्कको विकास र यसले ग्रहण गर्नसक्ने क्षमता अनुसारका सिर्जनाहरूको उत्पादन र सम्प्रेषण गर्न सकिएको खण्डमा त्यस्ता सामग्रीले व्यक्तित्व विकासमा सघाउ पुरयाउनुका साथै ज्ञान, सीप र क्षमताको अभिवृद्धि गराउनमा सघाउ पुग्छ भन्ने उद्देश्य राखेर सर्जकले सिर्जना गरेको हुन्छ । 

यतिसम्म पनि नसोची लेखिएको सिर्जनाले पाठकलाई कुनै किसिमको लाभ पुरयाउन सक्दैन । बालसाहित्य नै एउटा त्यस्तो जग हो, जसले एउटा परिपक्व र आदर्शवान् व्यक्तित्वको निमार्णमा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । बालबालिका काँचो माटो हुन्, कच्चा पदार्थ हुन्, उनीहरूलाई आवश्यकता अनुसार र साँचो अनुसारको आकार दिन सकिन्छ भनिन्छ । हो, बालसाहित्यले यही काम गरिरहेको हुन्छ । 

बालबालिकाको जिज्ञासुपन, उत्सुकता, बालसुलभ स्वाभाविकता जस्ता कुराहरूलाई मेट्नसक्ने र आदर्श, नैतिकता, राम्रोनराम्रो कुराको ज्ञान दिनेखालको हुनुपर्छ बालसाहित्य । सीप र प्रविधिका कुराहरू पनि उनीहरुको उमेर अनुसारका अध्ययन सामग्रीमा सम्प्रेषण गर्न सक्नुपर्छ । 

यस्ता सामग्रीको अध्ययनबाट बालबालिकाले आफूमा परिवर्तन ल्याउन सकुन् र ज्ञान, सीप र क्षमता बढाउँदै लान सकुन् भन्ने प्रयोजनले नै बालसाहित्यको सिर्जनामा जोड दिइएको हो । त्यसपछि उनीहरू क्रमशः किशोर साहित्यमा प्रवेश गरेर प्रौढसाहित्यतिर तानिदै जान्छन् ।  

२) नेपाली बालसाहित्यको बजार र प्रकाशनको समग्र अवस्था कस्तो छ ?

– नेपाली बालसाहित्य सिर्जनामा खास्सै उन्नति–प्रगति भएको देखिँदैन । कतिपय सर्जकहरूमा अझै पनि कस्तो भ्रम छ भने– तोतेबोलीका शव्दहरू, बालबालिकाका प्रसङ्गहरू, खेलौना र पशुपक्षीका कुराहरू लेखिदियो भने त्यो बालसाहित्य भैहाल्छ । बालबालिकाको स्वभाव, विचार, रुचि, समय अनुसारको परिवर्तित सन्दर्भ, सामग्रीहरूको ज्ञान नलिई बालसाहित्यमा एकोहोरो कलम चलाउनेहरू धेरै छन् । 

त्यस्ताहरूले उत्पादन गरेका सामग्रीहरूले संख्या थप्ने काम त भएको छ तर समग्र अवस्थाको सुधारमा सघाउ पुगेको छ्रैन । केही बालबालिकाहरूले पनि बालसाहित्यमा कलम चलाउन थालेका छन् तर एकाधका बाहेक प्रभावकारी सिर्जना आउन सकेका छैनन् । बालसाहित्य समाज बनेको छ, अनेक विदेशी संस्थाहरू आएका छन् तर पनि समग्र अवस्थामा उल्लेख्य सुधार देखिइहालेको भने छैन । केही हदसम्म आशलाग्दो अवस्था भने देखाएको छ ।  

३) बालसाहित्य कस्तो हुनुपर्छ ? बालबालिकाको ज्ञानको स्तर बढाउन यसले कत्तिको मद्दत पु¥याइरहेको हुन्छ ?  

– बालबालिकाको कोमलपन जो कोहीलाई पनि मनपर्छ । उनीहरूका हरेक क्रियाकलाप, बोली, व्यवहार अभिभावकका लागि मात्रै नभएर हरेक ठूला मान्छेका लागि कोमल, कुतूहलपूर्ण र मनोरञ्जनात्मक लाग्दछ । यसैको सेरोफेरोमा डुबेर लेखिएको सहज, सरल र स्पष्ट भाषाशैलीमा लेखिएको हुनुपर्छ बालसाहित्य । 

बालसाहित्यमा नैतिक शिक्षा दिने प्रयत्न पनि गरिएको हुन्छ तर उनीहरूले बुझ्ने शैलीमा, उनीहरूले नै अनुभव गर्ने गरी लेखकले घुसाउन सक्नुपर्छ । अन्यथा उनीहरूको बाल मनोविज्ञानमा नकारात्मक प्रभाव पर्न पनि सक्छ ।  

४) तपाईंका बालकथाले बालपाठकमा कस्तो प्रभाव पार्छन् भन्ने ठान्नुभएको छ ?

– मेरा बालकथामा संस्कृतिका कुरा आएका हुन्छन् । चाडपर्वका कुराहरू आएका हुन्छन् । गाउँघरका खेती–किसानीका कुराहरू आएका हुन्छन् । परिवारका कुराहरू हुन्छन्, साइनोका कुराहरू हुन्छन् । समय र प्रविधिका कुराहरू पनि आएका हुन्छन् । 

व्यावहारिक रूपमै सिक्ने र सिकाउने शैलीमा लेखिएका हुनुले यसबाट बालपाठकलाई पुरानो पुस्ता, संस्कृति र प्रविधिसँग जोड्ने काम पनि भैरहेको हुन्छ । बालसिर्जनामा नैतिक शिक्षा मात्रै दिएर पुग्दैन । पुस्तान्तरमा ठूलो खाडल सिर्जना हुँदै गैरहेको छ । उनीहरू संस्कार र संस्कृतिबाट टाढिदै गइरहेका छन् । हामीले यतातिर ध्यान दिएर कलम चलाउनुपर्छ ।  

५) बालसाहित्यलाई कतिपयले मूलधारको साहित्यिक प्रवाहभन्दा भिन्न राखेर हेर्ने गरेको पनि पाइयो, बालसाहित्यको समग्र उन्नतिमा यसबाट बाधा पुग्ला कि सघाउ नै पुग्ने ठान्नुहुन्छ ?

– बालसाहित्यमै मात्र केन्द्रित रहेर कलम चलाउनेहरू त नगण्य अवस्थामै छन् । आफूलाई सबैतिर बाँडेर कलम चलाउनेहरू पनि आफूबाहेक अर्कोलाई राम्रो बालसाहित्यकार मान्न तयार देखिँदैनन् । बालमनोविज्ञान बुझेर, बालरुचि बुझेर लेख्न सक्नुपर्छ । जुन समूहको भए पनि साहित्य भनेको साहित्य नै हो । 

हामीकहाँ कुन वरिष्ठ स्रष्टाले बालसाहित्य सिर्जना गरेको छैन र ? यसले गर्दा बालसाहित्यलाई साहित्यको मूलप्रवाहबाट छुट्याउनै सकिँदैन । कसैले छुट्याउँछु भनेर छुट्टिने अवस्था पनि देखिँदैन । त्यसो गरिन खोज्नु मात्रै पनि बालसाहित्यका क्षेत्रमा हानी पुर्याउन खोज्नु हो ।  

प्रकाशित: १४ श्रावण २०७७ १२:२२ बुधबार

जूनकीरी