२ चैत्र २०८१ शनिबार
image/svg+xml २१:३५ अपराह्न
कला

नौ वर्षपछि ‘फेरि रेशम फिलिली’

नौ वर्षअघि प्रदर्शन गरिएको ‘रेशम फिलिली’ चलचित्रमा समावेश गीत ‘पिरतीको जालमा’ ले सङ्गीतकार कालीप्रसाद बाँस्कोटालाई स्थापित गरेको थियो। 

विसं २०७२ सालमा वैशाख ११ गते प्रदर्शन भएको चलचित्रले पहिलो दिनमा एक करोडको हाराहारीमा ‘ग्रस’ व्यापार गर्न सफल भएको थियो। दोस्रो दिनमै भूकम्पका कारण प्रदर्शन रोकिए पनि सुरुआती समयमा भएको व्यापारको चर्चा पछिसम्म भयो। 

सोही कारण यसको ‘सिक्वेल’ नौ वर्षपछि ‘फेरि रेशम फिलिली’ को निर्माण गरिएको छ। यस शृङ्खलाका अभिनेता तथा निर्माता विनय श्रेष्ठले दर्शकको अपेक्षा अनुसारको विषयवस्तु तयार गर्न समय लागेको बताए। 

उनले भने, “दर्शकका कारण लोकप्रिय बनेको चलचित्रको अर्को भाग व्यापारिक मात्र नभई सृजनात्मक रुपमा पनि बलियो होस् भनेर पटकथामा मेहनत गरेका छौँ। यसले अहिलेको युवापुस्तामा बढ्दो विदेश मोह र त्यसले निम्त्याउने समस्यालाई देखाइएको छ। विषय गम्भीर भएपनि प्रस्तुतीकरण  मनोरञ्जनात्मक छ।”

‘रेशम फिलिली’ कै पात्र र परिवेशलाई ‘फेरि रेशम फिलिली’ मा निरन्तरता दिएको अभिनेता श्रेष्ठ बताउँछन्। निरोज महर्जनको पटकथा र निर्देशन रहेको चलचित्रमा अभिनेता श्रेष्ठसँगै, सुपुष्पा भट्ट, कामेश्वर चौरसिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रवीन्द्र झा, शिशिर बाङ्देल, महेश त्रिपाठीलगायतले अभिनय गरेका छन्। निर्देशक महर्जनले नौ वर्ष अगाडि दर्शकले रुचाउनुभएको पात्रको निरन्तरता दिएर अहिलेको परिवेश चलचित्रमा देखाएको बताए।

“चलचित्रमा देखिएका दुई पात्र रेशम र हरिया हाम्रो युवाका प्रतिनिधि हुन्। त्यसैले हामीले विदेशिने मोहले निम्त्याउने परिस्थितिलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरेका छौँ”, निर्देशक महर्जनले भने। 

चलचित्रलाई रौनकविक्रम कँडेलले निर्माण गरेका छन्। यो चलचित्र शिवरात्रिको अवसर पारेर यही फागुन १४ देखि प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ। रासस

प्रकाशित: १० फाल्गुन २०८१ ०७:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App