२४ चैत्र २०८१ आइतबार
image/svg+xml १७:१२ अपराह्न
कला

जो जहाँ भए पनि यहाँ त मित्र, जनता भोकै कर तिर्न बाध्य छन्!

मुक्तक

१) मुक्तक

विश्वासमा छिद्र भयो भने

विचारमा दरिद्र भयो भने

अवनति छिट्टै शुरू हुन्छ मित्र!

संकल्प अपवित्र भयो भने।

२) मुक्तक

यो संसार बुझेर पापी मन फुँदैन

यहाँका कुनै मन्त्रणाले छुँदै चँदैन

आफू बुढो भएको धेरै वर्ष बित्यो

तर तृष्णा भने कहिल्यै बुढो हुँदैन।

३) मुक्तक

कुनै लुटेरा कुनै चटुपाध्य छन्

देश विकासका नारा असाध्य छन्

जो जहाँ भएपनि यहाँ त मित्र!

जनता भोकै कर तिर्न बाध्य छन्।

४) मुक्तक

अनाचारी प्रवृत्तिको दूरदर्शी मित्र हुँदैन

कर्मठ राजनेताको दोधारे चरित्र हुँदैन

पारदर्शीता नै व्यवहार कौशल हो नेताजी!

जिम्मेवार राजनीति कालो पर्दाभित्र हुँदैन।

५) मुक्तक

यो नियमित प्रक्रिया हो तर अनन्त होइन

एउटा प्राकृतिक कारण हो वसन्त होइन

सिक्रो हुँदैमा बोट सुकेको नहुन सक्छ मित्र

वनस्पतिको पात झर्नु वृक्षको अन्त होइन।

६) मुक्तक

यहाँ जनआवाज नयाँ चलन चले नि आउँछ

सहयात्रीलाई बिच बाटोमा छले नि आउँछ

नाम तथा बदनाम धूवाँ बराबर रहेछ मित्र!

धूवाँ त यज्ञ गरे नि आउँछ, टायर जले नि आउँछ।

७) मुक्तक

जनमत लहर हो आउन जान सक्छ

उस्तै परे कुनै पुरानो नेता खान सक्छ

युवा शक्तिको सही प्रयोग भयो भने त

विकसित नयाँ गोरेटोतिर लान सक्छ।

८) मुक्तक

शास्त्रले डोर्‍याउँछ आत्मा जब पढिएको हुन्छ

उत्तम बन्छ धागो जस्मा मोती जडिएको हुन्छ

आड पाए निम्छराको दिन पनि आउँछ साथी

माथि पुग्छ लहरो जहाँ झिक्रो ठडिएको हुन्छ।

९) मुक्तक

गतिशील छ, न रोकिन्छ, न पर्खिन्छ

न कुनै छुटेको वस्तु लिन फर्किन्छ

जति शक्तिशाली भए पनि समय

महत्त्व नबुझ्ने सँग भने तर्किन्छ।

१०) मुक्तक

कसैलाई चारैतिर सत्रै सत्र छ

कसैसँग जन्मजात अधिपत्र छ

छ, सबै कुरा छ, के छैन तर यहाँ

सामाजिक उपक्रम अलपत्र छ।

प्रकाशित: १४ फाल्गुन २०८१ १३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App